कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खैरेनीपुल निर्माण अन्तिम चरणमा

पुल नहुँदा सदरमुकामपारि रहेको बीपी राजमार्गको छोटो रुट होइन, पुरानै बाटो हुँदै दोब्बर समय लगाएर काठमाडौं पुग्नुपर्ने बाध्यता छ ।
टीकाप्रसाद भट्ट

रामेछाप — सुनकोसी, खैरेनीघाट पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । पश्चिमी रामेछापेलीको आँखा गाडिएका १० वर्ष बितेपछि बल्ल पुलले आकार लिँदै छ । पुल निर्माण कार्य सम्पन्न हुन अझै केही महिना लाग्छ ।

‘यस पटक त पुल तयार होला भन्ने उत्साह हरेक साल हामीलाई जाग्थ्यो,’ स्थानीय जंगबहादुर माझीले भने, ‘तर दस वर्ष त्यत्तिकै बित्यो ।’ पुलमा धमाधम काम हुन थालेपछि त्यस क्षेत्रका बासिन्दाले हरेक दिन फेसबुकमा त्यसै कामको फोटो हालेर खुसी मनाइरहेका छन् । दिनहुँजस्तो खैरेनी पुल फेसबुकमा अपलोड भइरहेको छ ।


‘यतिका वर्ष हेर्दाहेर्दा आँखै तानिएका थिए अहिले पुल तानिन थालेको छ,’ माझी भन्छन्– दुई महिनापछि गाडी तर्ला जस्तो छ । स्टिलट्रसको काम भएकाले चाँडो काम हुनेमा स्थानीवासी ढुक्क छन् ।


पुलबिना स्थानीयवासीले हैरान खेप्नुपरेको छ । खैरेनीको पुल नहुँदा सदरमुकामपारि रहेको बीपी राजमार्गको छोटो रुट होइन, पुरानै बाटो हुँदै दोब्बर समय लगाएर काठमाडौं पुग्नुपर्ने बाध्यता स्थानीयलाई छ । उक्त पुल तयार भएपछि पश्चिमी रामेछापबाट काठमाडौं पुग्न बढीमा ३ घण्टा लाग्छ । अहिले झन्डै ६ घण्टा लाग्छ । त्यस क्षेत्रका बासिन्दा सित्खाको पुल तरेर घुम्छन् । जब कि दैलोमा भएको पुल १० वर्षदेखि अधुरो छ ।


खैरनीपुलले बीपी राजमार्गसँग रामेछाप जोडिएपछि बेथान, खनियापानी, राकाथुम, हिलेदेवी, लखनपुर, टोकरपुर, खाँडादेवी, गौश्वारा, गुन्सी, दोरम्बा दिमीपोखरी लगायतका साबिकका गाविसका बासिन्दाले प्रत्यक्ष फाइदा लिन पाउनेछन् । उक्त क्षेत्रमा उत्पादन भएको तरकारी, गेडागुडी, काठमाडौं लैजान सहज हुनेछ । ‘सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकामा निर्माण सामग्री र खाद्यान्न ढुवानीका लागि हालसम्म भोग्नुपरेको कष्ट सदाका लागि खैरेनीपुलले अन्त्य गर्छ,’ सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील निरौलाले भने, ‘यो वर्ष पुलको काम पूरा हुनुपर्छ ।’


सडक विभागले सुनकोसीको खैरेनीमा पुल निर्माणका लागि आर्थिक वर्ष २०६४/०६५ मा ठेक्का लगाएको हो । २ वर्षमा सक्नुपर्ने उक्त पुलको पटकपटक म्याद थप गरे पनि निर्माण पूरा भएको छैन । ‘यो वर्ष चाहिँ सक्ने लक्ष्य लिएर काम सुरु भएको डिभिजन सडक कार्यालय खुर्कोटले जनाएको छ ।


खैरेनी पुलमा आरसीसी स्ल्याब र स्टिल ट्रस दुवैको काम गर्नुपर्नेमा गत वर्ष आरसीसी स्ल्याब मात्र सकिएको थियो । पुलको उत्तर तर्फको भागमा स्टिल ट्रस जडान गर्ने काम धमाधम भइरहेको छ । ट्रस निर्माणको काम सकेपछि ढलानको काम मात्र बाँकी रहन्छ । चितवनको जलप नेपालले उक्त ट्रस निर्माण गरेको हो । पुल जोड्नका लागि पनि उक्त कम्पनीनै संलग्न छ ।


करिब ८३ मिटर लामो पुल निर्माणमा कन्काई, लामा खम्पाचे निर्माण सेवाले ठेक्का लिएको हो । खम्पाचे र लामा निर्माण सेवाका व्यवसायीले हात झिकेपछि कन्काई निर्माण सेवाले काम गर्दै आएको छ । सडक विभागले लगाएको काभ्रे र रामेछाप जिल्ला जोड्ने चौरी खोलाको पुलसमेत ८ वर्षदेखि अधुरो रहेको छ । गत वर्ष मात्र ठेक्का लागेको सुनकोसीकै सिन्धुरेटार मुक्पाघाट जोड्ने पुलको काम भने तीव्र गतिमा भइरहेको छ ।

प्रकाशित : माघ २७, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?