कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युत् विस्तार योजना : ३ हजार ८ सय रुख काटिने

रसुवा — थाम्बुचेत हबदेखि त्रिशूली थ्रीबी हबसम्म २ सय २० केभी प्रसारण लाइन निर्माण गर्दा ३ हजार ८ सय २५ वटा रुख काटिने भएको छ ।

रुख कटान गर्न र वनको जग्गा भोगाधिकार गर्न गत साता बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिइसकेको छ ।


कटान गर्नुपर्ने रुखको गणना भइसकेको छ । रसुवा जिल्लातर्फ ३ हजार ३ सय १४ र नुवाकोट जिल्लातर्फ ५ सय ११ वटा रुख काट्नुपर्ने चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन आयोजनाले बताएको छ । रुख कटानका लागि अझै एक महिनाभन्दा बढी समय लाग्ने देखिन्छ ।


मन्त्रिपरिषद् बैठकले रुख काट्न स्वीकृति दिए पनि आयोजनाले वन विभागसँग सम्झौता गर्नुपर्छ । वन विभागले आयोजनासँग गरेको सम्झौतासहित आवश्यक कारबाहीको पत्र डिभिजन वन कार्यालय रसुवा र नुवाकोटलाई पठाउने छ ।


त्यसपछि डिभिजन वन कार्यालयले रुख कटानका लागि आदेश दिएपछि मात्र काम सुरु हुने चिलिमे–त्रिशूली २ सय २० केभी प्रसारण लाइन आयोजनाका प्रमुख केदारराज सिलवालले बताए । ‘डिभिजन वन कार्यालयसँग समन्वय गरेर खाली भएको ठाउँमा काटिएको एक रुख बराबर २५ वटा बिरुवा रोपिनेछ,’ उनले भने ।


आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतदेखि नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका त्रिशूली थ्रीबी सबस्टेसनसम्म निर्माण हुने २ सय २० केभी प्रसारण लाइनको दूरी २७ किलोमिटर लामो रहेको छ । थाम्बुचेतदेखि मैलुङसम्म २ सय २० केभी डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रीबी सबस्टेसनसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । उक्त प्रसारण लाइनमा ७९ वटा टावर रहनेछन् ।


अहिले निजी जग्गा रहेको ठाउँमा प्रसारण लाइनको जग खन्ने काम भइरहेको छ । थाम्बुचेतमा रहने सबस्टेसन निर्माणका लागि जग्गा सम्याउने काम भइरहेको छ । मुअब्जा वितरण गर्ने काम पनि भइरहेको सिलवालले बताए । ‘केहीले जग्गाको मुअब्जा बुझिसकेका छन्,’ उनले भने । ‘अब प्रसारण लाइनको काम धमाधम अगाडि बढ्छ,’ सिलवालले भने । प्रसारण लाइनको क्षमता करिब ५ सय मेगावाट रहेको छ ।

प्रकाशित : माघ २९, २०७५ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?