१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रदेश सरकारको कामबाट सन्तुष्ट : मुख्यमन्त्री पौडेल

प्रताप विष्ट

हेटौडा — प्रदेश—३ का मुख्यमन्त्री डोरमणि पौडेलले शून्यमा गठन भएको सरकारले कार्यालय र कर्मचारीको व्यवस्थापन गरी केही कानुनहरू निर्माण गरेर प्रदेश सरकार बल्ल कार्तिक–मंसिरदेखि  बामे सर्न थालेको बताएका छन् । प्रदेश सरकार गठन भएको एक वर्ष पुगेपनि काम गर्न थालेको जम्मा ४/५ महिनामात्र भएको उनले बताए।  

प्रदेश सरकारको कामबाट सन्तुष्ट : मुख्यमन्त्री पौडेल

प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा मङ्गलवार यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एक वर्षकोबीचमा गरेका कामहरुले आफूलाई सन्तुष्टि दिएको बताए । मुख्यमन्त्री पौडेलले असन्तुष्टि व्यक्त गर्नुपर्ने र कसैलाई आलोचना गर्नुपर्ने नरहेकाे जनाए ।

‘सङ्घीय सरकारको साढे २ सय वर्षको र स्थानीय तहको सय वर्ष भन्दाबढीको इतिहास छ तर प्रदेश सरकारको इतिहास एक वर्षको मात्रै छ’ उनले भने भने,‘प्रदेश सरकारको निम्ति मात्र होइन,सबैको निम्ति प्रादेशिक सरकार नयाँ हो त्यसैले नयाँ अभ्यास गरिरहेका छौँ,‘प्रदेश सरकारले काम गर्नका निम्ति आफ्ना हात खुट्टाहरूलाई सबल बनाउने काम गरिरहेको छ भने हिँड्ने बाटाका काँडाहरू पनि पन्छाउने काम गरिरहेको छ ।’


फरक ढङ्गले आयोजना गरिएको प्रदेश—३ को वार्षिकोत्सवको अवसरमा मुख्यमन्त्री पौडेले प्रदेश सरकारको गौरवको योजनाको रूपमा रहेको भीमफेदी—कुलेखानी सुरुङ मार्गको कार्य सुरु गर्न नपाएकोमा चिन्ता व्यक्त गरेका थिए ।

केन्द्रीय सरकारले निजी क्षेत्रलाई सुरुङ मार्ग निर्माण गर्न म्याद थप गरेको तर उसले काम नगरेको र सम्झौता पनि भङ्ग नगरेकाले सुरुङ खन्ने कार्य अगाडी बढाउन समस्या भएको उनले जानकारी गराएका थिए ।


राजनीतिक सहमतिको आधारमा प्रदेशको राजधानी र नामांकन छिट्टै टुंग्याउने मुख्यमन्त्री पौडेलले कार्यक्रममा बताएका थिए ।


वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री पौडेलले ‘प्रदेश सरकारको एक वर्ष’को स्मारिका सार्वजनिक गरेका थिए भने सभामुख सानुकुमार श्रेष्ठले भ्रष्टाचार निवारणसम्बन्धी प्रदेश रणनीति पुस्तिकाको विमोचन गरेका थिए ।

प्रकाशित : माघ २९, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?