कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतै पार्क, कतै मन्दिर संरक्षण

शिल्पा कर्ण

काठमाडौँ — छिमेकी नगरलाई समृद्ध बनाउन काठमाडौं महानगरपालिकाले १० वटा नगरलाई एक–एक करोड हस्तान्तरण गर्‍यो । काठमाडौं जिल्लाभित्रका ती नगरपालिका प्राय: सबैले उक्त रकमले कतै पार्क र कतै मन्दिर संरक्षणमा खर्च गर्ने प्रस्ताव पेस गरेका छन् ।

कतै पार्क, कतै मन्दिर संरक्षण

टोखा नगरपालिकाले झोर झरनामा पार्कसहितको गुरुयोजना गत असारमै पेस गरी काम अघि बढाइसकेको छ । कीर्तिपुर नगरपालिकाले ‘युद्ध पार्क’ बनाउने सम्झौता पेस गरेको छ ।


‘नगरपालिकाहरूले पार्क बनाउने, हरियाली बढाउने कामलाई प्राथमिकता दिएका छन्,’ महानगरका एक अधिकृतले जानकारी दिए ।


गत असारमै झोर झरनाको गुरुयोजना तयार गरेपछि टोखा नगपालिकालाई महानगरले सहयोग रकम प्रदान गरिसकेको थियो । आइतबार बाँकी ९ नगरलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

सम्झौता उल्लंघन गरेमा सहयोग रकम ब्याज सहित फिर्ता गर्नुपर्नेछ । आइतबार मात्र मेयर विद्यासुन्दर शाक्यले ‘छिमेकी नगर समृद्ध भए मात्र महानगर समृद्ध बन्ने’ भन्दै सबै नगरलाई हरियाली प्रवद्र्धन र सार्वजनिक जग्गा संरक्षणका लागि भन्दै १/१ करोडको चेक हस्तान्तरण गरेका थिए ।


आठ नगरले पार्क र दुईवटाले धार्मिक स्थल निर्माणमा उक्त रकम खर्चिने गरी महानगरसँग सम्झौता गरेका छन् । दक्षिणकाली नगरपालिकाले धार्मिक पूर्वाधार विकासतर्फ खर्च गर्ने जनाएको छ । वडा नं. ५ स्थित गोरखनाथ मन्दिरबाट ३ सय मिटर माथिसम्म परम्परागत सिँढी निर्माण गर्ने, स्तम्भ बनाउने र बहुउद्देश्यीय झरना, बाल उद्यान निर्माण गर्ने उक्त नगरको योजना छ । दक्षिणकाली मन्दिरसम्म सिँढी र संरक्षणका लागि पर्खाल निर्माण गर्ने नगरले जनाएको छ ।


तारकेश्वर नगरपालिकाले पनि धार्मिक स्थललाई प्रवद्र्धन गर्ने योजना महानगरसामु पेस गरेको छ । वडा नं. ३ स्थित सार्वजनिक जंगलको बीचमा १० रोपनी जग्गामा तारकेश्वर धाम निर्माण हुने नगरपालिकाको भनाइ छ । उक्त धाममा कुटी, सत्तल, मन्दिर र पोखरी निर्माणका साथै हरियाली प्रवद्र्धन गरिनेछ । चन्द्रागिरि नगरपालिकाले २६ रोपनी क्षेत्रफलमा कंकाली मन्दिर वरपर धार्मिक पर्यटक लक्षित निर्माण कार्य गर्न लागेको छ । वडा नं. १३ मा रहेको यो क्षेत्रमा छिमेकको नागार्जुन नगरबाट पनि श्रद्धालु आउनेगरी निर्माण कार्य थालिने भएको छ ।


कीर्तिपुरले पनि ‘युद्ध पार्क’ निर्माणका लागि महानगरसँग सम्झौता गरेको छ । वडा नं. १, २ र १० समेट्ने गरी ५५ रोपनी क्षेत्रफलमा यसको निर्माण गरिने सम्झौतामा उल्लेख छ । शंखरापुरले पनि वडा नं. ९ स्थित बज्रयोगिनी मन्दिर वरपर हरितक्षेत्र निर्माण गर्ने जनाएको छ । उक्त नगरले महानगरलाई बुझाएको प्रस्तावमा एक सय रोपनी क्षेत्रफलमा आफ्नो योजना कार्यान्वयन गर्ने

उल्लेख छ । पार्क, शौचालय, सिँढी, सडक जस्ता संरचना हाल वनक्षेत्र रहेको सार्वजनिक जग्गामा निर्माण गरिनेछन् ।


कागेश्वरी मनोहरा नगरपालिकाले पनि मन्दिर क्षेत्र वरपर निर्माण कार्य थाल्ने बताएको छ । वडा नं. १ स्थित कागेश्वरी मन्दिर र वरपरका क्षेत्र समेटेर गागलफेदी र ढकालगाउँको गरी ५५ रोपनी क्षेत्रमा सहिद पार्क, अड्डा पाटी लगायतका क्षेत्र समेटिनेछन् । गोकर्णेश्वरले पनि ‘गोकर्णेश्वर पार्क’ निर्माण थालिने जनाएको छ । हाल रहेको सहिद तथा शान्ति पार्कभित्रै व्यवस्थित गरी थप निर्माण गरिने भएको छ । अन्तक्र्रिया कक्ष, सेवा कक्ष, शौचालय, खाजा/खाना क्षेत्र, अपांगमैत्री सडक, ज्येष्ठ नागरिक मैत्री संरचना थपिने भएका छन् ।


यसैगरी बुढानीलकण्ठको योजना पनि पार्क निर्माणकै छ । हात्तीगौंडामा १४ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको यो पार्क सूचनाका हिसाबले महत्त्वपूर्ण हुने नगरको भनाइ छ । नेपालका सात वटै प्रदेशका डिजिटल नक्सा र सोबारे जानकारी दिने बोर्ड राखिनेछ । प्रस्तावमा उल्लेख भए अनुसार प्रदेशको पर्यटकीय स्थल, नदी, सिमाना, वातावरण सबै विषयमा जानकारीमूलक बोर्ड हुनेछ । यसैगरी नागार्जुन नगरको डाँडापौवामा ‘गणेशमान स्मृति पार्क’ को प्रस्ताव गरिएको छ । प्रस्तावमा उल्लेख भए अनुसार गणेशमान सिंहको सालिक र उनका बारे जानकारी दिइनेछ । सँगै पृथ्वीनारायण शाहका बारे पनि विभिन्न जानकारी राखिनेछ ।


प्रकाशित : फाल्गुन १, २०७५ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?