एक्ला हीराबहादुर
हेटौंडा — उनी अहिले लोरौको सहारामा बल्लतल्ल भित्र–बाहिर गर्छन् । घरको पेटीमा घाम पर्न थालेपछि उनी लठ्ठी टेकेर बाहिर आउँछन् ।
घाम डुबेपछि मात्र घरभित्र पस्छन् । बिहानको भात र दिउँसोको खाजा उनी घरको पेटीमा घाम तापेर खान्छन् । आकाशमा बादल लाग्यो भने उनी चिसोले बाहिर नै निस्कँदैनन् । घरभित्र अगेनामा आगो तापेर बस्छन् । बुढ्यौलीले घुँडा दु:खेर अहिले यताउता हिँडडुल गर्न नसक्ने विगतमा भीमफेदीबाट दर्जनौं गाडी बोकेर राजधानी पुर्याउने एकमात्र जिउँदो इतिहास हुन् हीराबहादुर घलान ।
५/६ वर्ष भइसक्यो, उनी घर छाडेर टाढा जान सकेका छैनन् । दुवै खुट्टाका घुँडा दु:खेर उनी अहिले लौरोको सहारामा घर भित्र/बाहिर मात्र गर्छन् । उमेरले नेटो काटिसकेको भए पनि हक्की स्वभावका घलान नयाँ पुस्ताका निम्ति भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्याउने उनीमात्र एक जिउँदो इतिहास हुन् । ‘आफूसँग गाडी बोक्नेहरू सबै मरिसके,’ घलानले भने, ‘अब म मात्र बाँकी छु । मेरो पनि अब धेरै समय छैन ।’
छिमेकीमात्र होइन, सँगै गाडी बोक्ने जुक्तबहादुर वाइबाको सोमबार मृत्यु भएपछि अब उनलाई एक्लो महसुस भएको छ । घलानको घरबाट जुक्तबहादुरको घर पुग्न १५ मिनेट मात्र लाग्छ । तर घलान जुक्तबहादुरको मृत्यु हुँदा जान सकेनन् । अहिले गाडीले मान्छे बोक्छ । त्यति बेला मान्छेले गाडी बोक्थे भन्ने इतिहासको उनी एक मात्र जीवित पात्र हुन् ।
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नपा–५ पुरन्डीका ८८ वर्षीय घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका हुन् । उनले २५ वर्ष लगातार भीमफेदीबाट काठमाडौं गाडी बोकेर पुर्याए । त्यही हिँडाइले होला, अहिले उनलाई आँगन नै परदेश बनेको छ । अहिले उनी विगतको जिन्दगी सम्झेर आफैं दंग पर्छन् ।
‘सयको हाराहारीमा गाडी बोकेर काठमाडौं पुर्याइयो,’ घलानले ठूलो स्वरमा भने, ‘अहिले आफैंलाई अरूले बोकेर भित्रबाहिर गर्दिन पर्ने भो ।’
गाडी बोकेकै कमाइले उनले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । त्यही जग्गा घरको माथिल्लो तलाको झ्यालबाट हेर्दै चित्त बुझाउने गरेका छन् । ‘गाडी बोकेको कुरा गर्दा नातिनातिनाले पत्याउँदैनन् । गाडी पनि बोक्न सकिन्छ भनेर उल्टै जिस्क्याउँछन्,’ घलानले भने, पहिला पैसाको पनि दु:ख थियो, कामको पनि दु:ख थियो, अहिलेको जस्तो सजिलो कहाँ थियो र ?’ घलानलाई गाडी बोक्न मार्खुका नाइकेले लगेका हुन् ।
बलियो र अग्लो भएका कारणले उनलाई नाइकेले सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टिममा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्याएबापत उनको टिमलाई नाइकेमार्फत राणाजीले २० रुपैयाँ बक्सिस दिएको घटना उनको दिमागमा अझै ताजा छ ।
पहिलो पटक नै गाडी बोकेर पुर्याउँदा बक्सिस पाएर उत्साहित बनेका घलानले जीवनको यौवन अवस्था नै झन्डै गाडी बोक्नेमा नै बिताए । गाडी बोक्दाबोक्दै उनले विवाह गरेका हुन् । उनका दुई छोरा र तीन छोरी छन् ।
प्रकाशित : फाल्गुन २, २०७५ ०७:४५