२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुनसान लिपिङ बजार

बाढी र भूकम्पपछि तातोपानी नाकाको बजार उठ्न सकेको छैन ।
अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प, बाढीदेखि बर्खे पहिरोले ध्वस्त भएको सीमावर्ती तातोपानीस्थित लिपिङ बजार सुनसान बन्दै छ । सीमाक्षेत्रको मितेरी पुलदेखि सुक्खा बन्दरगाह, सडक बनिरहँदा क्षतिग्रस्त लिपिङ बजार सुक्खा पहिरोसँगै ओइरिएको चट्टानले अवरुद्ध छ ।

सुनसान लिपिङ बजार

‘नाका चल्दा यहाँ पाइला राख्ने ठाउँ हुँदैनथ्यो । अनेक गरेर ठेलमठेल गर्दै मितेरी पुल पुग्नुपथ्र्यो । अहिले यो खण्डहर बनेको छ,’ लिपिङ क्षेत्र देखाउँदै भोटेकोसी गाउँपालिका लिपिङकी सुनमाया शेर्पाले भनिन् । नाका चल्दा झोले व्यापार गरेकी शेर्पाले अहिले गुजारा चलाउन सानो किनारा पसल थापेको सुनाइन् ।


‘उसबेला सबैले गुजारा चलाए । के गर्नु, यहाँको एउटा ढुंगा पनि सारिएको छैन,’ उनले भनिन् । नाका चल्दा सधैं व्यवसायी, पर्यटकले भरिने तातोपानी, लिपिङ बजार बन्द भएपछि अहिले सुनसान छ । भूकम्प, भोटेकोसी बाढी, पहिरोले एकैसाथ ‘ग्राउन्ड जिरो’ मा झरेको सीमागाउँ अझै तंग्रिन सकेको छैन ।


‘यहाँबाट उता जान निषेध छ, बजारछेउबाट उता निर्माण कार्य भइरहेको छ,’ तातोपानी भन्सार कार्यालयको गेटमा सुरक्षार्थ बसेका दुई सशस्त्र प्रहरीले भने । अन्य क्षेत्रमा व्यापक काम भइरहे पनि लिपिङ बजारको भूभागमा केही नगरिँदा जीर्ण बन्दै गइरहेको छ ।


‘यहाँको जोखिमपूर्ण भाग तत्कालै मर्मत जरुरी छ । बर्खामा जे पनि हुन सक्छ,’ सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कृष्णगोपाल गुरुङले भने । तातोपानी भन्सार, प्रहरी चेक पोस्ट, अध्यागमन कार्यालयलगायतको संरचना दिनहुँ ध्वस्त हुँदै गइरहेको उनले जनाए ।


असुरक्षित बन्दै लिपिङ जोड्ने पुल

भोटेकोसी बाढीले ध्वस्त बनाएको सीमाको लिपिङ जोड्ने मोटरेबल पुलको छेउको भाग दिनहुँ भास्सिँदै गइरहेको छ । गएको बर्खामा लिपिङ खोलामा बाढी आउँदा छेउको भाग पूरा बगाएको मोटरेबल पुलमा सामान्य जाली/गारो लगाइँदै छ ।


दुई पटक जालीको पर्खाल जमिन भास्सिँदा भत्किएकाले पुन: त्यही काम थालिएको छ । ‘बजारक्षेत्र र सडकको संरचना पूरा कटान भएकाले एकदमै जीर्ण देखिन्छ । सामान्य मर्मत सम्भारले दीर्घकालीन हुने देखिँदैन,’ एक चिनियाँ

प्राविधिकले भने ।


बर्खाको त्रास

बर्खे पहिरोले ध्वस्त बनाएको लिपिङ जोड्ने पुरानो मोटरेबल पुल कटेपछिको कुनाको घरमा दुई परिवार बस्ने गरेका छन् । क्षतिग्रस्त बजारभन्दा परको कोदारी बजारमा भने बाक्लो बस्ती बसिसकेको छ । प्रहरी चेक पोस्टदेखि कोदारी बजारसम्म बस्ती बढे पनि आउँदो बर्खाको त्रास कायमै छ ।


‘बर्खा कता कुम्लो बोकेर भाग्नुपर्ने हो, थाहा छैन,’ कोदारी बजारका पदम तामाङले भने । दुई सय परिवारको बसोबास रहेको तातोपानीमा बर्खाको त्रास कायम उस्तै छ । ०७२ असारको बर्खे भोटेकोसी बाढीले कटानमा पार्दा सीमाको लिपिङ बजारमा ७६ घर पूर्ण रूपमा क्षति पुगेको थियो ।

प्रकाशित : फाल्गुन २, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?