प्रेम दिवसमै छुट्टिन निवेदन 

कान्तिपुर संवाददाता

हेटौंडा — हेटौंडा उपमहानगर– पालिका–१३ का २९ वर्षीय सुमन लामाले पत्नीसित सम्बन्धविच्छेद गर्न जिल्ला अदालत मकवानपुरमा मुद्दा दर्ता गराएका छन् ।

लामाले मात्र होइन पदमपोखरीकी २३ वर्षीया रन्जिता केसीले पतिसँग सम्बन्धविच्छेद गर्न बिहीबार जिल्ला अदालत मकवानपुरमा निवेदन दर्ता गराएकी छन् । उनीसँग एक वर्षको छोरा पनि छ । सधैं पतिले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेकाले छोरासमेत कुटपिटमा मर्न सक्ने डरले सम्बन्धविच्छेद गर्न अदालतको ढोका ढकढक्याएको उनले बताइन् ।


प्रेम दिवसका दिन बिहीबार मात्र जिल्ला अदालत मकवानपुरमा लामा, केसीलगायत ५ जनाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराए । ‘सात जना दर्ता गराउन आएका थिए,’ अदालतका स्रेस्तेदार केशवराज कौशिकले भने, ‘कागज नमिलेकाले २ जनाको मुद्दा दर्ता हुन सकेन । ५ थान दर्ता भए ।’ मुद्दा दर्ता गर्नेहरूमा एक जना पुरुष र चार महिला छन् ।


भदौ १ गतेदेखि मुलुकमा नयाँ संहिता लागू भएको छ । नयाँ संहिताले सम्बन्धविच्छेदका लागि पुरुषलाई पनि सहज बनाएको छ । महिलासरह उनीहरू पनि अदालत जान सक्ने भएका छन् । यो व्यवस्था लागू भएपश्चात् मकवानपुरमा सम्बन्धविच्छेद गर्न कानुनी उपचार खोज्दै अदालतको ढोका ढकढक्याउने पुरुषको संख्या पनि महिलाको हाराहारीमा छ ।


भदौदेखि माघ अर्थात् ६ महिनामा जिल्ला अदालत मकवानपुरमा २४८ वटा सम्बन्धविच्छेदका उजुरी परेका छन् । त्यसमध्ये महिलाका १६१ वटा परेका छन् भने ८७ जना पुरुषले सम्बन्धविच्छेदका लागि उजुरी दर्ता गराएका छन् । सम्बन्धविच्छेदका २४८ मध्ये १०६ वटा मुद्दाको फैसला भइसकेको छ । गत आर्थिक वर्षमा सम्बन्धविच्छेद गर्न एक जना पनि पुरुष अदालत गएका थिएनन् ।


सम्बन्ध विच्छेदका लागि महिलाले अदालतमा दर्ता गराएका १ सय ६१ वटा मुद्दामध्ये १ सय १५ वटा मुद्दाको फैसला भइसकेको छ भने ४६ वटाको मात्र बाँकी छ । पुरुषका तर्फबाट दर्ता भएका ८७ वटा सम्बन्धविच्छेद मुद्दामा १० वटा मात्र फैसला भएका छन् । ७७ वटा फैसला हुन बाँकी छन् ।


‘महिलाले सम्बन्धविच्छेदका निम्ति अदालतमा दिएको उजुरीमा मेलमिलापमार्फत पुरुषको पनि छिटै सहमति हुने भएकाले फैसला चाँडै हुने गरेको छ,’ स्रेस्तेदार कौशिकले भने, ‘पुरुषले दिएको उजुरीमा महिलाको सहमति नभएकाले फैसला हुन समय लागेको हो ।’ मेलमिलापमार्फत सहमति हुन नसकेमा सम्बन्धविच्छेदको मुद्दा फैसला गर्न कम्तीमा एक वर्ष कुर्नुपर्ने कानुनी व्यवस्था छ । पतिपत्नीबीच सम्बन्धविच्छेद नहोस्, मिलेर बसून् भन्ने उद्देश्यले एक वर्ष कुर्नु पर्ने कानुनी व्यवस्था गरेको हो ।


गत आवमा अदालतमा महिलाहरूका तर्फबाट सम्बन्धविच्छेदका ४ सय १ थान उजुरी परेका थिए । तीमध्ये २ सय ९१ वटा मुद्दा फैसला भएको जिल्ला अदालत मकवानपुरले जनाएको छ । नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् ।


यसपछि पत्नीसरह पतिले पनि सम्बन्धविच्छेद गर्न सक्ने भएका हुन् । लगातार तीन वर्ष बेखबर बाहिर बसेमा, अंगभंग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् । पत्नीले अरू कुनै परपुरुषसित यौन सम्बन्ध राखेको अवस्थामा पनि सम्बन्धविच्छेद हुन सक्छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?