सञ्चारकर्मी हत्याका आरोपी दुई युवक थुनामा 

प्रताप विष्ट

हेटौडा — सञ्चारकर्मीको मनोहर ढकालको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले २ युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । 

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई अदालतले धरौटी लिई तारेखमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको बिहीबार बसेको इजलाशले हेटौडा उपमहानगरपालिका—११ नवलपुरका ४२ वर्षीय सञ्चारकर्मी ढकालको हत्या गरेको आरोपमा हेटौडा उपमहानगरपालिका— ११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउपालिका— १ का १८ वर्षीय प्रविण वाइवालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।


सञ्चारकर्मीको ढकालको गत पुस २५ गते हेटौडा उपमहानगरपालिका—भैरवडाडामा हत्या गरिएको थियो । ढकालको हत्या गरेर सुनको औंठी, पैसा, मोबाइल र हार्डडिक्ससमेत पुडासैनी र वाइवाले लुटेर फरार भएका थिए । हत्या गरेर फरार भएका पुडासैनी र वाईवालाई प्रहरीले माघ ४ गते हेटौडाबाट पक्राउ गरेको थियो ।


हत्या गरेर लुटेको औंठी र मोवाइल खरिद गर्ने भीमफेदी गाउँपालिका–६ का ३१ वर्षीय दिनेश थापा र हेटौडा—२ का ४८ वर्षीय नारायणबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको थियो । थापा र सुनारलाई मोबाइल र औंठी विक्री गर्न सहयोग गर्ने थप २ जना पनि पक्राउ परेका थिए । अदालतले चार जनासँग जनही ३५ हजार रुपैया धरौटी लिई तारेखमा छुाडेको छ ।


सञ्चारकर्मी ढकालले लागूऔषध सेवन गरिरहेका पुडासैनी र वाइवालाई कुलतमा नलाग्न आग्रह गर्ने क्रममा उनको हत्या गरेर लुटपाट गरेको प्रहरीको दावी छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?