कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत बस्तीले ल्यायो खुसी

अनिश तिवारी

सिन्धुपाल्चोक — भूकम्प गएको चार वर्षपछि बल्ल मेलम्ची नगरपालिका १२ की सुन्तली तामाङको अनुहार उज्यालो भएको छ । एकीकृत बस्ती निर्माण धमाधम भइरहँदा सुन्तली छेउमा उभिएर हेरिरहेकी थिइन् ।

एकीकृत बस्तीले ल्यायो खुसी

‘बल्ल सबैको सपना पूरा हुन लागेको छ । यहाँ पनि सुन्दर एकीकृत बस्ती बन्दैछ,’ उनी वरिपरिको संरचना हेर्दै खुसी भइन् । सरकारले दिएको अनुदानमा कसरी बनाउने अन्योलमा रहेकी उनले एकीकृत बस्तीमा बस्ने सपना बुनेकी छन् ।

थाक्ले तामाङ टोलका ६२ तोपबहादुर तामाङले एकीकृत बस्ती बन्न थालेलगत्तै गुम्बामा गएर बुद्ध र पदमसम्भवको स्तुति गाए । ‘दैवले बल्ल पुकार सुने, एकीकृत बस्ती बन्ने भएपछि खुसीले निन्द्रा पनि लाग्न छोडिसकेको छ,’ उनले भने ।

महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको सहयोगमा मेलम्ची नगरपालिका १२ थाक्ले गाउँमा ३१ परिवारका लागि एकीकृत बस्ती ठडिँदैछ । ‘१२ आवासको डीपीसी सकिइसकेको छ , ७ वटाको ‘सिल लेभल’ भइरहेको छ,’ मेलम्ची नगरपालिका १२ का वडाध्यक्ष रामबहादुर लामाले भने । धुर्मुस–सुन्तलीको गिरानचौर, अभिनेत्री श्वेता खड्काको माझी एकीकृत बस्तीजस्तै बनोस् भन्ने स्थानीयको चाहना रहेको उनले प्रस्ट्याए ।

मेलम्ची नगरपालिकाले थाक्ले जोड्ने सडकलाई मर्मत सम्भार गरेर अन्य पूर्वाधारमा पहलकदमी लिएको जनाएको छ । तामाङ समुदायको बस्ती छेउमा बौद्ध परम्परा संस्कृतिको एउटा गुम्बा र मन्दिर बनाउने योजना छ । ‘एकीकृत बस्तीसँगै युवावर्गले रोजगारीको सीप पाए, यसले उनीहरूलाई उत्साह थपेको छ,’ उनले भने । सरकारी मापदण्डनुसार ‘इन्टरलक इँटा’ प्रयोग गरेर बन्ने एकीकृत बस्तीको घर एउटै रङको भूकम्पप्रतिरोधी आवास हुनेछ ।

परिवार संख्या धेरै भएको आधारमा चार कोठा एउटै आकारको र हरियो रङको आवास बनाइनेछ । ‘मापदण्डमा बसेर उहाँहरूको इच्छानुसार आवास निर्माणको कार्य तीव्ररूपमा भइरहेको छ,’ महिला आत्मनिर्भरता केन्द्रका अनुगमन तथा मूल्यांकन अधिकृत राजेन्द्र चौलागाईंले भने ।

जिल्लाभर भूकम्पपछिको पुनर्निर्माणमा एकीकृत आवासको अवधारणा रुचाइएकाले यस्तो अभियान ल्याइएको उनले जनाए । ३१ परिवारबाट प्रत्येक दिन एकजना अनिवार्य श्रमदान गर्नका लागि आउने गरेका छन् । दुई वर्ष अगाडिको एकीकृत बस्तीको सपना पूरा हुन लागेकाले सबै रमाउन थालेको उनको कथन छ ।

‘इन्टरलक’ इँटा बनाउने तालिम पाएपछि तामाङ समुदायमा झनै जाँगर पलाएको थाक्ले एकीकृत बस्ती विकास समितिका अध्यक्ष खिलबहादुर तामाङ सुनाउँछन् ।

‘स्थानीयले एकीकृत आवाससँगै बस्तीमा प्रयोग भइरहेको इँटा बनाउने तालिमले सीप पाएका छन्,’ तामाङले भने । एकीकृत बस्तीसँगै अहिले प्राय: प्रयोगमा आइरहेको इँटा उत्पादन गर्ने सीपमूलक तालिम पाएपछि गाउँमा खुसी थपिएको उनले प्रस्ट्याए ।

‘इन्टरलक इँटा बनाउने २० जनाले तालिम लिएका छन्,’ उनले भने । ३१ परिवारलाई एकीकृत बस्तीका लागि इन्टरलक इँटा बनाउने विधि सिकाइएको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?