कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोही जोगाउनै गाह्रो

रमेशकुमार पौडेल

चितवन — एउटा घडियाल गोही हुर्काउन दस लाख रुपैयाँ खर्च हुन्छ । यसरी हुर्काएको गोहीलाई चितवन राष्ट्रिय निकुञ्जले बर्सेनि राप्ती र नारायणी नदीमा छाड्दै आएको छ । राम्रो स्याहार र निकै खर्च गरेर हुर्काएको गोही जब नदीमा पस्छन् ती दुर्दशाको भुमरीमा फस्छन् । पर्याप्त खानेकुरा नहुँदा गोही चाँडै मर्न थालेका हुन् ।

गोही जोगाउनै गाह्रो

३५ वर्षको अवधिमा कसरामा रहेको घडियाल गोही प्रजनन केन्द्रबाट एक हजार ३ सय ६५ वटा हुर्केका गोही कोसी, नारायणी, कर्णाली, कालीगण्डकी, बबई र राप्ती नदीमा छाडिएको छ । तर तीन वर्षअघि भएको गणनामा नेपालभरका नदीमा जम्मा १ सय ९८ वटा घडियाल भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ । ४० देखि ६० वर्ष बाँच्ने गोही अकालमै गुम्ने गरेको यसैबाट प्रस्ट हुन्छ ।


गोही माछा खाएरै बाँच्छ । सफा पानीमा मात्रै माछा हुने गर्छ । प्रदूषणले नदीमा माछा कम भएको असर गोहीमा परेको हो । ‘सन् १९४० सम्म पाकिस्तानदेखि नेपालसम्म पाँच हजारदेखि १० हजारसम्म घडियाल थिए । अहिले नेपाल र भारतमा मात्रै प्राकृतिक बासस्थानमा गोही छन् । संख्या जम्मा ५ सय ५० जति छ,’ चितवन राष्ट्रिय निकञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने ।


प्राकृतिक बासस्थानमा बाँच्नै नसक्ने भएर गोही लोप हुने अवस्था आएपछि चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक २०३५ सालमा घडियाल गोही प्रजनन केन्द्र सञ्चालनमा आएको हो । ‘नदी, खोलाको बगरमा घडियालका अण्डा खोजेर प्रजनन केन्द्रमा राखेर बच्चा कोरल्ने र हुर्काउने गरेपछि फेरि नदीमै राख्ने क्रम सुरु भएको हो,’ प्रजनन केन्द्रका प्रमुख रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले भने ।


घडियालले बालुवाभित्र अण्डा पार्छ । गिट्टी, बालुवा निकाल्ने क्रम बढेसँगै बासस्थान नै संकटमा परेको छ । ‘हामी चैत लागेपछि घडियालका अण्डा खोज्दै नदी किनारमा डुल्छौं । भेटेका अण्डा संकलन गरेर प्रजनन केन्द्रमा ल्याउँछौं,’ सहायक संरक्षण अधिकृत खड्काले भने । प्रजनन केन्द्रका गोही पाँच वर्षको भएपछि नदीमा छाड्ने गरिएको छ । बच्चालाई राम्रो स्याहार गर्दै हुर्काउनुपर्छ ।


‘स्याहार मान्छेको बच्चालाईझैँ गर्नुपर्छ । पोटास पानीले दाँत सफा गर्नुपर्छ । बच्चालाई मञ्जन गरे जसरी गोहीका बच्चाको स्याहार गर्नुपर्छ । माछाबाहेक केही खाँदैन । हुर्काएर नदीमा छाड्ने बेलासम्म एउटा गोहीका लागि १० लाख रुपैयाँ खर्च हुन्छ,’ सहायक संरक्षण अधिकृत खड्काले भने । यस्तो खर्च र स्याहार पाएर हुर्केका गोही बच्न नै सकेका छैनन् ।


चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकाल नदीमा माछा घट्नुका साथै अन्य कारणले पनि यो जलचरलाई समस्या परेको बताउँछन् । ‘प्रदूषणले नदीमा माछा नै कम भए, माछा नभएपछि घडियाल कसरी बाँच्नु ? अर्कोतर्फ भएका माछा पनि मान्छेले मारेका छन् । माछा मार्न थापेको जालमा पनि परेर गोही मरेका छन् । मानवका कारणले नै गोही संकटमा छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ।


नारायणी नदीमा बनेको ठूलो बाँधले पनि गोहीलाई समस्या परेको उनको अनुमान छ । ‘त्रिवेणीको बाँध वर्षायाममा खुला हुन्छ । त्यो बेला बगेर घडियालहरू भारततर्फ जाने र पछि फर्कन नसक्ने अवस्था पनि छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने । गोही बगेर भारत पुग्ने, नपुग्नेबारेमा ठोस निष्कर्ष निकाल्न सेटलाइट र भीएचएफ कलर राखेको उनले बताए ।


‘पाँचवटा गोहीमा सेटलाइट र भीएचएफ कलर राखेका छौं । यो दुई महिनाअघि राखेका हौं । ती गोही अहिले नेपालमै छन् । वर्षामा के हुन्छ हेर्नेछौं । बाँध नाघेर बगेको देखियो र फर्केनन् भने गोहीका लागि त्यसले समस्या ल्याएको प्रस्ट हुन्छ,’ खड्काले भने । नदी प्रदूषण रोक्न स्थानीय तहसँग समन्वय गरिरहेको उनले बताए । शुक्रबार राप्तीमा गोही छाड्दा निकुञ्जले भरतपुर महानगरका मेयर र तीनजना वडाध्यक्षलाई पनि लगेको थियो ।


‘गोही हुनु भनेको ती खोला र नदीमा प्रदूषण छैन भन्ने हो । जुन नदीमा प्रदूषण हुँदैन त्यो आडका बस्तीको कुवा, इनार र धाराको पानी पनि शुद्ध हुनु हो । गोही भनेको स्वच्छ पानीको सूचक हो । त्यसैले गोही जोगाउनु भनेको मान्छेकै जीवनलाई सहज बनाउनु हो,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने ।

प्रकाशित : फाल्गुन ४, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?