नयाँ घरमा झनै जाडो

कान्तिपुर संवाददाता

धादिङ — जिल्लाका उत्तरी भेगमा गत महिना परेको हिमपात पग्लने क्रममा छ । तिप्लिङ लगायत जिल्लाको उत्तरी भेगमा विगत ३ सातादेखि हिमपातले घरभित्रै आगो तापेर दिन कटाएका बूढाबूढीहरू यतिखेर बाहिर घाममा निस्कन थालेका छन् ।

भूकम्पअगावै उत्तरी भेगका तामाङ बस्तीमा काठका छाना भएका, झ्याल ढोका थोरै भएका बढीमा २ कोठा मात्रै भएका हुन्थे । अधिकांश तिप्लिङका ठूलोगाउँ, लबदुङ, कामीगाउँका बासिन्दाहरू भूकम्पपछि पुनर्निर्माण गरेका घरमा सरेका छन् । तामाङ बस्तीका सयौं वर्ष पुराना परम्परागत घरहरू ध्वस्त भएका छन् भने भूकम्प पछिको पुनर्निर्माणले सबै घरलाई चिटिक्क त बनायो, तर जाडोमा न्यानो हुने परम्परागत प्रविधि लोप भयो ।


हिउँदे मौसममा निकै जाडो हुने भएपछि ‘आवश्यकता अनुसार मात्रै एउटा कोठामा एउटा मात्रै ढोका हुन्थ्यो, झ्यालहरू कमै मात्र घरमा राखिन्थ्यो,’ तिप्लिङका वृद्ध जोमसई घले भन्छन् । जोमसईका अनुसार जति झ्यालढोका कम राख्यो त्यति न्यानो हुने, आगो बालेर निस्केको धूवाँले पूरै घर न्यानो बनाउने, कतिपय बासिन्दाहरू सुत्ने कोठा न्यानो बनाउन एकछेउमा गाईबस्तु बाँध्ने र अर्को छेउमा परिवार सुत्ने गर्थे । ‘जाडो मौसममा गाईबस्तुसँगै सुत्दा त्यति बेला न्यानो त हुन्थ्यो तर गाईबाख्रामा रहेका उपियाँ र किर्नाको प्रकोप पनि सहनुपथ्र्यो,’ स्थानीय जस थापा तामाङले भने ।


‘भूकम्पपछि पुनर्निर्माण गरिएका घरहरू देख्दा चिटिक्क छन्, छाना जस्तापाताका छन्, न्यानो भने छैनन्, हरेक कोठामा एउटा

झ्याल राख्दा झनै जाडो, जस्तापाताले शीत पनि धेरै खस्ने, जस्ताबाट रातभर खस्ने शीत छल्न वल्लोपल्लो कुना सर्नुपर्छ,’ बुद्धिबहादुर घले भन्छन् ।


भूकम्पले विनाश गरेका ९ सय घरधुरी मध्य तिप्लिङमा ६ हजार ७ सय घर निर्माण भइसकेका छन् । गिट्टी बालुवा नपाइने विकट बस्तीमा सरकारले दिएको नक्साअनुसार घर निर्माण गर्न नसक्ने भएपछि प्राविधिकहरूले मौलिक परम्परा अनुसार नै घर निर्माण गर्ने अनुमति दिएका थिए ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?