२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बेसहारा भेटिए उद्धार तत्कालै

प्रताप विष्ट

हेटौडा — जिल्लाका कुनै पनि स्थानमा असहाय वा बेसहारा भेट्टिए तत्कालै उद्धार हुने गरेको छ । वृद्धवृद्धा हुन वा बालबालिका, मकवानपुरका सडकमा कोही पनि त्यस्तो अवस्थामा देखिँदैनन् ।

बेसहारा भेटिए उद्धार तत्कालै

३ वर्षदेखि विभिन्न संघसंस्थाको समन्वयमा उद्धार हुन थालिएपछि मकवानपुर जिल्लालाई नै सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक समारोहबीच सहयोगापेक्षी सडक–मानव मुक्त जिल्ला घोषणा गरिएको छ ।


मकवानपुर जिल्लाको सडक पेटी, बाटो र चौतारोमा परिवारबाट अपहेलित भएर बेसहारा जिन्दगी व्यतीत नगरेको घोषणा गर्दै सिंगो जिल्लालाई सहयोगापेक्षी सडक– मानव मुक्त जिल्ला घोषणा गरेको हो । यस्तो घोषणा गरेको मुलुकमा नै यो पहिलो जिल्ला हो । यसअघि गोरखा नगरपालिका र हेटौंडा उपमहानगरपालिका–९ नम्बर वडालाई सहयोगापेक्षी सडक–मानव मुक्त क्षेत्र घोषणा गरिएको थियो ।


प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा शनिबार एक समारोहबीच जिल्लालाई सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा गरेका थिए । संघीय सांसद, प्रदेश सरकारका मन्त्रीहरू,प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्वहरू, सरकारी निकाय वरिष्ठ अधिकृत र टोल विकास संस्थाका प्रतिनिधिहरूले आउँदा दिनमा उद्धारका लागि झन् प्रतिबद्ध हुने घोषणा गरे । उनीहरूले सडकमा देखिने बेसहाराको तत्काल उद्धार गरेर मानवसेवा आश्रममा पुर्‍याउने दृढता राखे ।


जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सबै स्थानीय तह र जनप्रतिनिधिले कार्यान्वयन गर्ने प्रतिबद्धता राखे । हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविको प्राङ्गणबाट निस्केको र्‍याली हेटौंडा बजार परिक्रमा गरेर पल्पसा सभाहलमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।


विगत ३ वर्षदेखि हेटौंडा बजारमा सडकमा कष्टकर जीवन व्यतीत गरिरहेका वृद्धवृद्धा र बालबालिकाहरू देख्न पाइँदैन । कतैबाट ल्याएर सडकमा छोडिएका वृद्धवृद्धा र बालबालिकाहरूलाई तत्कालै उद्धार गरेर मानव सेवा आश्रममा पालनपोषण गर्ने गरिन्छ । उनीहरूले त्यहा नयाँ जीवन पाउँछन् ।


हेटौंडाको सडकमा मात्र होइन, थाहा नगरपालिका होस् वा मकवानपुरको अन्य ८ वटै स्थानीय तहमा परिवारवाट परित्यक्त वृद्धवृद्धा र बालबालिकाहरू सडक, बाटो वा चौतारामा कष्टकर जीवन बिताइरहेका छैनन् । त्यस्तो कष्टकर जीवन व्यतीत गरिरहेकाहरूलाई हेटौंडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले तत्कालै उद्धार गरेर पालनपोषणको साथै संरक्षण गर्दैै आएको छ ।


सडक, बाटो,चौतारालगायत कुनै पनि सार्वजिनक स्थानमा बसेर कष्टकर जीवन बिताइरहेका जो–कोहीलाई तत्कालै उद्धार गरेर ल्याउन हेटौंडा उपमहागनरपालिकाले अगुवाइ गर्ने जनाएको छ । ‘सडक वा सार्वजनिक स्थलमा कष्टकर जीवन व्यतीत गरेर बसेको जानकारी हुने बित्तिक्कै उपमहानगरपालिकाले सवारी साधन पठाएर तत्कालै उद्धार गरेर मानवसेवा आश्रममा पालनपोषण र संरक्षणका निम्ति ल्याउने छौं,’ मेयर हरिबहादुर महतले बताए । मानवसेवा आश्रमले विक्रम संवत् २०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडक मानव मुक्त बनाएर विश्वमा पहिलो मानवताको देश बनाउने लक्ष्य लिएको छ ।


‘उक्त लक्ष्यअनुसार सबैभन्दा पहिला मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरेको हो,’ मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।


मानवसेवा आश्रम हेटाैंडाले विभिन्न कारणले सडकमा कष्टकर जीवन बिताउँदै आएका वृद्धवृद्धा र बालबालिकालाई विगत ६ वर्षदेखि उद्धार गरेर पारिवारिक वातावरणमा माया र प्रेम दिएर पालनपोषण र स्याहारसुसार गर्दै आएको छ । परिवारवाट परित्यक्त भएकाहरूको बासस्थान बन्दै गएको छ आश्रम ।


मानव सेवा नै परमधर्म हो भन्ने भावनाबाट ओतप्रोत भएर २०६९ भदौ १३ गते हेटौंडामा आश्रम स्थापना गरिएको हो । अहिले १ सय २७ जना वृद्धवृद्धा र अनाथ बालबालिकाहरूले आश्रय लिएर बसिरहेका छन् । विभिन्न कारणले घर–परिवारबाट विस्थापित भएर सडकमा कष्टकर जीवन बिताइरहेकाहरूलाई माया र प्रेम दिने एवं परिवारमा पुन:स्थापना गर्ने उद्देश्यले मानव सेवा आश्रम स्थापना भएको हो ।


हेटौंडा उपमहानगरपालिका–४ कर्रा र ९ नम्बर वडामा स्थापना गरिएको मानव सेवा आश्रममा रहेका वृद्धवृद्धामध्ये अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबाट निकालिएकाहरू छन् । स्थानीयवासी र संघसंस्थाहरूको सहयोगमा आश्रम सञ्चालन भइरहेको छ । वृद्धवृद्धाहरूलाई बिहानदेखि बेलुकासम्म गरेर चार पटक खुवाउने गरिएको छ । औषधि उपचार पनि गर्ने गरिएको छ ।


आफन्तहरूबाट परित्यक्त भएकाहरू आश्रमका अभियन्ताहरूबाट पाएको स्याहारसुसार र मायाले दंग परेका छन् । ती वृद्धवृद्धाहरूले घर पनि सम्झेका छैनन् ।


आश्रममा रहेका सबै वृद्धवृद्धाहरू नागरिकताविहीन छन् । हेटौंडा मुख्य कार्यालय रहेको मानव सेवा आश्रम अहिले ६ वटा प्रदेशका १२ जिल्लाका १४ स्थानमा विस्तार गरिएको छ । १४ स्थानमा रहेका आश्रममा ७ सय २५ जनाले आश्रय लिइरहेका छन् । तीमध्ये ९० प्रतिशत वृद्धवृद्धाहरू छन् ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?