कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

हेलम्बुमा क्यानोनिङ

अनिश तिवारी

सिन्धुपाल्चोक — गुम्बा र हयोल्मो भूमिको रूपमा चिनिएको पर्यटकीय स्थल हेलम्बु गाउँपालिकाले ‘एड््भेन्चर’ खेल ‘क्यानोनिङ’ सम्भाव्यता देखिएको छ । हेलम्बुको वडा १ अम्बाथानस्थत लामो तार्तुङ झर पहिलो पटक ‘क्यानोनिङ’ परीक्षण गरिएको हो ।

हेलम्बुमा क्यानोनिङ

६० मिटर उचाइ रहेको सुन्दरतम् लेकाली डाँडाको तार्तुङ झरनाबाट ‘क्यानोनिङ’ अध्ययन भौगोलिक रूपमा सफल देखिएको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दर्जनौं हिमाल, हिमशृंखला, पुराना हयोल्मो बस्ती देखिने हेलम्बुमा रहरलाग्दो झरनामा ‘क्यानोनिङ’ को आनन्द लिन सकिन्छ,’ तार्तुङको ‘क्यानोनिङ’ परीक्षण सकिएलगत्तै शेर्पाले भने । उनले सहासिक खेल ‘सेफ क्यानोनिङ’ को सुरक्षित अवतरणका लागि स्थलगत अनुगमनमा जुटेको सुनाए ।


‘यसैको लागि ५ लाख बराबरको बजेटिङ गरेका छौं,’ उनले भने । हालै प्रयोग गरिएको ‘क्यानोनिङ’ र ‘प्याराग्लाइडिङ’ सञ्चालनको लक्ष्य बोकेर राजधानीबाट सुन्दरीजल, पाटीभञ्ज्याङ, कुटुम्साङ हुँदै शेर्माथानसम्म जोड्ने ४५ किलोमिटर सडक बनिसकेको छ । २० लाख बराबरको बजेट छुट्याएर सडक तयार पारिएको उनले प्रस्ट्याए । मेलम्ची खानेपानी आयोजनाको सुरुङनजिकै रहेको फराकिलो तार्तुङ झरनामा ‘क्यानोनिङ’ गरिएको ‘क्यानोनिङ टेस्ट’ का लागि आएका पाइलटले बताएका छन् ।


मुलुकैमा क्यानोनिङमा अब्बल मानिएको ‘छाँगो दि क्यानोनिङ कम्पनीका ३ पाइलटबाट तार्तुङमा ‘क्यानोनिङ’ गरिएको हो । कम्पनीका ‘ओपरेसन’ निर्देशक किशोर शाहीका अनुसार हेलम्बुभरका २५ वटै झरनामा ‘क्यानोनिङ’ को सम्भावना बोकेको देखिन्छ । राजधानीबाट नजिक भएकाले ‘एड्भेन्चर’ पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने उनले सुझाए ।


गाउँपालिका प्रमुख, वडाध्यक्षदेखि विभिन्न युवा नेतृत्वले ३ जना पाइलटबाट सफलतापूर्वक ‘क्यानोनिङ’ प्रयोग निरीक्षण गरे । गुम्बाको गाउँ भनेर चिनिने हेलम्बु गाउँपालिकाले पर्यटन तथा आन्तरिक स्रोत वृद्धि गर्न विभिन्न योजना राखेको छ । गाउँपालिका, स्थानीय र निजी कम्पनीहरूको लगानीमा पर्यटन प्रवद्र्धनका लागि हेलम्बु गोसाइँकुण्ड केबुलकार निर्माणसँगै ‘प्याराग्लाइडिङ, क्यानोनिङ’ को सम्भाव्यता अध्ययन कार्यक्रम राखेको छ ।


हेलम्बु रसुवागढी फस्टट्रयाक मिलारेपा (टनेल २५ किमि) मार्ग हुँदै राजधानी जोड्ने ‘फिजिबिलिटी रिपोर्ट’ तयार गरिरहेको छ । स्वच्छ सफा हेलम्बु, मोडेल विद्यालय, एक बस्ती : एक चिल्र्डेन पार्कजस्ता अभियान ल्याइएको छ ।


पदमार्ग र बन्जी

३ हजार ४ सय ५० मिटरको उचाइमा रहेको पाकेडाँडा पुगेपछि हरियालीबीच रहेको सुन्दरतम् ‘सिमिसिदाङ’ को ट्रयाकलाई अघि सारिएको छ । किउलको मनमोहक बस्ती नियालेपछि तिम्बुको र्तातुङ, लाम्दो, घोप्टेघ्याङ हुँदै पाकेडाँडामा पुग्न सकिन्छ ।


लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने हेलम्बु–७ स्थित ‘होटल ग्रिन भ्यु’ बाट केही मिनेट हिँडेपछि हेलम्बु ‘हिल टप भ्यु’ बाट अन्य धेरै हिमालको अवलोकन गर्न सकिनेछ । पाकेडाँडाको जंगलमा पाइने आकर्षणको केन्द्रबिन्दु रेडपाण्डा, डाँफे, मुनाल, घोरल, मृग, याकचौंरीको संरक्षणमा जुटेको हेलम्बु गाउँपालिकाले जनाएको छ ।


‘विभिन्न हिमाली जातका लालीगुराँस र रेडपाण्डा संरक्षण गर्ने कार्यक्रमलाई प्रमुख बनाएका छाैं,’ प्रमुख निमाग्याल्जेन शेर्पाले भने ।

बुद्धपार्कबाट ग्वाच्यो डाँडा, गुरु रिन्पोछे डाँडा, सेर्माथाङ, आमा याङरी, ढुपु, भेम्दाङ, सेमेसिदाङ, इरिङगाङ, पाकेगाङ, सेम्राङ, ताखोर गुल्फुभञ्जाङ हुँदै चित्रे तागाङसम्म हेलम्बु हिमालयन सम्पदा पदमार्ग बनाइनेछ ।

प्रकाशित : फाल्गुन ७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?