कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चेपाङ महिलाको कठिन जीवन, २१ वर्षमा ४ बच्चा

प्रताप विष्ट

हेटौंडा — उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दुर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ ।

७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वला रोकिएको छ । रजश्वला रोकिनु, गर्भवती हुनुृ, बच्चा पाउनु उनको नियतिजस्तै देखिएको छ ।


बाल्यकालदेखि नै दाहिने खुट्टा गुमाएकी निरमायाको विवाह गाउँकै केटासँग १२ वर्षको उमेरमा भएको थियो । पतिको पनि देब्रे खुट्टा छैन । संयोग नै भन्नुपर्छ दुवैको खुट्टा बाल्यकालमा अँगेनामा परेर जलेको हो । छोराछोरी अँगेनाको छेउमा सुताएर दुवैका आमाबाबु दिउँसो कन्दमूल खोज्न जंगल गएको अवस्थामा अँगेनामा खुट्टा परेर जलेको थियो । घर नजिक स्कुल भएर पनि पढ्न नगएकी निरमायालाई अहिले बच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । टाउको लुकाउने एउटा फुसको घर छ । २ रोपनीजति खोरिया छ । खोरियाबाट उत्पादन भएको मकै र कोदोले मुस्किलले तीन महिना पनि खान पुग्दैन । दुवैमा अपांगता भएकाले ठूलो काम पनि उनीहरू गर्न सक्तैनन् ।


अपांगता भए पनि छिमेकीहरूको मेलापात जाने, जंगलमा कन्दमूल खोजेर ल्याएर बालबालिकाको पेट भर्दैै आएका छन् । ‘बाबुआमाले विवाह नगरिदिएको भए बच्चा जन्मिने थिएन, बच्चा नजन्मिएको भए यस्तो दु:ख हुने थिएन,’ निरमायाले भनिन्, ‘राम्रोसंँग हिँड्न सक्दिनँ, अपांग छु, कमाएर ल्याउने बूढा पनि अपाङ छन्, कसरी बच्चा हुर्काउने ।’ बिहान बेलुका हातमुख जोर्न समस्या छ ।


निरमायाको मात्र होइन, मकवानपुरको चेपाङ समुदायका अधिकांश महिलाहरूको बाल्यकालमा नै विवाह हुने गर्छ । स्कुलको आँगनसम्म नदेखेका अबोध चेपाङ महिलाहरू बालिका अवस्थामा नै आमा हुने गरेका छन् । ‘बालविवाह चेपाङ समुदायमा व्याप्त छ,’ काँकडाको सिलिङेमा घर भएका पूर्व सभासद गोविन्द चेपाङले भने, ‘बालविवाहले गर्दा चेपाङ महिलाहरूको स्वास्थ्य अवस्था नाजुक छ ।’ शैक्षिक, सामाजिक रूपले पछाडि परेको र आर्थिक रूपले विपन्न अवस्थामा रहेकाले चेपाङ जातिमा बालविवाह र जारी प्रथा अझै छ ।


बालविवाह गर्नु हुँदैन भन्नेको संख्या गाउँमा थोरै छ । परापूर्वकालदेखि चल्दै आएको प्रचलन छोडनु हुँदैन भनेर दुधे बालबालिकाको विवाह गर्ने गरेको चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले बताए ।


जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने चेपाङ बाहुल्य रहेको काँकडा, राक्सिराङ, खैराङ, भार्ता, कालिकाटार, सरिखेत र डाँडाखर्कका ८६ प्रतिशत चेपाङको बालविवाह हुने गरेको एक सर्वेक्षणले देखाएको छ ।




प्रकाशित : फाल्गुन ८, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?