लागूऔषध कारोबार : भरिया समातिन्छन् तस्कर उम्कन्छन् 

हरिहरसिंह राठौर

धादिङ — गत माघ २७ गते पृथ्वीराजमार्गको घाटबेसीबाट ३ सय ६० केजी लागूऔषध चरेससहित ३ जना भारतीय नागरिक पक्राउ परे । काठमाडौंबाट वीरगन्ज हुँदै भारततर्फ जाँदै गरेको भारतीय कन्टेनरमा फल्सबटम बनाएर लुकाइराखिएको अवस्थामा उक्त परिमाणको चरेस प्रहरीले फेला पार्‍यो ।

लागूऔषध कारोबार : भरिया समातिन्छन् तस्कर उम्कन्छन् 

चरेससहित पक्राउ पर्नेमा ट्रक चालक ६४ वर्षीय ओम प्रकाश र सहचालक वर्षीय मोरपाल बर्माको साथमा अर्का गुलाब खान नाम गरेका व्यक्ति छन् । लागूऔषध नियन्त्रण ब्युरोको प्रारम्भिक अनुसन्धानमा गुलाब खानले यसअघि पनि पटक पटक राजमार्ग हुँदै गाँजा चरेस तस्करी गरेका थिए ।


त्यस्तै गएको पुस १९ गते पनि गजुरी बजारबाटै २ सय ३५ किलो अवैध लागूऔषध चरेससहित २ जना भारतीय नागरिक पक्राउ परे । काठमाडौंबाट भारततर्फ जाँदै गरेको एचआर ३८ एस ९३७१ नम्बरको भारतीय कन्टेनरमा क्याबिनमाथिको भागमा डिकी बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा ट्रकका चालक सहचालक पक्राउ परेका हुन् ।


त्यस्तै गएको मंसिर २९ गते बेनिघाट रोराङ –२ स्थित ओवाङ गाउँबाट घर खानतलासी गर्ने क्रममा ५ सय ७० केजी गाँजा र ५ नाल बन्दुकसहित ३ जना पक्राउ परे । पक्राउ पर्नेहरूमा बेनिघाट रोराङ २ कै स्थानीय गुन्जबहादुर घलान, ठूलो कान्छा तामाङ र सानो कान्छा तामाङ थिए । पक्राउ परेकाहरूको साथबाट ७ लाख ५० हजार रुपैयाँसमेत बरामद पनि गरिएको थियो । उनीहरू स्थानीय भरिया मात्रै हुन कि उक्त क्षेत्रबाट हुने गाँजा तस्करीका मालिक हुन् भनेर प्रहरीले पत्ता लगाउन सकेन ।


प्रतिनिधिमूलक यी तिनवटै घटनामा केही स्थानीय र तस्करी हुँदै गरेको सवारीसाधनको चालक सहचालक मात्रै पक्राउ पर्ने गरेका छन् । माघ २७ गते ३ सय ६० केजी चरेसको साथमा पक्राउ परेका गुलाब खान भने विगत लामो समयदेखि नै लागूऔषध चरेसको ओसारपसारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले बताए । यस अघि पनि पटकपटक बरामद गरिएका चरेस र गाँजासँगसँग भरियाहरू मात्रै पक्राउ परिरहेका छन् ।


देशका ७० जिल्लालाई राजधानीसँग जोड्ने पृथ्वीराजमार्गमा क्षेत्रका प्रहरीहरूले पटक–पटक अवैध लागूऔषध चरेस र गाँजासहित भरिया र गाडीका चालकहरूलाई पक्राउ गर्दै आएको छ ।

गएको ३ वर्षको अवधिमा राजमार्ग आसपासबाट ८ सय १२ केजी गाँजा, १ हजार ४६ केजी चरेस तथा ५ सय ४७ थान एम्पुल, नुर्फिन, डाइजेपाम लगायतका चक्कीहरूसहित ९२ जनालाइ लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गर्‍यो ।


तर सबै पटक लागूऔषध बरामद गर्दा भरिया तथा प्रयोगकर्ताहरू मात्रै पक्राउ पर्ने र मुख्य कारोबारी उम्कने गरेकाले राजमार्गबाट हुँदै आएको अवैध लागूऔषध ओसारपसारको तस्करी रोक्न सकिएको छैन । सुराकीका आधारमा लागूऔषध पक्राउ गरेको भनिए पनि प्रत्येक पटक भरिया र गाडीका चालक मात्रै पक्राउ पर्ने गरेका छन् ।


प्रहरीले लागूऔषध कारोबारीको मुख्य नाइकेलाई पक्राउ गर्न नसक्दा राजमार्गको बाटो हुँदै तस्करी मौलाइरहेको छ । चरेस तस्करीको मुख्य कारोबारी पक्राउ गर्नको लागि भरियाहरूबाटै अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । एसपीदेखि इन्सपेक्टरसम्म नयाँ आएको धादिङ प्रहरीले विशेष योजनाको साथमा लागूऔषध कारोबारलाई नियन्त्रण गर्ने बताएको छ ।


‘गाँजा खेती हुने ठाउँको पहिचान गरेर जनचेतनामूलक कार्यक्रम गर्ने र उनीहरूलाई विकल्प दिनका लागि स्थानीय तहसँग समन्वय गर्ने योजना बनाएको छौं,’ भर्खर धादिङ जिल्लामा सरुवा भएका आएका एसपी राजकुमार बैदवारले भने, ‘त्यस्तै राजधानीको नजिक रहेकाले पनि कारोबारका लागि राजमार्ग क्षेत्रमा राजधानीबाट आएका शंस्कास्पद युवाहरूलाई निगरानीमा राखेर कारबाही प्रक्रिया अघि बढाउने योजना रहेको छ ।’


चिन्दै नचिनेको मान्छेहरूले दिएको सामान निश्चित दूरी पार गराइदिएमा ठूलै रकम पाउने प्रलोभनमा आफूहरू फसेको चरेससहित पक्राउ परेकाहरूले बताउने गरेका छन् । केही न केही सूचना चरेससहित पक्राउ परेकाहरूसँग हुने भए पनि प्रत्येक वर्ष हजारौं केजी चरेस बरामद र भरियाहरू पक्राउ परिरहँदा पनि मुख्य कारोबारी अहिलेसम्म पक्राउ गर्न सकिएको छैन ।


दक्षिणी धादिङको किरान्चोक, पीडा, महादेवस्थान, तसर्पुलगायत महाभारत र चुरे पहाड क्षेत्रका गाउँहरूमा अवैध गाँजाखेती हुने गरेको छ । गाँजाबाट बनाइने चरेस तस्करी रोक्नका लागि हरेक वर्ष पटक–पटक गाउँमै गएर प्रहरीले गाँजाखेती नष्ट गर्ने अभियान पनि चलाएको हुन्छ । धादिङका गाउँगाउँमा गएर ५ वर्षको अवधिमा ३ हजार २ सय रोपनीभन्दा बढीको क्षेत्रफलमा गरिएको गाँजाखेती नष्टसमेत गरेको छ । तर पनि राजमार्गबाट हुने तस्करीमा कमी आएको छैन ।


खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका राजेन्द्र बस्नेत भन्छन्, ‘स्थानीय तहले गाँजाखेती गर्नेहरूलाई राम्रो र सर्वसुलभ विकल्प नदिने हो भने प्रहरीले चाहेर मात्रै पनि लागूऔषध कारोबार नियन्त्रण गर्न सक्दैन । अवैध हो, कुनै दिन पक्राउ परिन्छ भन्ने सवै स्थानीयलाई थाहा छ र पनि नगदेबालीको रूपमा खेती गदै आएको गाँजाखेतीको विकल्प स्थानीयहरूले पाएका छैनन् ।’


खाद्य अधिकार जिल्ला सञ्जालको तथ्यांकअनुसार धादिङको र मकवारपुरको सीमा क्षेत्रमा १० हजारभन्दा बढी रोपनीमा गाँजाखेती हुने गरेको छ भने त्यसमा करिब ५ हजार परिवार आबद्ध भएका छन् । गाँजाखेती गरिरहेकाहरूलाई जीविकोपार्जन हुने कुनै विल्कप दिन सकेमा मात्रै अवैध लागूऔषधको कारोबार कम हुने बस्नेतले बताए ।


प्रकाशित : फाल्गुन ८, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?