१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुरक्षित प्रसूति गराउने बढे 

कान्तिपुर संवाददाता

हेटौडा — प्रदेश ३ का १३ जिल्लामा स्वास्थ्य संस्थामा गई सुरक्षित तवरले प्रसूति गराउने क्रम बढदै गएको छ । जनचेतना र सरकारले उपलब्ध गराएको भत्ताका कारणले समेत स्वास्थ्य संस्थामा जान प्रेरित गरेको हो । 

चालू आवको ६ महिनामा २८ हजार ३८ महिला सुत्केरी भएका छन् । स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति सेवा (एसबीए) तालिम प्राप्त चिकित्सक तथा स्टाफ नर्सबाट २७ हजार ५ सय २ जनाले प्रसूति गराएका छन् ।

साउन महिनामा ६ हजार ५ सय ७१ जना, भदौमा ५ हजार ९ सय ९३ जना, असोजमा ६ हजार २ सय ७ जना, कात्तिकमा ५ हजार ५ सय ६१ जना, मंसिरमा २ हजार ४ सय ५९ जना र पुसमा १ हजार २ सय ४७ जनाले सुरक्षित प्रसूति गराए । काठमाडौंको तथ्यांक बढी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांक विभागका तथ्यांक सहायक अस्मिता पवनले बताइन् ।

सबैभन्दा बढी काठमाडौं जिल्लाबाट १२ हजार ९ सय ९३ जनाले सुरक्षित प्रसूति गराएका छन् । काठमाडौं र भक्तपुर जिल्लाका सबै गर्भवती महिलाले तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने गरेको मन्त्रालयले जनाएको छ । सुरक्षित प्रसूति तालिम नलिएका चिकित्सक तथा स्टाफ नर्सबाट ३ सय ६८ जनाले प्रसूति गराए । जसमध्ये सबैभन्दा बढी सिन्धुली जिल्लामा १ सय ७ जनाले प्रसूति सेवा लिए भने सिन्धुपाल्चोकमा ९४ जनाले प्रसूति गराए ।

साउनदेखि पुसको अन्तिम सम्ममा १ सय २२ जनाले घरमै चिकित्सकको सहयोगमा प्रसूति गराए । ४६ जनाले जोखिम लिएर नै घरमै सुत्केरी भएको मन्त्रलायका प्रवक्ता सतिश विष्टले वताए । प्रदेश ३ मा ४ सय २६ वटा बर्थिङ सेन्टर छन् ।

मन्त्रालयको कार्ययोजनामा बर्थिङ सेन्टरका चिकित्सक तथा स्टाफ नर्स र अनमीहरूलाई सुरक्षित प्रसूति सेवा (एसबीए) तालिम दिने उल्लेख छ । जसले गर्दा महिलाहरूले पूर्ण सुरक्षित प्रसूति सेवा लिन सक्छन् । घरमै सुत्केरी हुने अवस्थालाई शून्यमा झार्न नसकेको भए पनि स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुने प्रतिशत क्रमशः बढदो छ ।

सुरक्षित प्रसूति सेवाका लागि स्वास्थ्य संस्थामै सेवा लिन प्रेरित गर्ने गरी सरकारले चालु आवदेखि यातायात खर्च र नियमित गर्भ परीक्षण गराएबापत् प्राप्त गर्ने यातायात भत्तासमेत दोब्बर गरेको छ । प्रसूति सेवा लिन स्वास्थ्य संस्थामै गए यातायात खर्चबापत् हिमाली, पहाडी र तराई क्षेक्रमा त्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ दिने व्यवस्था छ ।

यसैगरी नियमित गर्भ परीक्षणको तालिकाअनुसार ४ पटक गर्भ परीक्षण गराए ८ सय रुपैयाँ यातायात खर्च दिने व्यवस्था छ । प्रोत्साहनका लागि यातायात खर्चमा दोब्बर वृद्धि हुनुले पनि स्वास्थ्य संस्थामै प्रसूति सेवा लिनेको संख्या क्रमशः बढदो छ ।

कतिपय स्थानीय तहले समेत प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । स्वास्थ्य संस्थामा नै प्रसूति सेवा लिए स्थानीय तहहरूले पनि यातायात खर्च दिने व्यवस्था गरेको छ भने कतिपय स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छन् ।

हेटौंडा अस्पतालमा चालू आवको ६ महिनामा १ हजार २ सय ६७ जना सुत्केरी भएका छन् । सामान्य अवस्थामा प्रसूति हुने गर्भवती महिलाको संख्या १ हजार २६ रहेको छ भने १ सय ७१ गर्भवतीको शल्यक्रिया गर्नुपरेको अस्पतालका तथ्यांक अधिकृतले जानकारी दिए । यस्तै ७० जना गर्भवतीको जटिल किसिमको शल्यक्रिया थियो ।

हेटौंडा अस्पतालमा सुरक्षित प्रसूति सेवा (एसबीए) सम्बन्धी तालिम प्राप्त चिकित्सकबाट मात्रै प्रसूति गराउने गरेको छ । अस्पतालमा प्रसूति गराएबापत् १ हजार २ सय ९० जनालाई २ हजारका दरले २५ लाख ८० हजार वितरण गरिएको छ । यसैगरी ४ पटकसम्म गर्भवती जाँच गरेबापत् ६ महिनामा ५ सय ९४ जनालाई ८ सयका दरले ४ लाख ७५ हजार २ सय रुपैयाँ वितरण गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा प्रसूतिसँगै अस्पतालमा थाइराइड, पत्थरी, एपेन्डिसाइटजस्ता रोगहरूको शल्यक्रिया पनि हुन थालेको छ । अस्पतालको सेवावाट सेवाग्राहीहरू सन्तुष्ट हुँदै आएका छन । सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ विभिन्न सेवाहरू थप गर्दै अस्पताल अगाडि बढेको अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?