संरक्षणप्रति चेतना जगाउन नाटक

कान्तिपुर संवाददाता

चितवन — जंगल जाने बेलामा कस्तो रंगकाे कपडा नलगाउने ? सुरेश अधिकारीले हत्त न पत्त हात उठाएर जवाफ दिए ‘रातो रंगको लगाउनु हुँदैन ।’ जंगली जनावरहरूले कस्तो बेलामा आक्रमण गर्छ ?

संरक्षणप्रति चेतना जगाउन नाटक

यो प्रश्नमा अरुण पौडेलको उत्तर थियो ‘बच्चा साथमा भएका बेलामा पनि जंगली जनावरहरूले आक्रमण गर्न सक्छ ।’ हिमालयन मावि रत्ननगरका विद्यार्थी सुरेश र अरुणका जवाफ सही थिए र उनीहरूले पुरस्कार पनि पाए ।


संरक्षण, वन्जन्तु, वातावरणलगायतका विषयमा यस्ता प्रश्न अरू पनि थिए र मिलाउने विद्यार्थीले कापी कलम पुरस्कार पाएर रमाए । चितवन राष्ट्रिय निकुञ्जको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गतको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान (सीबीएपीयू) ले महिना दिनअघि विद्यालयमा यसरी चेतना जगाउन सुरु गरेको थियो । हिमालयन माविको कार्यक्रम अन्तिम हो ।


सीबीएपीयूका अध्यक्ष डोमा पौडेलले संरक्षणको महत्त्व र जनावरको आनीबानीका बारेमा विद्यार्थीलाई जानकारी दिन हाजिरीजवाफ प्रभावकारी भएको बताइन् ।


‘प्रश्नको उत्तर मिलाए पुरस्कार पाइने नै भयो । उत्तरमा संरक्षणको कुरा जोडिएको हुन्छ । खुसीका बेला पाएको सही जानकारी लामो समय सम्झना रहन्छ । त्यसैले विद्यार्थी माझ यस्तो कार्यक्रम ल्याएका हौं,’ अध्यक्ष डोमाले भनिन् । हाजिरीजवाफमा निकुञ्जका साथै वन्यजन्तु र चरा, वन्यजन्तुका आनिबानी र बाँच्ने उपायहरू, मध्यवर्तीको अवधारणा, सिमसारको अर्थ र महत्त्व, जलवायु परिवर्तन र अन्य संरक्षित क्षेत्रसँग सम्बन्धित प्रश्नहरू सोधिएका थिए ।


‘विद्यार्थीले सिकेको कुरा परिवार र समुदायसम्म पुग्छ । त्यसैले यस्तो कार्यक्रमको प्रभाव राम्रो हुन्छ,’ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगनाले भने । वन्यजन्तु र स्थानीय बासिन्दाबीच जंगल र बस्तीमा जम्का भेट हुने र आक्रमण भएर घाइते हुने तथा ज्यानै जाने घटनाहरू बर्सेनि भइरहेका छन् ।


‘आक्रमणले मध्यवर्ती क्षेत्रभिक्र मात्रै १० जनाको हाराहारीमा ज्यान गएको छ । ३० जना जति घाइते हुने गरेका छन् । मान्छेमाथि आत्रमण बढदा संरक्षणप्रति नै नकारात्मक सन्देश जाने खतरा हुन्छ । त्यसैले आफू जोगिने र जनावर जोगाउने सन्देश दिन आवश्यक छ,’ पौडेलले भनिन् ।


सीबीएपीयूको टोलीले हिमालयन माविमा फोहोर मैला व्यवस्थापनका विषयमा सडक नाटक पनि देखाएको थियो । ‘गाउँबस्ती मात्रै हैन, जंगल र निकुञ्जमा समेत फोहोर बढ्न थालेको छ । प्लास्टिकहरू थुप्रने गरेका छन् । जसले जनावर र वातावरणलाई असर गर्छ । त्यसैले फोहोर मैला व्यवस्थापनका विषयमा पनि विद्यार्थीलाई सचेत गराउन

खोजेका हौं,’ सीबीएपीयू अध्यक्ष पौडेलले भनिन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?