१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यार्थीमा उत्साह

प्रशान्त माली

ललितपुर — पर्वतकी १५ वर्षीया सज्जा रेग्मीलाई सामान्य प्रेसर र तौल मापन गर्नुपरेमा मेडिकल पुग्नुपर्दथ्यो  । महिनावारीका कारण उत्पन्न हुने शारीरिक समस्याका समाधान उपायबारेमा बुझ्न समस्या हुन्थ्यो  ।

पुल्चोकस्थित त्रिपद्म विद्याश्रममा कक्षा ९ मा अध्यनरत उनलाई अहिले विद्यालयमै स्वास्थ्य युनिट खडा भएपछि यो झन्झटबाट मुक्त मिलेको छ । प्रदेश ३ सरकारले पाइलट प्रोजेक्टको रूमा एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत १२ जिल्लाका २० वटा विद्यालयमा एक बेडसहितको स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको छ । ललितपुरमा त्रिपद्म र बुङ्मतीस्थित आदर्श शौल विद्यालय छनोटमा परेको छ ।


महिनावारीको समस्या लिएर आएकी रेग्मीले इकाईमा मंगलबार पहिलो पटक स्वास्थ्य जाँच गराइन् । इकाईकी स्टाफ नर्स लीला महर्जनले उनलाई महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य मानिने भनी नआत्तिन सुझाव दिइन् । ‘यस्तो बेला सरसफाइमा विषेश ध्यान दिनुपर्छ । फोहोर कपडा प्रयोग गर्नुहुँदैन,’ महर्जनले भनिन्, ‘हाइटअनुसार ४० केजी तौल शरीरका लागि फिट छ ।’ उक्त विद्यालयको कक्षा ९ मा अध्ययरत लमजुङकी निकिता अधिकारी इकाईमा उत्सुकतापूर्वक प्रवेश गरिन् । उनी पनि महिनावारीको समयमा हुने शारीरिक परिवर्तनबारे बुझ्न आएकी हुन् । सुरुमा उनको प्रेसर र तौल नापे । अनि उनलाई सेनेटरी प्याड डिस्पोज गर्ने तरिकाबारे पनि जानकारी दिइन् । अधिकारी भन्छिन्, ‘इकाई खडा भएपछि महिला विद्यार्थीले खुलेर महिनावारीको समस्या राख्न सक्ने भएका छन् ।’


कक्षा १ मा अध्ययरत देवअंश थापाको जाँच्ने क्रममा दाँत बिग्रिएर कालो भएको पाइयो । यसबारे विद्यालय प्रशासनले थापाका अभिभावकलाई खबर गर्‍यो । देवअंशका बुवा शिवले छोरालाई अहिले गुलियो खानेकुरा दिन बन्द र दैनिक दुई पटक दाँत माझ्न लगाउने गरेको बताए । विद्यालयका शिक्षक समेत रहेका शिवको रक्तचाप जाच्दामाथि १४० र तल ८० देखियो । जुन अलि उच्च हो । नर्स महर्जनले उनलाई नुन, चिल्लो कम र पानी बढी खान सल्लाह दिइन् । शिक्षक थापाले शिक्षा र स्वास्थ्य सेवाले लोकतन्त्रमा स्थानीय सरकारको आएको महसुस भएको बताए । विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पहिला लागेको रोगको किसिम, हालको शारीरिक समस्याको बारे रेर्कड राख्न थालेका छन् । विद्यालयले एक महिनादेखि राख्न थालेको तथ्यांक विश्लेषण गर्दा विद्यार्थीमा आँखा, कान, दाँत, छालाको समस्या देखिएको छ । धूम्रपान सेवन गर्ने किशोरकिशोरी पनि भेटिएको विद्यालयको भनाइ छ ।


शिक्षक थापाले विद्यालयले क्रमशः नर्समार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, यौन तथा यौनिकता, धूम्रपानमध्यपान र सुर्तीजन्य पदार्थबारे परामर्श कक्षा सञ्चालन गर्ने तयारी गरेको बताए । ‘स्वस्थ जीवनशैली र स्वस्थकर खानपिनको सम्बन्धमा पनि परामर्श गर्दै लैजाने योजना छ,’ उनले भने, ‘अभिभावकलाई बालबालिकाको स्वास्थ्यको बारेमा प्रत्येक महिना जानकारी गराउने छौं ।’ सरकारले विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यको सुधारको आवश्यकता महसुस गरेर यो प्रोजेक्ट ल्याइएको हो । विद्यालय तहमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले कार्यविधि नै बनाएर कार्यक्रम सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्री परिषदो कार्यालय प्रदेश ३ का सचिव रमेशप्रसाद शिवाकोटी बताए । ‘सीपमा आधारित स्वास्थ्य शिक्षा प्रदान, स्वास्थ्यसँग सम्बन्धित विद्यालय नीति कार्यान्वय यसको अर्को मुख्य उद्देश्य हो,’ उनले भने ।


मन्त्रिपरिषद् कार्यालयका अनुसार दोस्रो वर्षदेखि स्थानीय तहको योगदानमा साझेदारी हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ । ‘नर्सले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण, विद्यालयको स्वास्थ्य अवस्थाको अभिलेख राखी प्रतिवेदन तयार र स्वास्थ्यसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान गर्नेछ,’ उनले भने, ‘त्यस आधारमा सुधारका लागि बजेटको व्यवस्था गर्न पहल गरिनेछ ।’ इकाई सञ्चालनमा आएपछि विद्यालयमा सरसफाइमा परिवर्तन आएको छ । चमेना गृह र शौचालय नियमित सफाइ हुन थालेको शिक्षकहरूको भनाइ छ । शिक्षक थापाका अनुसार अहिले विद्यालयमा जंकफुड निषेध गरिएको छ । ‘खानेकुराको तालिका बनाएर लागू गरेको छ,’ उनले भने ।

प्रकाशित : फाल्गुन १५, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?