कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गर्भवतीलाई अण्डा र झण्डा

अनिश तिवारी

सिन्धुपाल्चोक — गर्भवती भएको थाहा पाएलगत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विकको घरमा हरियो झन्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् ।

गर्भवतीलाई अण्डा र झण्डा

‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे । घरमै दिइएको सुझावले मलाई स्वास्थ्य केन्द्रमा सुत्केरी हुन प्रेरणा दियो,’ विकले भनिन् । सुत्केरी भएपछि एक क्रेट अण्डा लिएपछि आफैं स्वास्थ्य चौकी जान थालेको उनको कथन छ ।

भोटेकोसी गापा गुम्बाकी ३० वर्षीया माइली लामालाई स्वास्थ्य चौकीमा जानै मन लाग्दैनथ्यो ।


जनप्रतिनिधिसहित स्वास्थ्य सेविकाले झण्डा गाडेर समयसमयमा सुझाव दिएपछि उनको सोचाइ बदलिएको छ । ‘म पनि केही दिनअघि मात्रै स्वास्थ्य चौकीमा सुरक्षित अवस्थामा सुत्केरी भए,’ उनले भनिन् । हरियो झण्डा देख्नेबित्तिकै स्वास्थ्य जाँचबारे सम्झिएपछि शिशु हेरचाह र सरसफाइमा आफैं सचेत भएर लागेको उनको भनाइ छ । भोटेकोसी गापा मार्मिङकी सुन्डोमा तामाङले महिनाअघि लगत्तै तातोपानी स्वास्थ्य चौकीमा स्वस्थ शिशुलाई जन्म दिइन् ।


४, ६, ८ र ९ महिनामा गर्भ जाँच गरेपछि स्वथ्यकर भएर सुत्केरी हुन सकेको उनको बुझाइ छ । ‘घरमा र स्वास्थ्य केन्द्रमा सुत्केरीमा हुनुमा धेरै फरक रहेछ अहिले बुझे,’ उनले भनिन् । भोटेकोसी गाउँपालिका स्वास्थ्य शाखा संयोजक रेजिन्द्रप्रसाद सुवेदीका अनुसार दुर्गम गुम्बा, छ्यासीङेखि मार्मिङजस्ता ५ वटै वडामा यस्तो अभियान चालिएको छ । ‘गाउँभर सुरक्षित सुत्केरी गराउनका लागि ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रम चलाएका छौं,’ उनले भने । प्रत्येक गाउँमा गर्भवती भएको पत्ता लगाएर हरियो झण्डा राख्दै सल्लाह दिन २६ जना खटिरहेको उनको कथन छ ।


गाउँपालिकाभर झन्डै ६० जना गर्भवती रहेकोमा १६ जनालाई ‘हरियो झण्डा अभियान’ बाट सुत्केरी भएको उनले जनाए । प्रत्येक सुत्केरीलाई तीन किलो गेडागुडी, साबुन, नुन, अण्डा दिने गरिएको छ । गर्भवती भएको घर पहिचान गर्नका लागि झण्डा राखेर निगरानी राख्दै सुझाउ गरिन यस्तो गरिएको हो ।


स्वास्थ्य क्षेत्रको २५ लाखमा पोषण कार्यक्रमअन्तर्गत यही अभियानमा २ लाख ८० हजार विनियोजन गरिएको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए । ‘गाउँपालिकाभर स्वास्थ्य इकाई ठड्याएसँगै स्वास्थ्यसम्बन्धी हरियो झण्डा अभियानले सार्थकता पाएको छ,’ उनले भने । भोटेकोसी १ लिस्तीकोट र ५ मार्मिनले पोषणका लागि बच्चालाई खोपसँगै अण्डा खुवाउने सचेतना अभियानमा एक लाख छुट्ट्याएको छ ।


१३ वटा खोप केन्द्रमा आउने प्रत्येक बालबालिकालाई जाँच र परामर्श दिइने गरिएको छ । ‘यसले अधिकांशको सोच बदलिएको छ, स्वास्थ्य चौकीमा बर्थिङ गराउने बढ्न थालेका छन्,’ उनले भने । पहिलेभन्दा हाल ७० प्रतिशत महिला स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन थालेको उनले दाबी गरे ।

प्रकाशित : फाल्गुन १८, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?