कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

थानागढीमा पूर्वाधार छैन

शिल्पा कर्ण

काठमाडौँ — राजधानी नजिकैका पर्यटकीय स्थलमा बिदाका दिन प्रायः भीड नै हुन्छ  । त्यहीमध्ये एक हो तारकेश्वर नगरपालिकामा पर्ने थानागढी  । यसलाई गढीथुम्को पनि भनिन्छ । पासाङल्हामु लोकमार्गछेउको मुड्खु भञ्ज्याङ पश्चिममा थानागढी पर्छ । त्यहाँ रहेको ३० फिटे भ्यूटावर वरपर घुम्न जानेको लर्को लाग्छ । तर, त्यसअनुसारका पूर्वाधार भने छैनन् ।

थानागढीमा पूर्वाधार छैन

नगरपालिकाले उक्त क्षेत्रमा फोहोर व्यवस्थापन गर्न सकेको देखिन्न । टावर परिसरभित्र ६ वटा बेन्च राखिएका छन् । सेतो रङको तीनतले टावरको माथि पुग्दा जथाभावी कोरिएका छन् । अहिले त भर्‍याङ पनि मर्मत हुन सकेको छैन । बजारे खानेकुराका खोल र पानीका बोतल माथिल्लो तला र टावर वरपर जंगलसम्म छन् ।

भ्यूटावरबाट उत्तरमा शिवपुरी राष्ट्रिय निकुञ्ज र मौसम सफा भए हिमाल देखिन्छ । दक्षिणपूर्वमा पुरानो तामाङ बस्ती चोगाउँ र काठमाडौं उपत्यका देख्न सकिन्छ । तारकेश्वर नगरपालिका वडा नं. ३ र ५ को बिचमा पर्ने यस स्थानमा भ्यूटावर निर्माण गरिए पनि त्यो ओझेलमा परेको छ । स्थानीय तहले पनि यसको विकासमा ध्यान पुर्‍याउन सकेको छैन ।

थानागढीले ऐतिहासिक महत्त्व बोकेको भए पनि यहाँ पुग्ने धेरैलाई त्यसबारे थाहा हुन्न । थानागढीमा रहेको अर्को आकर्षण ६ लाख रुपैयाँमा निर्माण गरिएको जोडी डाँफेको मूर्ति हो । तर, रंगरोगन र मर्मत–सम्भार अभावमा आकर्षक देखिन्न । प्रायः मान्छे नआउने तर बिदाको दिन सय/डेढ सय जति आउने गरेको पार्किङ शुल्क उठाइरहेका स्थानीयवासीले बताए ।

यहाँ पुग्ने मान्छे प्रायः वरपरका गोलढुंगा, काभ्रेस्थली, बालाजुजस्ता क्षेत्रबाट आउने गरेका छन् । पछिल्लो समय केही कम भए पनि लागूऔषध प्रयोगकर्ता आउने गरेको भ्यूटावर व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष फूलबहादुर तामाङले जानकारी दिए । यस्ता घटना भएमा स्थानीय मिलेर प्रहरीलाई खबर गर्ने गरेका छन् । यहाँसम्म पुग्ने सडकको प्रचार र सरसफाइ गर्न स्थानीय तहले रुचि दिनुपर्ने तामाङको सुझाव छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने स्थान भएकाले भौतिक निर्माण अघि स्वीकृति लिनु कठिनाइ भएको समितिले जनाएको छ । भूकम्पले क्षति पुर्‍याएपछि दुई वर्षअघि मन्त्रालयबाटै ११ लाख रुपैयाँ खर्चेर रेट्रोफिटिङ गरिएको थियो । समितिले दातृसंस्थाको सहयोगमा सौन्दर्य वृद्धि गर्न फलफूलका समेत गरी ८ हजार बिरुवा रोपेको थियो ।

३५ लाख रुपैयाँ दातृसंस्थाकै सहयोग लिएर बिरुवामा सिँचाइका लागि पानीका ट्यांकी राखिएको छ । ‘पानीको अत्यन्तै समस्या हुन्छ । त्यसैले धेरै बिरुवा मरे,’ तामाङले भने । मुडीखु (मुड्खु) गढी पनि भनिने यो ठाउँ इतिहाससँग जोडिएको छ । समुद्री सतहबाट १४७० मिटर उचाइमा रहेको यो गढी उपत्यकालाई बाह्य आक्रमणबाट जोगाउन निर्माण गरिएको गढीहरूमध्ये एक हो भन्छन्, स्थानीय शिक्षक देवेन्द्र अर्याल ।

मुडिखु गढीले पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका विजय गर्नुअघिदेखिकै इतिहास बोकेको उनको भनाइ छ । गोर्खाली सेनाले काठमाडौं उपत्यकामाथि विजय हासिल गर्ने क्रममा पहिले छेउछाऊका स–साना किल्लामा आक्रमण गर्ने त्रममा मुड्खुगाउँ, धर्मस्थली, ल्हुतिकोट (बालाजु) क्षेत्रमाथि पनि विजय हासिल गरेको अर्यालले बताए । ‘इतिहास हेर्दा विसं १७२२ तिर शाहले मुडिखु गाउँका मुख्य रहेका हरि खडकालाई पराजित गरेका थिए,’ अर्याल थप्छन्, ‘त्यसपछि मुडिखुमाथि गोर्खाली सेनाको आधिपत्य रह्यो ।’

पहिले ५ थुम्का रहे पनि अहिले गढीथुम्कोमा ३ थुम्का छन् । तामाङका अनुसार झन्डै तीन दशकअघि गढी भत्केका बेला गोली भेटिएको थियो । अहिले भ्यूटावर बनाइएको सो स्थान वरपरका जग्गा अतिक्रमणमा परेको छ । तर पनि संरक्षणका ठोस योजना कुनै निकायबाट आउन नसकेको स्थानीय गुनासो गर्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटनमन्त्री हिसिला यमी हुँदाका बखत तत्कालीन जिल्ला विकास समिति मार्फत उक्त भ्यूटावर निर्माण भएको थियो । आव २०६५/६६ मा २० लाख खर्चेर उक्त भ्यूटावर निर्माण गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समितिले वरपरका पर्ती जग्गा १२५ रोपनीभन्दा बढी भएको बताए पनि नगरपालिकाका अनुसार हाल त्यो निकै कम भइसकेको छ ।

वडा नं. ५ का अध्यक्ष वासु गौतमले प्रदेश नं. ३ ले त्यहाँ पार्क निर्माण गर्न सुरु गरेको र ६० लाख रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए । ‘भर्‍याङ फेर्ने, शौचालय बनाउने, बतासेडाँडामा पिकनिक स्पट बनाउने तयारी छ । खानेपानी ट्यांकी भए पनि पानी तान्न लागिरेका छौं,’ गौतमले भने । नगरपालिकाका मेयर रामेश्वर बोहराले यसलाई महात्त्वाकांक्षी योजनाका रूपमा अघि सारेका थिए । तर, गुरुयोजना अहिलेसम्म नबनेको गौतमको भनाइ छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?