कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जब पशुपतिका चारै ढोका खुले

महाशिवरात्रि
प्रशान्त माली

काठमाडौँ — भारत काशीद्वारका ८२ वर्षीय नागा बाबा मुन्ना गिरी पशुपतिनाथ दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा छन् । ‘संसारमा रहेका शिवका पवित्र स्थलमध्ये पशुपति मन्दिर मुख्य हो । पशुपतिनाथको दर्शनबिना मुक्ति मिल्दैन,’ उनको बुझाइ छ ।

जब पशुपतिका चारै ढोका खुले

हिमाचल प्रदेशका ५८ वर्षीय नागा बाबा विष्णु भारती संसारका एक सय शिवका पवित्र स्थलमा पुगिसकेको बताउँछन् । पशुपतिनाथ दर्शनबिना आत्माले मोक्ष प्राप्त नगर्नेमा उनी विश्वास राख्छन् । भन्छन्, ‘हाम्रा सबभन्दा महान् देवता पशुपतिनाथ हुन् ।’ गुजरातबाट आएकी संन्यासी अल्का भारती ईश्वरको शरणमा जान पशुपतिनाथको दर्शन अनिवार्य भएको बताउँछिन् ।

राष्ट्रिय पर्व महाशिवरात्रि आराध्यदेव शिवको पूजाआराधना गरी मुलुकभर मनाइएको छ । पशुपतिनाथको दर्शन गर्न नेपाल–भारतलगायत विभिन्न देशबाट संन्यासी सम्प्रदायका नागालगायत नानक, उदासी, कनफट्टा समुदायका साधुसन्त र भक्तजनको बिहानैदेखि भीड लागेको थियो । पशुपतिनाथको राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पूजाआराधना गरेकी थिइन् ।

पशुपति गोश्वारा कार्यालयकी प्रमुख लक्षुना काफ्लेले साधुसन्त, महन्त, उदासी, बैरागीलगायतलाई बुधबार राज्यका तर्फबाट एक/एक पाउको पेडा र साधुको स्तर हेरी ३ सय ५१ देखि एक हजार ७ सय ५१ रुपैयाँसम्म दक्षिणा दिएर बिदा गरिने बताइन् । ‘पाहुना तीर्थयात्रीलाई चमर, राडी, कमण्डलु, शंख, घण्ट, बख्खु, पीताम्बर, सिदाका सामग्री, फलफूल आदि पनि दान दिइनेछ,’ उनले भनिन् । भक्तजनको सुविधाका लागि पशुपतिनाथका चारवटै ढोका खुला गरिएको थियो । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराण ग्रन्थमा वर्णित रहेको संस्कृतिविद् हरिराम जोशी बताउँछन् ।

यसै दिन ललितपुरस्थित तः बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइएको थियो । राजखड्गलाई तःबहाल नजिकै रहेको मीननाथको मन्दिरमा लगिएको थियो । त्यहाँ फूलप्रसाद ग्रहण गरिसकेपछि कुम्भेश्वरमा पुर्‍याई त्यहाँ कुम्भेश्वर महादेवलाई नैवेद्य, पञ्चामृत, फलफूल चढाई पूजा गरिएको थियो । पर्व नेपाललगायत भारतको वाराणासी, वैद्यनाथ धाम, उज्जैन र इन्डोनेसियाको बालीलगायत ठाउँमा धुमधामसाथ मनाइन्छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?