जब पशुपतिका चारै ढोका खुले

महाशिवरात्रि
प्रशान्त माली

काठमाडौँ — भारत काशीद्वारका ८२ वर्षीय नागा बाबा मुन्ना गिरी पशुपतिनाथ दर्शन गर्न तीन दिनदेखि काठमाडौंमा छन् । ‘संसारमा रहेका शिवका पवित्र स्थलमध्ये पशुपति मन्दिर मुख्य हो । पशुपतिनाथको दर्शनबिना मुक्ति मिल्दैन,’ उनको बुझाइ छ ।


हिमाचल प्रदेशका ५८ वर्षीय नागा बाबा विष्णु भारती संसारका एक सय शिवका पवित्र स्थलमा पुगिसकेको बताउँछन् । पशुपतिनाथ दर्शनबिना आत्माले मोक्ष प्राप्त नगर्नेमा उनी विश्वास राख्छन् । भन्छन्, ‘हाम्रा सबभन्दा महान् देवता पशुपतिनाथ हुन् ।’ गुजरातबाट आएकी संन्यासी अल्का भारती ईश्वरको शरणमा जान पशुपतिनाथको दर्शन अनिवार्य भएको बताउँछिन् ।

राष्ट्रिय पर्व महाशिवरात्रि आराध्यदेव शिवको पूजाआराधना गरी मुलुकभर मनाइएको छ । पशुपतिनाथको दर्शन गर्न नेपाल–भारतलगायत विभिन्न देशबाट संन्यासी सम्प्रदायका नागालगायत नानक, उदासी, कनफट्टा समुदायका साधुसन्त र भक्तजनको बिहानैदेखि भीड लागेको थियो । पशुपतिनाथको राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पूजाआराधना गरेकी थिइन् ।

पशुपति गोश्वारा कार्यालयकी प्रमुख लक्षुना काफ्लेले साधुसन्त, महन्त, उदासी, बैरागीलगायतलाई बुधबार राज्यका तर्फबाट एक/एक पाउको पेडा र साधुको स्तर हेरी ३ सय ५१ देखि एक हजार ७ सय ५१ रुपैयाँसम्म दक्षिणा दिएर बिदा गरिने बताइन् । ‘पाहुना तीर्थयात्रीलाई चमर, राडी, कमण्डलु, शंख, घण्ट, बख्खु, पीताम्बर, सिदाका सामग्री, फलफूल आदि पनि दान दिइनेछ,’ उनले भनिन् । भक्तजनको सुविधाका लागि पशुपतिनाथका चारवटै ढोका खुला गरिएको थियो । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवपुराण ग्रन्थमा वर्णित रहेको संस्कृतिविद् हरिराम जोशी बताउँछन् ।

यसै दिन ललितपुरस्थित तः बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइएको थियो । राजखड्गलाई तःबहाल नजिकै रहेको मीननाथको मन्दिरमा लगिएको थियो । त्यहाँ फूलप्रसाद ग्रहण गरिसकेपछि कुम्भेश्वरमा पुर्‍याई त्यहाँ कुम्भेश्वर महादेवलाई नैवेद्य, पञ्चामृत, फलफूल चढाई पूजा गरिएको थियो । पर्व नेपाललगायत भारतको वाराणासी, वैद्यनाथ धाम, उज्जैन र इन्डोनेसियाको बालीलगायत ठाउँमा धुमधामसाथ मनाइन्छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:१५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पर्यटक तान्दै ललितपुर

प्रशान्त माली

ललितपुर — जंगल सफारी, चट्टान आरोहण, जलयात्रा, डुंगा शयर, प्याराग्लाइडिङ, गुफा ध्यान, घोडचढी । पर्यटक लोभ्याउन ललितपुरले यी सबै माध्यमको सम्भावना खोजिरहेको छ । केही खेल सुरु भइसकेका छन् । ललितपुर दक्षिण भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुरको व्यवस्था गर्न स्थानीय जुटेका छन् । 

गोटिखेलस्थित त्रेवणी वैतर्णीधाम । त्यहाँ स्थापित ३४ ज्योतिर्लिंग । तस्बिर : प्रशान्त/कान्तिपुर

कृषि, साहसिक खेल पर्यटनको उत्कृष्ट गन्तव्यस्थल भए पनि ओझेलमा परेको भन्दै स्थानीयले सक्रियता देखाएका हुन् ।
गोटिखेल र भारदेउको टुप्पोमा प्रसिद्ध कालेश्वर र गुप्तेश्वर मन्दिर छन् । लेलेमा मनकामना, देवीचौरमा स्वर्गद्वार र नल्लुमा पाथीभरा मन्दिर छन् । यी उत्कृष्ट धार्मिक गन्तव्यस्थलमा पनि क्रमशः योजनागत ढंगबाट पर्यटन प्रवर्द्धन गर्दै लैजान पहल भइरहेको छ । समुदायमा होमस्टेको अभिमुखीकरण तालिम सञ्चालन हुँदै छ ।

महाँकाल गाउँपालिका प्रमुख रामचन्द्र दाहालले यी धार्मिक क्षेत्रमा पिकनिक स्पटको रूपमा विकास गरिने बताए । ‘लेले, दलचोकी, घुसेलको देउराली, देवीचौरको कटुवाल दह, सुन्तली डाँडालगायत क्षेत्र चलचित्र छायांकनका लागि उपयुक्त स्थान हुन्,’ उनले भने ।

चापागाउँ चारघरेस्थित मगरवस्ती, विशंखुनारायणको कोटडाँडा जनजाति पर्यटनमैत्री बस्ती हुन् । तामाङ बाहुल्य रहेको दलचोकी, नल्लु, भारदेउमा त होमस्टे नै सञ्चालनमा आइसकेका छन् । प्युटार बजारमाथिको बस्ती, गिम्दी र ठूलादुर्लुङ, कालेश्वरको बतासे आसपासका, शंखु, चौघरेका तामाङ बस्तीका समुदायलाई होमस्टे सञ्चालनमा ल्याउन आह्वान गरिसकेको प्रमुख दाहालको भनाइ छ ।

तामाङ समुदायमा समूह निर्माण गरेर सामाजिक परिचालनका माध्यमबाट पर्यटकलाई खुसी बनाएर व्यवसाय विस्तार गर्ने सक्ने सम्भवना छ । ‘यसका लागि इच्छुक समुदायलाई सम्बन्धित गाउँपालिकामा सम्पर्क राख्न भनिसकेका छौं,’ उनले भने, ‘गाउँपालिकाले सहुलियत ऋण उपलब्ध गराउन बैंकका सञ्चालकसँग पनि छलफल अगाडि बढाएका छौं ।’ उनका अनुसार पर्यटन प्रवर्द्धनको अर्को महत्त्वपूर्ण पक्ष खेल पर्यटन हो । ‘साहसिक खेल पर्यटनका लागि बन्जिजम्पिङको सम्भावित स्थानको खोजी भइरहेको छ,’ उनले भने ।

होमस्टे सञ्चालनमा ल्याउन वाग्मती गाउँपालिकाले २५ लाख रुपैयाँ छुट्याएको छ । दक्षिणमा पर्यटकलाई आर्कषण गर्ने नागगुफा, बतासे, गढी, सिसवन, चमेरे गुफा, रमिते, माझखण्ड विहार, भट्टेडाँडा, सुन्तोलीडाँडा, टीकाभैरव, मानडाँडालगायत छन् । थुप्रो पर्यटकीय पदमार्ग छन् ।

लेलेको तिलेश्वर–नल्लु–भारदेउ हुँदै गुप्तेश्वर खोरभञ्ज्याङ पुगेर धामसम्म एक दिनको टुर प्याकेज छ । गोटिखेल–कालेश्वर लोग्तुक गुम्बा–रमितेडाँडा हुँदै प्युटार अर्को रुट हो । स्थानीय मिलेर यो पदयात्रा गर्ने पर्यटकका लागि प्युटारमा रात बिताउन होमस्टे सञ्चालनमा ल्याइसकेको छ । नागगुफा–पीआईए टावर हुँदै सुन्तलीडाँडामा आएर देवीचौर वा लेलेमा बास आउनेका लागि पनि होमस्टेको व्यवस्था छ ।

अर्को बतासे–कालेश्वर हुँदै लोंग्तुक गुम्बाबाट ससिपाहा हुँदै ऐतिहासिक गढी, सिसवन क्षेत्र हुँदै चमेरे गुफा एक रात, त्यहाँबाट रमिते माझखण्ड भट्टेडाँडा हुँदै सुन्तलीडाँडासम्म दोस्रो रात र भोलिपल्ट काँठ क्षेत्रको अवलोकन गर्ने गरी तीन दिनको प्याकेज रुट छ । उपत्यका हिमशृंखला अवलोकन गर्न रुचाउने पर्यटकका लागि छुट्टै प्याकेजको व्यवस्था छ ।

लामाटारको लाकुरीभञ्ज्याङ मनमोहन स्मृति भ्यूटावर, विशंखुनारायणको कोट र प्याराग्लाइडिङ स्टान्ड परिसर, फुल्चोकी र बडिभञ्ज्याङ रुट हिमशृंखला अवलोकन गर्न सकिन्छ । यी स्थानमा अलगअलग गएर आनन्द लिन सकिने प्रमुख दाहालको भनाइ छ । उनले पर्यटकको सुरक्षाको जिम्मेवारी ग्यारेन्टी गाउँपालिकाले लिने बताए ।

स्थानीय जुटेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न गोटिखेलस्थित त्रिवेणी वैतर्णीधाम र घडघडा नदीमा शिव पुराण ज्ञान महायज्ञ लगाएका
हुन् । आइतबारबाट सुरु महायज्ञ सोमबार शिवरात्रिसम्म चल्नेछ ।

पर्यटन प्रवर्द्धन समारोहमा पुगेर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दक्षिणको पर्यटन विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘दक्षिण भेगको विकास धार्मिक पर्यटनमार्फत सम्भव छ,’ नेपालले भने । महाँकाल गाउँपालिका–३ स्थित वैतर्णीधाम धरानको बराह, गुल्मीको रिडी र मुस्ताङको मुक्तिनाथजस्तो पुरातात्त्विक महत्त्वको तीर्थस्थल हो ।

धामको दक्षिणपट्टि कालेश्वर र उत्तरपूर्व डरेको खोर नामक टापु छ । यी टापु हिमालमा जोडिएको दृश्य धनुषाको जनकपुर, रौतहटको नगरपुर, पर्साको परमानुपरबाट अवलोकन गर्न सकिन्छ । वैतर्णीधाम सुधार समितिका अध्यक्ष केशवप्रसाद घिमिरे भन्छन्, ‘यी ऐतिहासिक महत्त्वको स्थानको उजागर गर्न यज्ञ लगाएका हौं ।’ उनले महायज्ञ गर्दा गर्दै डेढ आना क्षेत्रफलमा फैलिएको धाम १३ रोपनी पुर्‍याइसकेको बताए ।

यज्ञमा दैनिक कथावाचन जगतगुरु श्रीविभूषित बालसन्त मोहनशरण देवाचार्य गरेका छन् । गोटिखेल सातदोबाटोबाट ४७ किमि दक्षिण भेगमा पर्छ ।

प्रकाशित : फाल्गुन १९, २०७५ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT