चीन जोड्ने सडक निर्माण धमाधम

बलराम घिमिरे

रसुवा — पहिरोका कारण ९ महिनादेखि बन्द चीनसँग जोडिएको मैलुङ–स्याफ्रुबेंसी करिब १८ किमि सडक सञ्चालनका लागि चट्टान फुटाउन नेपाली सेनाले ब्लास्टिङ अनुमति दिएको छ । अनुमतिपछि मंगलबारदेखि ठूला चट्टान पन्छाउन सुरु गरिएको छ । 

उक्त सडकको मध्ये २ सय मिटर सडक खण्डमा पहिरोसँगै आएको ठूला चट्टान हटाउन नसक्दा गत वर्षदेखि नै आउजाउ बन्द भएको थियो । ठूला चट्टानमा प्वाल खोप्ने काम सकिएको छ, गल्छी स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना प्रमुख सुबोधकुमार देवकोटाले भने, ‘लगातार काम भयो भने अब १० दिनमा यातायात सञ्चालन गर्न सकिन्छ ।’


मंगलबारदेखि ब्लास्टिङ सुरु गरिएको छ,’ उनले भने । सेनाले ब्लास्टिङ अनुमति दिन ढिलाइ गर्दा सडक अवरुद्ध हटाउन कठिन भएको थियो । सेनाले दुई लेनको सडक बनाएर गत जेठमा हस्तान्तरण गरेको थियो । पछिल्लो समय नाकाको भौतिक संरचनाको विकासमा चीनले चासो दिएपछि सडकको गल्छी–रसुवागढी खण्डलाई तीन भागमा विभाजन गरेर निर्माणलाई तीव्रता दिइएको छ ।


राजधानीबाट रसुवागढी जाने वैकल्पिक मार्गको रूपमा विकास गर्न लागेको सडकको मैलुङ–स्याफ्रुबेसी दोस्रो खण्ड हो ।


स्थानीयले दुई साताअघि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएर लामो समयदेखि बन्द सडक खुलाउन पहल गर्न माग गरेका थिए । भूकम्पपछि तातोपानी नाका बन्द भएपछि चीनसँगको प्रमुख व्यापारिक रसुवागढीबाट हुँदै आएको छ । राजधानीबाट नाका पुग्न छोटो दूरीको सडक बनाउने योजना मुताविक निर्माण सुरु गरिएको हो । पहिलो खण्डको गल्छी मैलुङ ४६ किमिको निर्माण भइरहेको छ ।


आयोजना प्रमुख देवकोटाका अनुसार उक्त सडक खण्डको ३९ प्रतिशत निर्माण पूरा भएको छ । सडकको अन्तिम खण्ड मैलुङ रसुवागढी १६ किमि चीनले बनाउने सहमति छ । सहमतिअनुसार आगामी जुलाईबाट निर्माण सुरु गर्ने लक्ष्य छ । गल्छीबाट सुरु हुने सडकको तीनै खण्ड पूरा भएपछि हाल सञ्चालनमा रहेको पासाङल्हामु मार्गभन्दा करिब २५ किमि कम दूरी पार गरेर रसुवागढी पुग्न सकिन्छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक अबको २ वर्षभित्र निर्माण सम्पन्न गरी सक्ने लक्ष्य आयोजनाले लिएको छ ।


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण सम्पन्न भएपछि काठमाडौंलाई चीनसँग जोडने सबैभन्दा छोटो मार्ग हुने छ । सडक निर्माण सम्पन्न भएपछि रसुवागढीदेखि गल्छीसम्मको दूरी करिब ८२ किलोमिटरको हुनेछ । गल्छी–काठमाडौं ४७ किमि छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किमि पार गर्नुपर्छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किमि छ । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । पासाङल्हामु मार्गको बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने हुन्छ ।


तर नयाँ रुट खुलेपछि बेत्रावती–मैलुङ हुँदै स्याफ्रु पुग्न कठिन घुम्ती पार गर्नु पर्दैन । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक बनेपछि उत्तर (चीनको केरुङ) र दक्षिण (भारतको ठोरी) जोडिने सबैभन्दा छोटो त्रिदेशीय सडक हुने देवाकोटाले बताए । पर्साको ठोरीबाट चितवनको भण्डारा–गल्छी हुँदै त्रिशूली बेत्रावती–मैलुङ–स्याफ्रबेसी मार्ग सञ्चालन हुँदा चीन र भारतबीचको दूरी करिब दुई सय ३० किलोमिटर हुनेछ । नेपालको रसुवागढी–केरुङ दूरी २४ किमि छ ।


तिब्बती रेलमार्ग सिगात्सेसम्म आइपुगिसकेको छ । सन् २०२०/२२ सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने उसको दाबी रहेको छ । चीनले रसुवागढी नाकाको विकासलाई प्राथमितामा राखेको छ । उसले आफ्नो भूभागमा भौतिक विकासलाई तीव्रता दिएको छ । चिनियाँ भूभागमा आधुनिक भवन र केरुङ जाने दुई लेनको कालोपत्रे सडक बनिसकेको छ ।

प्रकाशित : फाल्गुन २२, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?