कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य संस्थामा सुत्केरी थोरै

बलराम घिमिरे

रसुवा — यहाँका अधिकांश गर्भवती महिलाले घरमै असुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रसुवाको आव ०७४/०७५ को तथ्यांक अनुसार २४.२६ प्रतिशत गर्भवती महिलाले मात्र स्वास्थ्य संस्थामा सुरक्षित ढंगले सुत्केरी हुने गरेका छन् ।

७५.७४ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको तथ्यांकले देखाएको छ । जिल्लामा आव ०७४/०७५ मा १ हजार १ सय ६२ गर्भवती महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले बताएको छ । सरकारले स्वास्थ्य संस्थामा गएर नियमित गर्भ जाँच र सुत्केरी गराउनेलाई प्रोत्साहन भत्ता दिए पनि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढ्न सकेको छैन ।


आव ०७३/०७४ मा २७.३७ र ०७२/०७३ मा २४.८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराएको तथ्यांक छ । स्वास्थ्य संस्था गएर सुत्केरी भएबापत् हिमाली जिल्लामा १ हजार ५ सय, पहाडी जिल्लामा १ हजार र तराईका जिल्लामा ५ सय रुपैयाँ सरकारले यातायात खर्च दिने व्यवस्था गरेको छ ।


चेतनाको कमी, भौगोलिक विकटतालगायत विभिन्न कारणले स्वास्थ्य संस्था गएर सुरक्षित सुत्केरी गराउनेको संख्या न्यून भएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाको पब्लिक हेल्थ नर्स रुकु क्षेत्रीले बताइन् । ‘यहाँका महिला जिल्ला बाहिरको अस्पतालमा गएर पनि सुत्केरी हुने गरेका छन् तर त्यसको रेकर्ड जिल्लासँग हुँंदैन,’ उनले भनिन् ।


चार पटकसम्म स्वास्थ्य संस्था पुगेर नियमित गर्भ जाँच गराउने महिलालाई थप ४ सय रुपैयाँ दिने गरे पनि अन्तिम पटकसम्म गर्भ जाँच गराउने ४६.१९ प्रतिशत मात्र रहेका छन् । ९३ प्रतिशतले पहिलो पटकको गर्भ जाँच गराएका छन् । दोस्रो, तेस्रो र चौथोपटक गर्भ जाँच गराउनेको संख्या क्रमशः घटदै जाने गरेको छ । जिल्लाको १४ वटा स्वाथ्य संस्थामा बर्थिङ सेन्टर रहेको छ । लाङटाङ, वृद्धिम, थुमन र हाकु हेल्थ पोस्टमा बर्थिङ सेन्टर स्थापना हुन सकेको छैन ।


उक्त क्षेत्रका गर्भवती महिलालाई सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था अथवा जिल्ला अस्पताल जानुपर्ने बाध्यता रहेको छ । नियमित गर्भ जाँच नगराउँदा र घरमै सुत्केरी गराउँदा आमा र बच्चा अथवा दुवैको ज्यानै जाने खतरासमेत रहन्छ जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शिवप्रसाद बडालले बताए ।


नियमित गर्भ जाँच र सुरक्षित सुत्केरी प्रजनन् स्वास्थ्यको प्रमुख चुनौती भएको उनले बताए । नियमित गर्भवती जाँच र स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको संख्यामा वृद्धि गर्न मोबाइलमा आधारित शुभकामना कार्यक्रम सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, पाँचवटै स्थानीय तह, करुणा फाउन्डेसन नेपाल र मेडिक मोबाइल नेपालको सहयोगमा मोबाइलमा आधारित शुभकामना कार्यक्रम फागुनदेखि सुरु भएको हो । मेडिक मोबाइल नेपालले प्राविधिक सहयोग गरेको छ ।


ऊक्त कार्यत्रमअन्तर्गत २ सय ४५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ । अब स्वयंसेविकाहरूले आफ्नो वरपर रहेका सबै गर्भवती र सुत्केरी महिलाहरूको रेकर्ड मोबाइलमा राख्छन् । त्यसको जानकारी मेडिकमा पठाउँछन् ।


मेडिकले महिला स्वास्थ्य स्वयंसेविकालाई गर्भवती जाँच गराउने र सुत्केरी हुने समयभन्दा १५ दिन अगाडि सूचित गर्न पहिलो पटक एसएमएसमार्फत सन्देश पठाउँछ । स्वयंसेविकाले गर्भवती महिलाको घरमा पुगेर गर्भ जाँच गराउने मितिबारे बताउँछिन् । गर्भवती महिलालाई भेट गरेको जानकारी स्वयंसेविकाले मेडिकलाई एसएमएसमार्फत गराउँछिन् ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?