कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

माछा मार्ने हात अटो रिक्सातिर

रमेशकुमार पौडेल

चितवन — भरत बोटे माछा मार्न सिपालु छन् । बाबु बाजेले माछा मार्दै आए । उनले यो पेसा च्याट्टै छाड्न सकेनन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा छ उनको घर । आडैमा राप्ती नदी छ । राप्ती पारी चितवन निकुञ्ज पर्छ । राप्ती आडमा पुस्तौंदेखि बोटे समुदाय बस्दै आएको छ ।

माछा मार्ने हात अटो रिक्सातिर

निकुञ्ज स्थापना भएपछि परम्परागत पेसा सिस्नो टिप्ने र माछा मार्ने काममा कडाइ हुन थाल्यो । ‘निकुञ्जले कडाइ गर्दै लगेपछि माछा मारेर मात्रै परिवार पाल्न गाह्रो भयो । ज्याला मजदुरी पनि गर्नु पर्छ,’ २६ वर्षका भरतले भने । बुधबार भने भरत खुसी देखिन्थे । दुई चार पैसा कमाउनका लागि माछा नै मार्नुपर्ने बाध्यताबाट उनले छुटकारा पाउँदै थिए । अचेल निकै चल्तीमा रहेको सवारी साधन तीन पाङ्ग्रे अटो रिक्सा उनले प्राप्त गरे ।


साढे पाँच लाख रुपैयाँ पर्ने अटो रिक्सा किन्ने पुँजी उनीसँग थिएन । पैसा नभए पनि रिक्सा कुदाउने अवसर निकुञ्जले नै जुराइ दियो । बोटे समुदाय निकुञ्जसँग जोडिएको चितवनको रिउ, राप्ती नदी किनारमा बस्दै आएको छ । निउरो, जलुको जस्तो जंगली साग टिप्न निकुञ्जको नियमले मिल्दैन । खोलाका माछाहरू पनि निश्च्ति सर्तहरू पालना गरेर मात्रै मार्न पाइने नियम छ ।


नियम माने गुजारा नचल्ने, नियम मिचे निकुञ्जले समाउने अवस्था छ । निकुञ्जले सिमान्तकृत समुदायलाई समस्यामा पारेको गुनासो आउन गरेको छ । आर्थिक रूपमा विपन्न अति सिमान्तकृत वर्गमा पर्ने आदिवासी बोटे समुदायका लागि चितवन निकुञ्जले पहिलो पटक गतिलो कार्यक्रम ल्याएको नेपाल बोटे समाज चितवनका अध्यक्ष मित्रलाल बोटेले बताए । भरतसहित प्रदिप, आइतराम, दिनेश र छेदु बोटेले अँटो रिक्सा पाएका छन् ।


पटिहानी मध्यवर्ती उपभोक्ता समितिले उनीहरूका लागि अटो रिक्साको प्रबन्ध गरेको हो । पैसा निकुञ्ज कार्यालयले दिएको हो । ‘निकुञ्ज आयोजनाअन्तर्गतको बजेटबाट विपन्नको आय आर्जनका लागि घुम्ती कोष सञ्चालन हुन्छ । त्यसैबाट रिक्सा किनेर बोटे युवाहरूलाई दिएको हो,’ निकुञ्जका सहायक संरक्षण अधिकृत लोकन्द्र अधिकारीले भने ।


एउटा अटोका लागि खरिद र अन्य प्रक्रियागत कामहरूका लागि पाँच लाख ५५ हजार रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष रविलाल लामिछानेले जानकारी दिए । अटो पाएका युवाहरूले किस्ताबन्दी रूपमा यो रकम फिर्ता गर्नुपर्छ ।


उनका अनुसार २४ महिनासम्म दिनको पाँच सय र त्यसपछि २० महिनाभित्र दिनको तीन सय २५ रुपैयाँका दरले रकम फिर्ता गर्नेछन् । त्यसपछि अटो उनीहरूकै हुनेछ । ‘अहिले अटोले निकै काम पाएको अवस्था छ । दिनमा १५ सय रुपैयाँमाथि कमाइ भइरहेको भन्ने जानकारीमा आधारमा यो कामका लागि युवाहरूलाई प्रोत्साहित गरेको हो,’ समितिका केन्द्रीय अध्यक्ष शंकर महतोले भने । पटिहानीमै बसोबस गर्ने बोटे समाजका चितवन अध्यक्ष मित्रलाल बोटेका अनुसार जिल्लाभर ११ हजारको हाराहारीमा बोटेहरू छन् । धेरैले परम्परागत माछा मार्ने काम र ज्यालामजदुरी गर्दछन् ।


‘पटिहानीमा मात्रै ९५ घर बोटेहरू बस्छन् । धेरैले उही माछा नै मार्ने हुन् । माछाले गुजरा चल्दैन अनि मजदुरी गर्छन् । अटो चलाउने युवा खोज्न हामीलाई साह्रै हम्मे पर्‍यो । गाउँमा अहिलेसम्म एकजना बोटे युवाले बोलेरो जिप र एकजनाले ट्रयाक्टर चलाउँदो रहेछ । अवस्था यस्तो छ,’ मित्रलालले भने । माछा कम हुँदै जाँदा बोटोलाई मात्रै अप्ठ्यारो परेको हैन माछा खाने जलचर गोहीलाई पनि संकट आएको छ ।


‘राप्ती मात्रै कति कुर्ने रोडतिर पनि लागून् भनेर धेरै युवालाई सम्झाउँदै गयौं । पाँचजना युवा तयार भए । अटोमा अरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ । यसले उनीहरूलाई नयाँ जमानाअनुसार कसरी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने ज्ञान पनि दिन्छ,’ पटिहानीकै बोटे समुदायकी अगुवा इन्दिरा बोटेले भनिन् । यस्तो कार्यक्रमले निकुञ्जबाट प्रभावित समुदायलाई उकास्ने र संरक्षणमा जोड्न मद्दत पुग्ने मध्यवर्तीका सचिव बोधराज सापकोटाले बताए ।

प्रकाशित : फाल्गुन २३, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?