सहारा सहकारी

रमेशकुमार पौडेल

चितवन — शकुन्तला गौतमलाई आठ वर्षअघि २० हजार रुपैयाँ आवश्यक पर्दा माग्न जाने ठाउँ थिएन । २०६६ सालमा भरतपुरको एउटा महिला सहकारीको सेयर सदस्य भएर बचत जम्मा गर्न सुरु गरेकी थिइन् । सहकारीबाटै पैसा निकालिन् । त्यो पैसा ६ महिनामा नै चुक्ता गरिन् । त्यसपछि पाँच वर्षअघि उनले अर्को २० हजार रुपैयाँ झिकिन् ।

यो पैसा घर खर्चका लागि थिएन । ‘मलाई कपडा सिलाउन आउँथ्यो । भरतपुर मालपोत चोकमा दुईवटा सिलाइ मेसिन राखेर टेलर सुरु गर्ने योजना बनाएँ । ४० हजार रुपैयाँ लाग्दो रहेछ । २० हजार मसँगै थियो । अरू सहकारीबाट झिकेँ,’ शकुन्तलाले भनिन् । त्यसको एक वर्षपछि सहकारीबाट उनले थप चार लाख रुपैयाँ ऋण झिकिन् । सिलाइ मेसिन ६ वटा राखिन् । कपडा पसल पनि थपिन् ।


त्यो बेलाको ऋण सबै चुक्ता गरेर गत वर्ष फेरि चार लाख रुपैयाँ ऋण लगेर पसलको आकार बढाइन् । कुनै बेला आफूसँग पैसा हुँदैन थियो । अहिले उनले चार जना युवतीलाई रोजगार दिएकी छन् । पसलबाट दुई सय मिटर पर रहेको प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाको सदस्य बन्दा उद्यम गरेर बाँच्न सहज भएको शकुन्तला बताउँछिन् ।


महिलाले मात्रै सञ्चालन गरेको सहकारीको सदस्य हुँदा बचत गर्न र ऋण झिक्न सहज भएको अनुभव शकुन्तलाको छ । ‘पैसा भन्ने कुरो झट्ट माग्न अलि अप्ठ्यारै हुने । संस्थामा दिदीबहिनीहरू नै भएपछि पैसाको कुरा राख्न सजिलो भयो,’ शकुन्तलाले भनिन् । प्रभात महिला सहकारी ५२ साल माघमा स्थापना भएको थियो । ‘त्यो बेलामा महिलाहरूलाई राखेर सहकारी खोल्न सजिलो थिएन,’ संस्थापक शान्ति अधिकारीले भनिन् ।


माघ ६ गते बैठक बसेर सहकारी खोल्ने निर्णय भयो । २० दिनपछि दर्ता गर्न जाँदा २८ जना मात्रै आए । विभिन्न कालखण्डमा अनेक अप्ठ्याराहरू पार गर्दै संस्था अगाडि बढ्यो । अहिले सदस्य संख्या तीन हजार ९०२ पुगेको अधिकारीले जानकारी दिइन् । आवश्यक पर्दा सजिलै ऋण पाइने, नेतृत्व विकास र सामाजिक गतिविधिमा सरिक हुन पाइने भएका कारण सहकारीमा पछिल्लो समय महिला सहभागी हुने क्रम बढेको उनले बताइन् ।


भरतपुरको हिमाली महिला बचत तथा ऋण सहकारी संस्था चितवनकै पहिलो महिला सहकारी हो । ५० सालमा यो संस्था स्थापना हुँदा २५ जना सदस्य जुटाउन धौधौ भएको संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष शारदा खनालले बताइन् । ‘बचत र ऋणको कारोबार त गर्छौं नै यसका साथै महिला स्वास्थ्यमा पनि ध्यान दिन्छौं । महिलाको जल्दोबल्दो समस्या पाठेघरको मुखको क्यान्सर निवारणको काम पनि गर्‍यौं,’ खनालले भनिन् ।


मलिला सहकारीले महिलाको आर्थिक समस्या मात्रै ख्याल नगरेर स्वास्थ्य र नेतृत्व विकासमा पनि ध्यान दिएको केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) को सञ्चालकसमेत रहेकी प्रभातकी संस्थापक शान्ति अधिकारीको भनाइ छ । नेपालको संविधानले तीन खम्बे अर्थ नीति अंगिकार गरेको छ । निजी र सरकारीसँगै सहकारी पनि अर्थतन्त्रको प्रमुख खम्बा हो ।


सहकारी अभियान विसं. २०१३ सालमा चितवनबाटै सुरु भएको हो । अहिले चितवनमा मात्रै नभएर देशभर नै सहकारीमा आवद्ध हुनेमा महिलाको संख्या धेरै छ । चितवनमा ०७४ सालसम्म दर्ता भएका कुल ७०४ सहकारीमा दुई लाख ३५ हजार ५६६ सेयर सदस्य छन् । महिलाका मात्रै सय सहकारी छन् । कुल सदस्यमा महिला धेरै छन् । महिलाको संख्या एक लाख ३६ हजार ५९६ छ । पुरुषहरू ९८ हजार ९७० जना छन् । देशकै अवस्था यस्तै छ ।


सहकारी विभागका अनुसार आर्थिक वर्ष ०७३/७४ सम्म सहकारीमा आवद्ध सेयर सदस्यमध्ये महिला ३२ लाख १३ हजार ५१४ र पुरुष ३० लाख ९२ हजार ६७ छन् । ‘सहकारीको नेतृत्वमा महिला अझै पनि पर्याप्त आउन नसकेको अवस्था हो । तर आर्थिक क्रियाकलापमा सहभागी बनाउन र नेतृत्व क्षमता बढाउन सहकारीको भूमिका उल्लेख्य रहेको छ,’ नेफ्स्कुन सञ्चालक शान्ति अधिकारीले भनिन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?