कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सुनकोसीका एक्ला विद्यार्थी

राजकुमार कार्की

फिक्कल, सिन्धुली — फिक्कल गाउँपालिका— ४ खाङसाङस्थित सुनकोसी माविको कक्षा ९ मा अध्ययनरत पासाङ तामाङलाई घरमै बसेर पढेको जस्तो अनुभव हुन्छ । ऐच्छिक विषय गणित रोजेका उनी कक्षाका एक्ला छात्र हुन् ।

सुनकोसीका एक्ला विद्यार्थी

उनलाई अध्यापन गराउन शिक्षक सहेन्द्र यादव पुरापुर खटिन्छन् । छात्रा अञ्जना श्रेष्ठले पनि ऐच्छिक विषय गणित रोजेकी छन् । तामाङ सबै दिन उपस्थित हुन्छन् तर श्रेष्ठको उपस्थिति त्यति बाक्लो हुँदैन ।


विद्यालय प्रांगणमा अध्यापन गराइरहेका शिक्षक यादवले विद्यार्थी संख्या कम भएकाले जति जनाले जुन विषय रोज्यो त्यसमा पूरा समय दिएर पढाउनुपर्ने बताए । ट्युसन पढाउँदा १० जनाभन्दा बढी हुने तर विद्यालयमा एक्ला विद्यार्थीलाई कक्षामा होइन, चौरमा राखेर पढाउँछन् । त्यसो त विद्यार्थी संख्या नै कक्षा ९ मा १८ जना रहेको छ ।


विद्यार्थी कम भएर एक्लो पढ्न पाउँदा तामाङ भने दंग छन् । भन्छन्, ‘एक्लै पढ्दा नजानेको सबै सोध्न पाइन्छ, पूरा समय पढ्दा धेरै सिक्न पाइने रहेछ ।’ यसै शैक्षिक सत्रमा एसईई परीक्षामा सामेल हुने कक्षा १० मा भने उक्त माविमा ८ जना मात्र विद्यार्थी रहेका छन् ।

ती ८ जना विद्यार्थीलाई अध्यापन गराइरहेकी शिक्षिका कुन्ता दाहाल विद्यार्थी संख्या घट्दै गएकोमा चिन्तित छिन् । ‘हामीले पूरा समय पढाउने हो तर विद्यार्थी कम हुँदै जाँदा दिक्क लागेर आउँदो रहेछ,’ उनले भनिन् ।


८ जना विद्यार्थीमा पनि दुई छात्र र ६ जना छात्रा रहेका छन् । उनीहरूलाई समेत विद्यालयको प्रांगणमा नै राखेर अध्यापन गराउने गरेको तिनै शिक्षिका दाहालले सुनाइन् ।


भूकम्पपश्चात विद्यालय भवन चर्किएकाले कक्षाकोठाको समेत अभाव भएको छ । विद्यालयका अर्का शिक्षक दीपक बुढाथोकीका अनुसार सेवा क्षेत्र र जनसंख्या कम भएकाले विद्यार्थीको संख्या घट्दै गएको हो । हुनेखाने सबैले निजी विद्यालयमा छोराछोरी लैजाने भएकाले विद्यार्थी संख्या सरकारी विद्यालयमा कम हुनु उनी स्वाभाविक ठान्छन् । सुनकोसीपारि ओखलढुंगाका विद्यार्थीहरू नदी तर्ने समस्याले ल्याउन नसक्दासमेत विद्यार्थी कम हुनुको कारक मान्छन् उनी ।


पढाइको गुणस्तरका विषयमा अभिभावकलाई बुझाउन नसक्दा हुनेखाने सबैले निजी विद्यालय ताक्ने भएकाले समेत अब्बल विद्यार्थी कम भई एसईईको नतिजामा कमजोर आउने भएकाले आकर्षण घटेको विद्यालयका प्रअ केशव पहाडीको बुझाइ छ । विद्यालयका १ देखि १२ कक्षासम्ममा २ सय ७२ जना विद्यार्थी अध्ययनरत रहेको तथ्यांकमा देखिन्छ । तर विद्यार्थीको उपस्थिति भने आधाजसो मात्रै हुने गरेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७५ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?