१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

घरदैलोमै सेवा

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगर–८ मानेश्वाराकी ९२ वर्षकी सोममाई तामाङले घरकै अगाडि भत्ता पाएपछि खुबै हर्षित देखिन्थिन्  । शारीरिक अवस्थाको कारणले बजार झर्न नपाएकी उनले घरैअगाडि भत्ता लिएलगत्तै स्वास्थ्य शिविरमा जाँच गराएर औषधि लिइन्  ।

घरदैलोमै सेवा

‘बल्ल हाम्रो गाउँ पनि नगरपालिकामा परेको महसुस भएको छ, सबै सेवा दैलोमा नै पाइयो, ’ उनले भनिन् । दमको समस्या पिरोलिएकी उनले उपचार गराउन नसकेकोमा गाउँमै औषधि लिएपछि खुसी लागेको सुनाइन् ।


‘यो पैसाले चाहिने कुरा किन्छु, औषधि यही निःशुल्क पाइहाले,’ उनले भनिन् । बाह्रबिसे ८ का ९३ वर्ष टेकबहादुर भण्डारीले दमको चेकजाँच गराएलगत्तै उपप्रमुख सुशीला पाख्रिनबाट भत्ता लिए । ‘उपचार गराए औषधि पनि लिए, भत्ता पनि हातैमा दिनुभो धन्यवाद छ ।’ बुढेसकालमा घण्टौं हिँडेर बाह्रबिसे बजार धाइरहनुपर्नेमा घरैअगाडि भत्ता लिन पाएकोमा उनी पनि खुसी भएका थिए । ‘एकीकृत शिविरले अशक्तलाई ठूलो काम गर्‍यो,’ उनले भने । बाह्रबिसे–८ मानेश्वारा गाउँकी कमला विकले तरकारीसम्बन्धी बिउबिजन लिएर नगरको मोबाइल एपसम्बन्धी जानकारी लिइन् । ‘गाउँमा सरकार आइपुगेको अनुभूति भएको छ,’ उनले भनिन् ।


गाउँमा सेवा लिएर पुगेका बाह्रबिसे नगर प्रमुख निफुन्जो शेर्पा, उपप्रमुख, वडाध्यक्षसहित सेवारत कर्मचारीलाई स्थानीयले भव्य स्वागत गरे । दुर्गम वडापिच्छै लक्षित गरेर एकीकृत घुम्ती शिविर चलाइरहेको बाह्रबिसे नगरपालिका वडा ८ का अध्यक्ष सुरज लामाले बताए । ‘यसअघि घोर्थलीलगायतका गाउँमा पनि यस्तै एकीकृत शिविर चलाइएको थियो,’ उनले भने ।

बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार जनतालाई सहजै सेवा दिने अभियानअन्तर्गत बाह्रबिसे–८ मा एकीकृत घुम्ती शिविर चलाएको हो । शिविरअन्तर्गत ४ सयले कृषि, २ सय ४ ले पशु, ३० ले पञ्जीकरण र २० ले जेष्ठनागरिक परिचय पत्र बनाएका छन् । ‘अपांग परिचयपत्र मात्रै ७ जनाले बनाए,’ उनले भनिन् ।

वृद्ध र २ सय २० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उनले जनाइन् । ‘शिविरबाट २ सय ६० ले स्वास्थ्यसम्बन्धी सुविधा लिए,’ उनले भनिन् । आवास निर्माण सकेका ३ सय ५४ लाई सम्पन्न प्रमाणपत्र र ३ जनालाई न्यायिक परामर्श दिएको थियो । शिविरमा नगरसम्बन्धी सम्पूर्ण सेवा सूचना दिने मोबाइलसम्बन्धी ‘एप डाउनलोड’ बारे जानकारी दिइएको थियो ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?