राजमार्गका होटलमा अखाद्य

अधिकांश होटल रेस्टुरेन्टमा म्याद नाघेका पेय पदार्थ
मूल्यसूची लागू भएन 
हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गमा सञ्चालित अधिकांश होटल तथा रेस्टुरेन्टहरूमा मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने अखाद्य वस्तुहरूको प्रयोग र म्याद नाघेका पेय पदार्थहरू बेचबिखन हुने गरेको पाइएको छ । स्थानीय प्रशाासनको सहयोगमा खाद्य गुणस्तर तथा नापतौल विभागको नुवाकोट स्थित डिभिजन कार्यालयले नौबिसे, खानीखोला, सिक्रेखोलाका एक दर्जन होटल तथा रेस्टुरेन्टहरूमा गरिएको अनुगमन गरेको थियो ।

खाद्य गुणस्तर विभागको सहयोगमा धादिङको स्थानीय प्रशासनद्वारा पृथ्वीराजमार्गका नौबिसे, खानीखोला क्षेत्रका होटल तथा रेन्टुरेन्टमा बुधबार अनुगमन गरिंदै । तस्बिर : हरिहरसिंह/कान्तिपुर

अधिकांश होटल तथा रेस्टुरेन्टहरूका नास्तामा प्रतिबन्धित रंग र म्याद नाघेका पेय पदार्थहरू छ्यापछ्याप्ती भेटिएको थियो ।
अनुगमन समितिले सिक्रेखोलास्थित हाइवे प्वाइन्ट रेस्टुरेन्टका सञ्चालक नुवाकोट निवासी दीपवीर पनेरुलाई साविक मूल्यभन्दा चर्को मूल्यमा बेचेको आरोपमा नियन्त्रणमा लिएको छ ।

Citizen


यस्ता रेस्टुरेन्टहरूले लेज, कुरकुरेलगायत पेय पदार्थहरू र रेडिमेड जंकफुडहरू उल्लेखित मूल्यमै बेच्नुपर्नेमा ४० देखि ५० प्रतिशत मूल्य वृद्धि गरी बेच्दै आइरहेका छन् । यस्ता पसलहरूमा ४० रुपैयाँ पर्ने आलु चिप्स ६० रुपैयाँ, ३२ रुपैयाँ पर्ने कोक, पेप्सी, फेन्टा ४५ रुपैयाँ, उसिनेको अन्डा २५ रुपैयाँ, एउटा समोसा २५ रुपैयाँ, एक दुना चाउचाउ तथा आलु ६० रुपैयाँमा बेच्दै आएका छन् ।

काठमाडौंबाट बाहिरिने र बाहिर जिल्लाबाट राजधानी आउने राक्रि सेवाका बसहरूलाई लक्षित गरी नौबिसे, सित्रेखोला, खानीखोला, बीसकिलो, धार्के, मलेखु, शीतलबजार, सलाङघाटमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूले यात्रुहरूसँग चर्को मूल्य असुल्ने गरेको, गुणस्तरहीन खाना तथा नास्ता दिने गरेको आरोप लाग्दै आएको छ ।

सार्वजनिक सवारीसाधनका यात्रुहरूले खाना र नास्ता खाने पृथ्वीराजमार्गस्थित होटलमा मूल्य एकरूपता गर्ने स्थानीय प्रशासनको प्रयास बिफल भएको छ । राजमार्गका खाना र नास्ता दिने निश्चित होटलहरूले यात्रुहरू चरम रूपमा निरन्तर ठगी गर्ने गरेको
आरोप बारम्बार लागे पनि कारबाही हुन सकेको छैन ।

यसअघि स्थानीय प्रशासनको अगुवाइमा यदाकदा बजार तथा होटलहरूको मूल्य तथा गुणस्तर अनुगमन हुने गरे पनि स्थानीय निकायको निर्वाचनपछि होटल र बजारको अनुगमन हुनै छोडेको छ । ‘दसैंताका अनुगमन गरेजस्तो हुन्छ । अरू समयमा अनुगमन गर्ने निकाय चुपचाप बस्छन्,’ नागरिक समाजका अगुवा सीतारामप्रसाद बर्माले बताए । स्थानीय निकायको निर्वाचनपछि अनुगमन गर्दै आएको स्थानीय प्रशासनले ‘सबै अनुगमन र आवश्यक कारबाहीको सिफारिस गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएकोले स्थानीय सरकार जिम्मेवार हुनुपर्ने’ अनुगमनमा खटिएका सहायक प्रजिअ धोलकराज ढकालले बताए ।

पृथ्वीराजमार्गमा १६ सयभन्दा बढी साना ठूला होटल रेस्टुरेन्टहरू छन् । पृथ्वीराजमार्गको ८६ किलोमिटर दूरी क्षेत्रको धादिङ खण्ड जोगीमाराको मौवा खोलादेखि नौबिसेको झ्याप्ले खोलासम्म पर्यटकीय स्तरका १ दर्जन, माइक्रो बस रोक्ने २ दर्जन र लामो दूरीका २ दर्जन होटल छन् ।

जिल्ला होटल व्यवसायी संघमा भने ६ सय पनि आबद्ध छैनन् । ‘हामी हाम्रो संगठनमा आबद्ध होटल व्यवसायीहरूसँग मूल्य र गुणस्तरबारे निर्धारण गरी एकरूपता ल्याउन सक्छौं । संगठनमा आबद्ध नभएका, नयाँ र पटके व्यवसायीहरूले ग्राहकहरूलाई मनपरी रूपले असुल्ने गरेको बारे स्थानीय प्रशाासनलाई पनि गुनासो गरेका हौं । कुनै सुनुवाइ भएन,’ संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । संघले स्थानीय प्रशाासन र जिल्ला उद्योग वाणिज्य संघसँग छलफल गरी निर्धारण गरेको मूल्य सूची र अहिले प्रचलित मूल्यमा धेरै अन्तर छ ।

‘राजमार्गमा यात्रा गर्ने यात्रुहरूले हरेक दिन होटलहरूमा आफू ठगिएको कुरा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्छन् तर अनुगमन फितलो र कारबाही गर्ने प्रक्रियामै नजाने भएका कारण मनपरी मूल्य भएको हुन सक्छ,’ अनुगमनमा खटिएका खाद्य नियन्त्रक नवराज श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार सबै रेस्टुरेन्ट तथा होटलहरूमा पकाउने माछा, पकौडालगायतका खाद्यवस्तुमा अखाद्य रंगको प्रयोग गरिएको पाइयो । सार्वजनिक सवारीसाधनका मालिकहरूलाई आफ्नो होटल अगाडि बस रोक्न होटल सञ्चालकहरूले १ देखि डेढ लाखसम्म रकम अग्रिम पेस्की बुझाएका हुन्छन् । बस मालिककै निर्देशनअनुसार चालकहरूले पनि होटल अगाडि बस रोकेबापत मासिक ५ देखि ८ हजारसम्म कमिसन होटलहरूबाट असुल्ने गर्छन् । सवारीसाधनका स्टाफहरूलाई मीठो र रोजेअनुसारको खानपिन व्यवस्था निःशुल्क नै हुन्छ ।

‘धेरै गुनासो आएका, गैरकानुनी रूपले दर्ता नगरी सञ्चालनमा आएका, सार्वजनिक जग्गा मिचेर सञ्चालनमा आएका, बढी मूल्य लिएर बेच्ने होटल र रेस्टुरेन्टहरूलाई सुधार गर्न हामीले मौखिक र लिखितनिर्देशन दिएका छौं, अटेर गरे कारबाही प्रक्रिया अगाडि बढाउँछौं,’ सर्वाधिक होटलहरू रहेका धुनीबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वप्रमुख आयुक्तको नाममा बक्यौता

कान्तिपुर संवाददाता

काभ्रे — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतको नाममा जिल्ला सहकारी संघमा बक्यौता देखिएको छ । संघका पूर्व व्यवस्थापक रहेका बस्नेतसँग ३ हजार १ सय ७३ रुपैयाँ पाउनुपर्ने हिसाब भन्दै लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । 

साझा संस्थाको रूपमा स्थापना भएको जिल्ला सहकारी संघमा सहकारी इन्स्पेक्टर पदका सरकारी कर्मचारीले नै संघको व्यवस्थापन र प्रशासन चलाउने गर्थे । ‘सहकारी इन्स्पेक्टरको रूपमा बस्नेत संघमा कार्यरत हुनुहुन्थ्यो,’ संघका पूर्व अध्यक्ष कुलचन्द्र अधिकारीले भने, ‘अनियमितता गरेको पैसा हैन होला, केही गर्दा उहाँको नाममा रकम बाँकी रहेको हुन सक्छ ।’

संघका पूर्वअध्यक्ष सोमप्रसाद हुमागाँईले बस्नेतको घर ठेगाना नखुलेकोले बक्यौता उठाउनका लागि पत्र लेख्न नसकिएको बताए । ‘उहाँको घर ठेगाना नै पत्ता लागेन । सोही कारण पत्र पठाउन सकिएन,’ हुमागाँईले भने, ‘ती सबै बेरुजु भएका पैसा हुन्, मेरो कार्यकालमा पहल गर्दा केही रकम उठेको पनि थियो, बाँकी पैसा उठाउन सकिएन ।’

संघका पूर्वअध्यक्ष अधिकारीको नाममा पनि ६९ सय रकम बक्यौता छ । राष्ट्रिय सहकारी बैंक लेखा समितिका पूर्व संयोजकसमेत रहेका अधिकारीले के आधारमा बक्यौता रहेको जानकारी नभएको बताए । ‘सहकारी संघ काभ्रेको लागि ठूलो योगदान गरेको छु, के आधारमा बक्यौता रह्यो थाहा भएन,’ अधिकारीले दाबी गरे, ‘सहकारी संघले बरु हामीलाई दिनुपर्नेछ, तालिम, गोष्ठीका धेरै पैसा सहकारी संघलाई छोडेको छु ।’

जिल्ला सहकारी संघको पछिल्लो लेखा परीक्षण समावेश भएको वार्षिक प्रगति प्रतिवेदनमा १५ लाख १८ हजार २ सय ८८ रुपैयाँ ‘विभिन्न पार्टीसँग पाउनुपर्ने हिसाब’ उल्लेख छ । कुनै समय मल, बीउ, दाना, खाद्यान, पेट्रोलियम पदार्थसमेतको कारोबार गर्दै आएको संघका पूर्व कर्मचारी, सरकारी कार्यालय, संस्थान र बिक्रेताहरूसँग पैसा उठाउन बाँकी रहेको छ ।

प्रतिवेदनअनुसार, कृषि सामग्री संस्थानको अञ्चल कार्यालयले ३३ हजार ९ सय ८८, कृषि विकास बैंकले २३ हजार ४ सय ७१, नेपाल दूरसञ्चार संस्थानले ५५ सय, जिल्ला प्रशासन कार्यालयले ५ हजार, नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको ४ हजार १६, नेपाल आयल निगमले २ हजार र नेसनल ट्रेडिङ लिमिटेडले १ हजार रुपैयाँ तिर्न बाँकी भएको प्रतिवेदनमा उल्लेख छ ।

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रथम उपाध्यक्ष रहेका इन्द्रप्रसाद अधिकारीको नाममा पनि २० हजार १ सय ८६ रुपैयाँ बक्यौता देखिएको छ । जिल्ला संघका पूर्वव्यवस्थापक रहेका उनले सञ्चालकले सामान लगेर पैसा नतिरेपछि आफ्नो नाममा बक्यौता राखिदिएको दाबी गरे । ‘संघले व्यापारिक कारोबार गर्दै आएकोमा सामान नबिकेपछि सञ्चालक सोमप्रसाद दाहाल (भीमसेन) र उनको संस्थाले पैसा तिरेन, जागिर छोड्ने बेलासम्म नतिरेपछि मेरो नाममा बक्यौता देखाइयो,’ अधिकारीले भने, ‘बक्यौताको बारे मसँग कुनै छलफल, सोधपुछ केही भएको छैन, अनियमितता नगरेकोले शिर ठाडो पारेर कुरा गर्न सक्छु ।’
२० वर्षअघि देखिको हिसाब प्रत्येक वर्ष लेखा परीक्षण प्रतिवेदनमा पाउनुपर्ने भन्दै सर्दै आए पनि जिल्ला सहकारी संघसँग आवश्यक कागजपत्र भने छैन । सम्बद्ध स्रोतका अनुसार, २०३९–४० सालमा जिल्ला सहकारी संघमा आगलागी भएको भन्दै ती बिलभर्पाइहरू नष्ट गरिएका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्