२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हराउनेमा महिला र बालबालिका बढी

प्रताप विष्ट

(हेटौंडा) — मकवानपुरको सुदूरपूर्व बकैया गाउँपालिका १ धियालकी विवाहित २४ वर्षीया शान्ति लामा र बाग्मती गाउँपालिका २ की जुना थिङ घरबाट हेटौंडा घुम्न आएको ३५ दिन भयो । अहिलेसम्म उनीहरू घर फर्केका छैनन् । माघ २५ गते उनीहरू घरबाट निस्केका थिए । दुवैको चार वर्ष पुग्दै गरेको एक/एक जना छोरी छन् ।

हराउनेमा महिला र बालबालिका बढी

लामा र थिङले घरमा बच्चा छाडेर बेपत्ता भएका छन् । लामा र थिङ नातेदार पनि हुन् । उनीहरूका पति रोजगारीका लागि मलेसिया गएको दुई वर्ष बितिसक्यो । बुहारीहरू घर फर्केनन् भनेर दुवैको ससुराले जिल्ला प्रहरी कार्यालय हेटौंडाको महिला सेलमा दुई साताअघि निवेदन दिएका छन् ।


बकैया र बाग्मती गाउँपालिकाको मात्र होइन, भीमफेदी भैंसेकी २४ वर्षीया विवाहित सृजना विक पनि बेपत्ता भएको दुई महिना भइसक्यो । उनको पतिले अहिलेसम्म फेला पार्न सकेका छैनन् । प्रहरीलाई खोजबिन गरिदिन पनि निवेदन दिएका छन् । पति सुमन विक विदेशबाट फर्केको दिनदेखि पत्नीको खोजबिनमा जुटिरहेका छन् । मलेसियाबाट पति विक काठमाडौं ओर्लेकै दिनदेखि सृजना घरबाट बेपत्ता भएकी हुन । घरका सासुससुरालाई काठमाडौंमा पति लिन जानको लागेको भनेर उनी घरबाट निस्केकी थिइन् । उनी पतिलाई स्वागत गर्न पनि पुगिनन् र घर पनि फर्किनन् । २ र ४ वर्षका दुई छोरालाई छाडेर उनी बेपत्ता भएकी हुन् । पतिले विदेशबाट पठाएको सबै पैसा कुम्ल्याएर उनी बेपत्ता भएकी हुन् ।


मकवानपुरकै बसामाडीकी १९ वर्षीया सुनीता घिमिरे विदेश जान्छु भनेर हिँडेको ५ महिना भइसकेको छ । ‘विदेशमा गएर हराएको हो की, अन्त कतै गएको हो अहिलेसम्म अत्तोपत्तो छैन,’ बाबु दुर्गाबहादुर घिमिरेले भने । छोरीको खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौंडामा निवेदन दिएका छन् । वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुर गढी सुकौराका लक्ष्मण भ्लोनको पनि पत्नी तीन साताअघि घरबाट बेपत्ता भएकी छन् । उनका ससुराले जिल्ला प्रहरी कार्यालय हेटौंडामा खोजबिन गरिदिन निवेदन दिएका छन् ।


फागुन महिनामा विवाहित १३ जनासहित १५ जना महिला बेपत्ता भए । यसैगरी, मनहरी गाउँपालिका ४ का २ बालक र एक बालिका माघ १५ गतेदेखि हराएका छन् । घरबाट हेटौंडा बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन् । अभिभावकले छोराछोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएका छन् । फागुन महिना मात्र ५ बालिकासहित ७ जना बालबालिका हराएको महिला सेलले जनाएको छ । चालू आवको ८ महिनामा मकवानपुरका ४५ जना अविवाहितसहित १ सय ६२ जना महिला हराएका छन भने ३३ जना बालिकासहित ३९ जना बालबालिका बेपत्ता छन् । हराएकामध्ये ८२ जना महिला र २८ जना बालबालिका फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका महिला सेल प्रमुख प्रहरी निरीक्षक चन्द्रनारायण त्रिपाठीले बताए । चालू आवको ८ महिनामा महिला र बालकालिका गरेर २ सय जना बेपत्ता भएका थिए । तीमध्ये ९१ जना फेला परेका छैनन् ।


‘महिला र बालकालिक बेपक्ता हुने त्रम बढ्दो छ,’ बालकालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबालिकालाई कता लगेर बेपत्ता पार्छन्, पत्तो लगाउन मुस्किल परेको छ । ‘प्रहरी सूचीमा बेपत्ता भनिएकाहरू घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सूची धेरै देखिएको हो,’ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भने । मकवानपुरबाट बेपत्ता अधिकांश महिला र बालकालिकाहरू भारतको वेश्यालय र सर्कसमा बेचिने गरेका छन् । केही पतिलाई छाडेर दोस्रो विवाह गरेर सम्पर्कविहीन हुने गरेका छन् । ‘छोरी, बुहारी, नातिनातिनाहरू हराउँदा उनीहरूको आफन्तहरू रुँदै निवेदन दिन आउने गर्छन् तर पछि फ्लअप पनि गर्दैनन् र घर फर्केको पनि जानकारी नै दिँदैनन्,’ प्रहरी उपरीक्षक सिंहले भने, ‘फेला परेपछि परिवारले जानकारी नै नदिने रोगले गर्दा बेपत्ता महिला र बालकालिकाको संख्या धेरै देखिएको हो ।’


‘महिला र बालकालिकालाई विभिन्न प्रलोभनमा पारेर अवैधानिक ढंगले विदेशमा लगेर बिक्री गर्ने गरेका छन्,’ बालकालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्प लाइनका प्रमुख झविन्द्र ज्ञवालीले भने, ‘पैसाको लोभमा परेर महिला र बालकालिकाहरू दलालहरूको हातमा पर्ने गरेका छन् ।’ वैदेशिक रोजगारी र बहुविवाहले महिला र बालकालिका हराउने गरेको उनले बताए ।

प्रकाशित : चैत्र १, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?