३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जहाँ तामाङ भाषा मात्रै बोलिन्छ

अनिश तिवारी

(सिन्धुपाल्चोक) — हेलम्बु गाउँपालिका ५ स्थित माथिल्लो गाउँ छाजोगाङमा तामाङ भाषा मात्र बोलिन्छ । तामाङ समुदायको बाहुल्य रहेको बस्ती ‘छाजोगाङ’ को अर्थ नै हो, प्रकृतिमय डाँडा । पुर्ख्यौली संस्कृति र मान्यता जोगाउन छाजोगाङमा तामाङ भाषा मात्रै बोल्ने गरिएको हो । 

जहाँ तामाङ भाषा मात्रै बोलिन्छ

‘यो पुर्ख्यौली तामाङ परम्परा हो, भाषा नरहे हाम्रो अस्तित्व रहन्नजस्तो लाग्छ, त्यसैले यसलाई दैनिकी बनाइसकेका छौं,’ हेलम्बु ५ का ७० वर्षीय लालबहादुर तामाङले भने । यहाँको हरेक घरअगाडि बौद्ध परम्पराको ध्वजा ‘दर्जो’ झण्डा, पूजा कक्षमा कुलदेवता ‘लत्यान्जे’ लाई पुज्छन् । बोल्दा पवित्र होइने विश्वासमा आफ्नै खास भाषा प्रयोग गर्ने तामाङ परिवारले ७ पुस्ताको पुर्खा र नौ थरीका देवतालाई खुब मान्ने उनले सुनाए ।


छाजोगाङमा आउने र जाने हरेक पाहुनलाई शुभम् ‘ज्यावा मुला’ भन्दै दोसल्ला र मालाले तामाङ भाषामै सम्मान र बिदा गर्ने गरिएको छ । ‘तामाङ भाषा बोल्नुपर्छ भनेर बाध्यताकारी नियम त छैन तर तामाङ सम्प्रदायको यो पुर्ख्यौली मान्यतालाई पूरा गाउँलेले मानेका छौं,’ उनले भने ।


२०५० सालमा नेपाली बोल्नुपर्ला भनेर बाहिरबाट आएको मान्छे देख्दा लुक्ने गरेको सम्झँदा ९६ वर्षकी ठूली तामाङ दंग पर्छिन् । ‘उबेला त झन् बाहिरबाट आउनेहरूसँग नेपालीमा या अन्य भाषामा बोल्नुपर्छ भनेर भाग्थ्यौ, बोल्नुनै परेदेखि तामाङ नभए बोल्दैनथ्यौं,’ चिटिक्क परेको छाजोगाङको बस्ती देखाउँदै उनले भनिन् । उनका अनुसार मण्डल बनाएर धामीझाँक्री तामाङ भाषाकै मन्त्रले कुलदेव ‘लत्यान्जे’, गुरु रेन्पोछे, बुद्धदेखि हिमालका देवता महादेवलाई पुकार्छन् । भूकम्प आउँदा सबै देवतालाई पुजेको सुनाउँदै उनले भनिन्, ‘केही विपत् आइलागे कुलदेव लत्यान्जे, चुनिङ, सोल्फुजीलगायतका ९ वटा देवतालाई एकैसाथ बोलाइन्छ, त्यसपछि हाम्रो सबै समस्या टर्छ ।’ छाजोगाङबाहेक वरिपरि खरबुजे, सिरिसे गरी उच्च भेगका गाउँभर दुई सय तामाङ परिवारको बसोबास छ । भूकम्पको चार वर्षलगत्तै अधिकांशले रंगीन जस्तापाता प्रयोग गरेर भूकम्पप्रतिरोधी ठडयाइएका घर तामाङ संस्कृतिअनुरूप सिँगारेका छन् । तामाङ समुदायको मूल थलो हुनाले ठेट तामाङ भाषा बोलिने प्रचलन पुर्ख्यौली रूपमा सर्दै आइरहेको हेलम्बु गाउँपालिका ५ का अध्यक्ष हर्कबहादुर तामाङले बताए । ‘सडक सञ्जाल जोडिएपछि मात्रै केहीले नेपाली, अंग्रेजी भाषा पनि प्रयोग गर्न थाले, नत्र त पहिले अरू भाषा बुझ्ने मान्छे पाउनै मुस्किल हुन्थ्यो,’ वडाध्यक्ष तामाङले भने ।


१६ वर्षअघिसम्म तामाङबाहेक अन्य भाषा नबुझ्ने समस्या गाउँमा रहने गरेको उनले प्रस्ट्याए । ‘अब भने त्यस्तो छैन, तर धार्मिक मान्यतालाई मान्ने भएकाले तामाङ भाषा बोल्ने गरिन्छ,’ उनले भने ।


ह्योल्मो क्षेत्रको रूपमा चिनिएको हेलम्बुको इचोक, महाकाल, पाल्चोकसम्म तामाङबस्ती फैलिएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुर, सिम्पालकाभ्रे, बाह्रबिसे नगरपालिकाको घुम्थाङ, कर्थली, घोर्थलीजस्ता उच्च हिमाली

गाउँमा तामाङ जातिको बाक्लो बस्ती पाइन्छ ।

प्रकाशित : चैत्र १, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?