वरिष्ठ प्राध्यापक बाडुलाई मानार्थ विद्यावारिधि

काभ्रे — काठमाडौं विश्वविद्यालय (केयू) ले स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजीका वरिष्ठ प्राध्यापक जँ क्लड बाडुलाई मानार्थ विधावारिधि प्रदान गरेको छ । शुक्रबार धुलिखेलस्थित विश्वविद्यालयमा भएको विशेष दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको तीब्रतर विकासका लागि सरकार प्रयत्नशील रहेको बताए । स्विजरल्यान्ड र नेपाल धेरै अर्थमा समान भएको भन्दै उनले नेपाल पछाडि पर्नुको कारण खोजिनुपर्ने बताए । उनले विज्ञान र प्रबिधिको क्षेत्रमा विकास नभएको भए आफ्नो १२ औ‌ं पुन्यतिथि हुने तर्क गर्दा हलमा हासो छुटेको थियाे ।


केयूले मानार्थ विधावारिधि प्रदान गरेको यो चौथो पटक हो । सन् २०११ मा पहिलो पटक संस्कृतविद् तथा लेखक सत्यमोहन जोशीलाई सम्मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । सन् २०११ मै भारतका विद्धान तथा राजनीतिज्ञ डा. करण सिंहलाई र भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई प्रदान गरिएको थियो ।


बाडु प्रसिद्ध सिभिल इञ्जिनियर हुन् । बाडुले सन् २००३ देखि नेपाल र काठमाडौ विश्वविद्यालयलाई यान्त्रिक, भौतिक, आर्थिक तथा मानव स‌ंशाधन क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको केयूका सूचना संयोजक हेमराज काफ्लेले जानकारी दिए । बायोटेक्नोलोजी, जियोम्याटिक्स इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ जस्ता कार्यक्रममा विशेष योगदान पुर्‍याएको विश्वविद्यालयले जनाएको छ ।


सन् १९९२ देखि २००० सम्म स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजीको अध्यक्ष रहँदा बाडुले प्राज्ञिक र औद्योगिक क्षेत्रबीच उच्च सहकार्यको परम्परा आरम्भ गरेका थिए । एकैपटक १ सय ३९ जना औद्याेगिक क्षेत्रका विशेषज्ञहरुलाई प्राध्यापन पेशामा स‌ंलग्न गराएका थिए ।

प्रकाशित : चैत्र १, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?