कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१० शाखा एउटै कोठामा

धादिङ — खनियाँबास गाउँपालिका कार्यालय । सानो कोठा, सेवाग्राहीको भीड । एउटा सानो सोफा, २ कुर्सी, एकातर्फ गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र अर्कातर्फ उपाध्यक्ष योमाया तामाङ । भेटघाटका लागि कोही आए उभिनुपर्ने बाध्यता । वडाध्यक्षहरू सोफामा बस्दा योजनाबारे छलफलका लागि आएका सेवाग्राही उठेरै आफ्ना कुरा राख्नुपर्ने अवस्था । न्यायिक समितिको छलफल उपाध्यक्षले बाहिर चौतारीमा गराउँछिन् ।

१० शाखा एउटै कोठामा

गाउँपालिकामा कार्यपालिका बैठक पनि चौतारीमै बस्नुपर्ने अवस्था छ । दार्खा, झार्लाङ र सत्यदेवी गाविसलाई समायोजन गरी ५ वडा गराइएको खनियाँबासको स्थानीय सदरमुकाम टुंगो नलाग्दा भवन निर्माण पनि भएको छैन ।


साविक दार्खा गाविसको ४ कोठे भवनमा सञ्चालनमा रहेको गाउॅपालिका कार्यालयअन्तर्गतका १० आन्तरिक शाखाहरू एउटै कोठामा कोचिएका छन् । ‘एउटा शाखाको काम गर्न सेवाग्राही आउँदा अर्कोमा कामै नहुने अवस्था आउँछ,’ पञ्जीकरण शाखा सम्हालेका नायब सुब्बा दुर्गा शाही ठकुरीले बताए । ठकुरीका अनुसार सबैभन्दा ठूलो हल यही हाम्रो कोठा छ, गाउॅ कार्यपालिकाको नियमित वैठकमा सबै फाॅटका कर्मचारी नजिकैको चौतारीमा गर्ने उनले सुनाए ।


‘पानी परेका दिनमा बैठक वा सेवा रोक्नुपर्ने हुन्छ,’ उनले सुनाए । पञ्जीकरण, प्रशासन, योजना शाखा, प्राविधिक, स्थानीयस्तरमा विकास साझेदार संस्थालगायतका १० शाखाको दैनिक कार्य एउटै कोठाबाट सञ्चालन हुन्छ । टेबलै राख्ने स्थान नभएपछि कतिपय २ शाखा एउटै टेबलबाट पनि सञ्चालनमा छन् । पशु, शिक्षा, कृषिलगायत विषयगत शाखाहरू भने भूकम्पपछि निर्माण गरिएका अस्थायी टहराबाट सञ्चालित छन् ।


कार्यालय समयबाहेक कर्मचारीहरूलाई समय बिताउनसमेत कठिन हुने गरेको छ । गाउॅपालिका वरपर कर्मचारीहरू भाडामा बस्न उपयुक्त घरहरू पनि छैनन् । एउटै घरका ४ कोठामा १० कर्मचारी भाडामा बसेका छन् । ‘एउटै खाटमा २ देखि ३ जना सुत्ने गरेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत दिपेश बिडारीले भने ।


साविकका ३ गाविसका बीचमा पर्ने र अधिकांश जनतालाई सुविधा दिन पुग्ने गरी गाउॅपालिकाको स्थायी भवन निर्माण गर्ने योजनामा रहेको अध्यक्ष तामाङले बताए । ‘तर भवन निर्माण गर्ने स्थानको टुंगो लागेको छैन,’ उनले भने, ‘यसै आवमै उपयुक्त भवन निर्माणको थालनी गर्ने छौं ।’

प्रकाशित : चैत्र २, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?