२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

भँगेरीमा पार्क अलपत्र

टीकाप्रसाद भट्ट

रामेछाप — सहिद गंगालाल श्रेष्ठको आइतबार जन्मशताब्दी मनाइँदै छ । यो अवसरमा उनी जन्मेको स्थान भँगेरीको चर्चा हुने गरे पनि उक्त स्थानमा निर्माण गर्ने भनिएको पार्क भने दुई वर्षयता अलपत्र छ । 

गंगालाल र पुष्पलाल जन्मस्थान रामेछापको भँगेरीमा पुष्पलाल स्मृतिपार्क निर्माण गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारले दुई वर्षअघि निर्णय गरेको थियो । निर्णयमा उच्च प्राथमिकतामा परेको उक्त कार्य हालसम्म अघि बढेको छैन ।

पुष्पलाल जन्मेको क्षेत्रलाई समेटेर करिब ५० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया पूरा भइसक्दा सम्बन्धित जग्गाधनीलाई उपलब्ध गराउनुपर्ने मुआब्जाको रकम सरकारले नदिँदा सबै काम रोकिएका हुन् ।


पार्क निर्माणका लागि आवश्यक पर्ने जग्गा, उक्त स्थानमा रहेका घरगोठ र बोटबिरुवाको क्षतिपूर्तिबापत् मुआब्जा वितरण गर्न करिब ६ करोड रुपैयाँ आवश्यक पर्ने बजेट माग गरेको झन्डै १० महिना बितिसक्यो । बजेट हालसम्म जिल्लामा निकासा भएको छैन । मुआब्जाको रकम प्रमुख जिल्ला अधिकारीले वितरण गर्ने प्रावधान छ ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले चाँडोभन्दा चाँडो मुआब्जा रकम वितरण गर्न सके पार्कमा पूर्वाधारको काम अघि बढाउन सजिलो हुने बताए । स्थानीय बासिन्दाले पार्क निर्माणका लागि सहज रूपमा दिन मञ्जुर गरेको जग्गा सरकारले रोक्का राखेको छ । जग्गा रोक्का राख्दा स्थानीयले अंशबण्डा गर्न नपाएको, खरिदबिक्री बन्द भएको र बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण झिक्नसमेत नपाएको अवस्था छ ।


हाम्रो अधिग्रहण गर्ने भनिएको जग्गाको मूल्य चाडो नआउने हो भने, जग्गा फुकुवा गरिदिनुपर्छ, स्थानीय महेन्द्र श्रेष्ठ भन्छन्, ‘दुई वर्षदेखि झुलाएर राख्दा समस्या भएको छ । भूकम्पपछि भत्किएका घरहरूको पुनर्निर्माण कार्य स्थानीयले गर्न पाएका छैनन् । फलफूलका बिरुवा रोप्न र हुर्काउन पाएका छैनन्,’ श्रेष्ठ भन्छन्, ‘बेलामा पैसा दिएको भए अन्यत्र व्यवस्था भइसक्ने बेला भयो ।’


तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रामेछापमार्फत उक्त पार्कसम्बन्धी प्रक्रिया थालिएको थियो । हाल जिल्लाबाट उक्त कार्यालय खारेज भएको छ । कार्यालय खारेजीमा परेपछि ऊक्त कार्यत्रम प्रदेश सरकारलाई दिने संघले निर्णय गरेको थियो । पछि फेरि संघअन्तर्गत नै रहने गरी फर्काएको छ ।


विभागका सिनियर डिभिजनल इन्जिनियर सुमन शालिकेले पार्क निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि ऊक्त बजेटले कार्यत्रम अघि बढाउन कठिनाइ भएको बताए । निर्माणको कार्यका लागि राखिएको बजेट अन्य कार्यमा लगाउन मिल्दैन । जग्गा अधिग्रहण नै हुन नसकेको अवस्थामा उक्त बजेट फ्रिज हुने निश्चित छ । स्थानीयले जग्गाको पैसा नपाउँदासम्म पार्कका लागि उनीहरूको जग्गामा निर्माणका कार्य हुन नदिने जनाएका छन् ।


‘पुष्पलाल पार्क निर्माण भएपछि रामेछापको भँगेरीलाई राजनीतिक तीर्थस्थलको रूपमा विकास गर्न पाउने आशामा थियौं,’ स्थानीय नरेशबाबु श्रेष्ठले भने । श्रेष्ठका अनुसार रामेछापमा पुग्ने कम्युनिस्ट पार्टीका उच्च नेताहरूले पार्क निर्माणको विषयमा पटकपटक सम्बोधन गरे पनि काठमाडौं फर्केपछि बिर्सने गरेका छन् । जिल्ला तहका नेताहरूले पार्कसम्बन्धी कार्य अघि बढाउनका लागि सरकारमा दबाब पुर्‍याउन नसक्दा कामले गति लिन नसकेको हो ।


भँगेरीमा पुष्पकलालसँगै कांग्रेसका संस्थापक शीर्ष राजनीतिज्ञ स्वर्गीय बीपी कोइरालाको स्मृतिमा उनको जन्मथलो सिन्धुलीको दुम्जामा निर्माण गर्ने भनिएको पार्कसमेत अलपत्र नै छ । दुवै पार्क उस्तै समस्यामा जकडिएका छन् ।

प्रकाशित : चैत्र ३, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?