चार दिनमा २१ थान मुद्दा फर्छ्योट
रसुवा — रसुवा जिल्ला अदालतले चार दिनमा २१ थान मुद्दा फर्छ्योट गरेको छ । यो वर्षको सुरुको आठ महिनामा ३४ थान मुद्दा
फर्छ्योट गरेको छ । गत वर्षको जिम्मेवारी सरेको १९ र चालु आर्थिक वर्षको आठ महिनामा दर्ता भएका ५५ गरी ७४ वटा मुद्दामा अहिलेसम्म ३४ थान मुद्दा फर्छ्योट भएको अदालतका स्रेस्तेदार राजेन्द्र लुइँटेलले बताए ।
जिल्ला अदालत नवलपुरबाट भरखर सरुवा भई आएका न्यायाधीश पूर्णप्रसाद बाँस्तोलाले चार दिनमा २१ थान मुद्दा फर्छ्योट गरेका हुन् । सरुवा भई गत फागुन २६ गते रसुवा जिल्ला अदालतमा हाजिर हुन आइपुगेका थिए । ‘लगातार चार दिनमा २१ थान मुद्दा फर्छ्योट भयो,’ लुइँटेलले भने ।
चोरी, सम्बन्ध विच्छेद, कर्तव्य ज्यान, चेक अनादर, अंश भरपाई बदर, दोषी निर्णय दर्ता बदर लगायतका मुद्दा फर्छ्योट भएका छन् । अदालतमा आउने मुद्दामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् । चालु आवको ८ महिनामा अदालतमा २८ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । रसुवा जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् ।
अदालतमा सम्बन्धविच्छेद गर्न आउने अधिकांश पीडितहरू वैदेशिक रोजगारमा गएका तथा फर्किएका परिवारका छन् । मोबाइल इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगकै कारण छुट्टिने पनि बढेका छन् । भदौ १ गतेपछि लागू भएको मुलुकी देवानी तथा फौजदारी संहिताका कारण ८ जना पुरुष र १८ जना महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएका छन् ।
अदालतमा पर्ने मुद्दामध्ये करिब ३० प्रतिशत मुद्दा सम्बन्ध विच्छेदको पर्ने गरेको अदालतका स्रेस्तेदार लुइँटेलले बताए । ‘पछिल्लो समय सम्बन्धविच्छेद गर्न आउने बढेका छन्,’ उनले भने, ‘हामीले मेलमिलाप केन्द्रबाट मिलाउने प्रयास गरेका छौं ।’
प्रकाशित : चैत्र ४, २०७५ ०७:३०