२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

निकुञ्ज क्षेत्रका सीसी क्यामेरा थन्किए

जथाभावी गाडी कुदाउँदा वन्यजन्तु किचिए
रमेशकुमार पौडेल

चितवन — कात्तिक, मंसिर र माघमा गरी टिकौली जंगलको राजमार्ग क्षेत्रमा ३ वटा भाले चित्तल मरे । फागुनमा एउटा पोथी चित्तल मर्‍यो । चारवटै चित्तल गाडीको ठक्करले मरेका हुन् । कुनै पनि गाडीलाई प्रशासनले नियन्त्रणमा लिन सकेन । यसका साथै जंगलबीचमा गाडी रोकेर दिसापिसाब गर्ने र सडक किनारमा फोहोर फाल्ने क्रम बढेको छ ।

निकुञ्ज क्षेत्रका सीसी क्यामेरा थन्किए

पहिले १६ लाख खर्चिएर राखिएका सीसी क्यामेर बिग्रिएर थन्किएका छन् । गाडीको ठक्करले जनावरहरू मर्न र फोहोर बढ्न थालेपछि साढे दुई वर्षअघि ०७३ सालको असारमा गते चितवन राष्ट्रिय निकुञ्जको सक्रियतामा सीसी क्यामेराहरू जडान भएका थिए । विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रमको सहयोगमा १० वटा सीसी क्यामेरा जडान गरिएको जानकारी भरतपुरको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दिए ।


बरन्डाभार जंगल चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारतसँग जोड्ने जैविक मार्ग हो । यो मार्गको बीचबाट गएको छ पूर्वपश्चिम महेन्द्र राजमार्गको भरतपुर रत्ननगर खण्ड ।


भरतपुर गोन्द्रङदेखि रत्ननगरको टिकौलीसम्म सडक पार गर्दा गाडीको ठक्करले जंगली जनावर मात्रै मरेनन्, फोहोर फाल्ने समस्या पनि बढ्यो । यसलाई रोक्न राखिएको सीसी क्यामेरा बिग्रिएपछि जंगल क्षेत्र पुरानै अवस्थामा पुगेको छ ।


सडक पार गर्ने क्रममा गाडीको ठक्करले वर्षमा १५ को हाराहारीमा जंगली जनावरहरू मर्न थालेपछि यस्तो गरिएको थियो । ठाउँठाउँमा सीसी क्यामेरा राखेपछि ठक्कर दिएर भागे पनि त्यस्ता गाडी पत्ता लगाउन सजिलो भएको थियो । जंगलमा गाडी रोकेर बस्न पाइँदैन थियो । प्रतिघण्टा ४० किलो मिटरको रफतारमा मात्रै गाडी कुदाउन पाइन्थ्यो ।


‘यी नियम मिचेको फेला परेमा सीसी क्यामेरामा हेरेर बसेका कर्मचारीहरूले हामीलाई जानकारी गराउँथे । तत्काल कारबाही हुन्थ्यो,’ टिकौलीमा रहेको सशस्त्र प्रहरी वन रक्षक तालिम केन्द्रका प्रमुख धनबहादुर थापाले बताए । सीसी क्यामेराको मुख्य नियन्त्रण कक्ष टिकौलीको तालिम केन्द्रमा नै थियो । तर असोजमा रूखको हाँगो झरेर सीसी क्यामेराको तार चुडाएपछि निगरानी कार्य बन्द भएको छ ।


‘१० वटा राखे पनि एउटा क्यामेरा सुरुमै बिग्रेको थियो । नौवटाले जेन तेन काम गर्दै थिए । रूखको हाँगो झरेर तार चुँडेपछि सबै काम रोकियो,’ तालिम केन्द्रका प्रमुख थापाले भने । सीसी क्यामेरा विश्व वन्यजन्तु कोषले राखे पनि सञ्चालन र मर्मतका लागि थप बजेट नभएको उनले बताए । त्यसैले सीसी क्यामेरा चल्न नसकेको बारेमा राष्ट्रिय निकुञ्ज विभागलाई पत्र लेखेर पठाएको उनले बताए ।

‘अहिले पनि राजमार्ग क्षेत्रमा हामीले र चितवन निकुञ्जका सुरक्षाकर्मीले पालो मिलाएर गस्ती गरेका छन् । तर गस्ती गरेका बेलामा ठक्कर दिएको र गाडी रोकेर दिसापिसाब गरेको तथा फोहोर फालेको भेटिँदैन । अरू बेला नियमविपरीतका काम गरे नगरेको हेर्नेलाई सीसी क्यामेराले काम गरेको छैन,’ थापाले भने । टिकौली मध्यवर्ती सामुदायिक वनका पूर्वअध्यक्ष बुद्धिबहादुर विक समस्या दोहोरिएकोमा चिन्तित छन् ।


‘बाटो पार हुँदा ठक्करले जनावरहरू मर्नुका साथै फोहोरले पनि पिरोलेको थियो । महत्त्वपूर्ण जैविक मार्गमा फोहोर थुप्रँदा नकारात्मक असर परेको थियो । सीसी क्यामेरा राखौं भनेर हामीले निकै वर्षदेखि भन्दै आएको हो । तर राखेपछि प्रभावकारी रूपमा चलाउन खोजिएन, अहिले त बन्द नै भएछ,’ विश्वकर्माले भने ।


सीसी क्यामेरा सञ्चालनको जिम्मा समुदायलाई दिएको भए यस्तो नहुने उनले बताए । ‘सामुदायिक वनलाई जिम्मा दिऊँ । गस्ती पनि वन हेरालुहरूले नै गर्छन्, जरिवाना पनि उठाउँछन् । उठेको जरिवाना सीसी क्यामेराको मर्मत र सञ्चालनमा खर्च गरौं भनेर प्रस्ताव गरेको हो । तर लागू भएन,’ पूर्व अध्यक्ष विश्वकर्माले भने ।


जरिवना सरकारी राजस्वमा नै दाखिला गर्ने गरेर सुरक्षाकर्मीले गस्ती गर्न सुरु गरेको उनले बताए । सीसी क्यामेरा राम्रोसँग सञ्चालन हुँदा समस्या कम हुँदै गएका कारण फेरि पनि मर्मत गरेर चलाउने पहलमा लागेको सशस्त्र वन रक्षक तालिम केन्द्रका प्रमुख धनबहादुर थापाले बताए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?