भरलाग्दा छैनन् सडक

टीकाप्रसाद भट्ट

रामेछाप — बिनासर्भे डोजर अप्रेटरको भरमा खोलिएका रामेछापका ग्रामीण सडक भरलाग्दा छैनन् । ग्रेड नमिलाई खनिएका साँघुरो सडकमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

रामेछापका अधिकांश सडक प्राविधिक अध्ययनबिना डोजर अप्रेटरको भरमा खनिएका छन् । पकरवासको धुलाम्मे उकालो सडक गुड्दै गएको एक निजी सवारीसाधन । तस्बिर : टीकाप्रसाद/कान्तिपुर

‘जति विकास गरेका भए पनि सुरक्षित सडक बनाउन सकिएको छैन,’ मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले भने, ‘प्राविधिक नलगाई खनिएका सडक कति सुरक्षित होलान् ? । उनले ग्रामीण क्षेत्रका कतिपय सडक ३० देखि ४० प्रतिशतसम्म ग्रेड (उकालो) भएको खुलाए । त्यति मात्र हैन, प्राविधिक पक्षलाई ध्यान नदिई खनिएका कैयौं सडकले पुस्तौंदेखि बसोबास रहेका घर जोखिममा परेका छन् । सडकको पानीलाई व्यवस्थित नबनाउँदा केही गाउँमा पहिरो जोखिम छ । बस्नेत भन्छन्, ‘सडक त सुरक्षित भएनन् नै, विधिबमोजिमको काम नहुँदा बस्ती पनि जोखिममा पुगे ।’

Citizen

चाँडो सडक सुविधा पुग्ने गरी खनिएका त्यस्ता सडकहरूमध्ये केही सुधारका क्रममा छन् । लाखौं रुपैयाँ खर्चेर पहिले निर्माण भएका सडकलाई छोडेर अन्यत्रबाट फेरि सडक खन्नु पनि कानुनी र वातावरणका हिसाबले ठीक हैन । डडुवाका यमबहादुर घिसिङले भने, ‘दोहोरो खर्चभन्दा पनि पहिले नै विचार गरेर सडक खन्दा सबै प्रकारका जोखिम कम हुन्थे, तर त्यसो भएको छैन, हरेक स्थानमा पहिले सडक खोलियो, पछि त्यसले भएन भन्दै अर्को खोल्ने काम पनि हुँदै गयो ।’ घिसिङले थपे, ‘यसले एकातिर खर्च धेरै लाग्यो भने अर्कोतिर पहाड नै कुरूप हुने गरी छियाछिया देखियो ।’

सडक खोलेपछि साँघुरै किन नहोस्, यात्रुबाहक बस सञ्चालन गर्न स्थानीयले दबाब दिने गरेका छन् । साँघुरो र उकालो सडकमा जबरजस्ती यात्रुवाहक बस सञ्चालन गर्दा विगतमा कैयौं स्थानमा दुर्घटना भएका छन् । च्यास्कु, सैपु, दोरम्बा, भीरपानी, राकाथुम, गोठगाउँ, सुकाजोर, रामेछापजस्ता स्थानमा बस दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका छन् भने केही स्थानमा दुर्घटनाको सन्निकट पुगेर बचेका छन् ।

‘सडकै साँघुरो छ, जबरजस्ती गर्‍यो भने चढ्छ, नत्र पछाडि सर्दै बजारिने डर हुन्छ,’ सवारी चालक जीवन श्रेष्ठले भने, ‘सडक असजिलो छ भन्दा कसैले चासो दिँदैनन्, मान्छेलाई ज्यान माया मारेर भए पनि सुविधा बढी चाहिएको छ ।’ श्रेष्ठका अनुसार धुलेसडकमा थोरै पानी पर्ना साथै सवारीसाधन चलाउन सकिँदैन । उकालोमा चिप्लो भएपछि कसरी सवारी चलाउनु ? श्रेष्ठ प्रश्न गर्छन्, ‘बाटो फराकिलो भए पनि एकहद जाउँ भन्नु । धेरै स्थानमा त्यस्तो सजिलो सडकै छैन । पानी पर्‍यो कि जहाँको त्यही वस्नुपर्ने बाध्यता छ ।’

स्विस सरकारको सहयोगमा रामेछापमा सञ्चालित स्थानीय सडक सुधार कार्यक्रममा विगत २ वर्षअघि जिल्लाका अधिकांश सडकको सुधार गरेको थियो । हिउँद याममा मर्मतसम्भार गरिएका सडकमा वर्षामा सवारी सञ्चालन गर्न सहज भएको थियो । तर ऊक्त कार्यत्रम बाहिरिएपछि ग्रामीण सडक पहिलेकै अवस्थामा पुगे ।

अहिले स्थानीय सरकारले केही सडकलाई मर्मतमा चासो राखे पनि अधिकांश भगवान् भरोसामा चलेका छन् । जिल्लाका साविकका ५५ वटै गाविसमा सडक सञ्जाल विस्तार भएको छ । गुम्देलको उत्तरी हिमाली सीमा लाहाछेवरमा समेत सडक पुगेको छ । सडक चारैतिर पुगे पनि वर्षायाममा सहज यातायात सञ्चालन हुने सडक विरलै छन् ।

जिल्ला सदरमुकाम जोड्ने र मन्थलीदेखि रामेछाप पुग्ने सडकबाहेक अरु सबै सडक कच्ची छन् । प्रदेश सरकारले जिल्लामा यसै वर्ष स्थापना गरेको पूर्वाधार विकास कार्यालयले महत्त्वपूर्ण केही सडकको सुदृढीकरणका लागि बोलपत्र आहान गरेकोले अबको २ वर्षपछि केही थप सडकमा यातायात सहज बन्ने उक्त कार्यालयका प्रमुख जयराम श्रेष्ठ बताउँछन् । ‘हामीले २ वर्षभित्र जिल्लाका मेरुदण्ड सडकहरूको स्तरवृद्धि गर्ने योजनाका साथ काम अघि बढाएका छौं,’ श्रेष्ठले भने ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुर्गम गाउँमा बन्दै विद्यालय भवन

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको अत्यन्त दुर्गम राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडामा एक गैरसरकारी संस्थाले ५ वटा विद्यालय भवन पुनर्निर्माण गरेको छ । 

मकवानपुरको राक्सिराङ गाउँपालिका—८ महांकालस्थित जनज्योति प्राथमिक विद्यालयको पुनर्निर्माण गरिएको भवन । तस्बिर : प्रताप विष्ट/कान्तिपुर

भूकम्पले विद्यालय भवन भत्केपछि लिसा हिमालय जर्मनीको आर्थिक सहयोगमा दिगो विकासका लागि एकता नेपाल नामक गैरसरकारी संस्थाले पुनर्निर्माण गरेको हो । राक्सिराङस गाउँपालिका ८ महाकांलस्थित जनज्योति प्राथमिक विद्यालयको भवन पुनर्निर्माणको कार्य सकिएको एकता नेपालका अनिल पौडलले बताए । ‘छिट्टै नै विद्यालय भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने छौं,’ उनले भने ।

३ कक्षासम्म पठनपाठन उक्त विद्यालयका छात्रछात्राहरू विगत ४५ महिनादेखि टहरामा पढ्दै आएका छन् । ४० जना छात्रछात्राहरू रहेको उक्त विद्यालयका विद्यार्थीहरू एउटै टहरालाई बारेर छुट्टाछुट्टै कोठा बनाएर पढ्ने गरेका छन । पाँचकोठे भवन र छात्रछात्राको अलग्गै शौचालय निर्माण गर्न ९७ लाख ४२ हजार रुपैयाँ खर्च भएकोपौडेलले बताए ।
महांकालमा एक बोरा सिमेन्ट पुर्‍याउँदा २ हजार ५ सय रुपैयाँ खर्च हुने भएकाले विद्यालय भवनको पुनर्निर्माण गर्न समस्या परेको संस्थाले जनाएको छ । एक बोरा सिमेन्ट ढुवानी गरेको ज्याला मात्र १७ सय रुपैयाँ लिने गरेको छ । मानिसले बोकेर पुर्‍याउनुपर्ने भएकाले सिमेन्टमात्र होइन, निर्माणका सामग्रीहरू नै संस्थाले पुर्‍याएको पौडेलले भने ।

उक्त संस्थाले राक्सिराङ गाउँपालिका–६,७ र ८ नम्बरमा जनज्योति प्राथमिक विद्यालयको भवनसहित प्रजा कल्याण प्रावि, बाङराङ, दामराङ प्रावि दामराङ, जनसेवा प्रावि दामराङ र टिकेढुंगे प्रावि गरी ५ वटा विद्यालय भवन निर्मार्णाधीन अवस्थामा छन् । चार विद्यालयको पुनर्निर्माण कार्य चैतसम्ममा सकिसक्ने उनीहरूले बताए ।

करिब साढे ५ करोडको लागतमा ५ वटा विद्यालयका ३० वटा कक्षाकोठा र ५ वटै शौचालय निर्माण गरिएका छन् । नयाँ वर्षसँगै दुर्गम गाउँका ५ विद्यालयका छात्रछात्राहरूले नयाँ पक्की भवनमा पढ्न पाउनेछन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT