१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बाँसकै छाप्राको भर

रामेछाप — जिल्लाको दुर्गम स्थानमा भूकम्पपछि आधुनिक विद्यालय भवन निर्माणको लहर चल्दा रामेछाप नगरपालिकाको सल्लेमा ३ वर्षदेखि एक विद्यालय छाप्रोको भर छ  । ‘नयाँ चिटिक्क परेको भवनमा वसेर अध्ययन गर्ने हाम्रो कर्ममा छैन,’ केवलेश्वर आधारभूत विद्यालय सल्लेकी कक्षा ५ मा अध्ययनरत बालिका मेलिना तामाङले भनिन्, ‘नयाँ स्कुल बनाएको त छैन  ।

बाँसकै छाप्राको भर

कक्षा ५ सम्म सञ्चालन हुने उक्त आधारभूत विद्यालयमा जम्मा जम्मी १३ जना बालबालिकाहरू अध्ययन गर्छन् । ‘थोरै विद्यार्थी हुनु नै दुर्भाग्य भयो ’ प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले भने, ‘भवन मागेको तर पुनर्निर्माण प्राधिकरणबाट परेन ।’

बाँसले बारेको छाप्रो थोत्रो भइसकेको छ । सुरुमा माटोले टालेको थियो, अहिले माटो झरेर छ्याङ्गछयाङ्गती भएको छ । बाँसको भाटाका बीचबाट हावा, पानी र धूलो भित्र छिर्नु सामान्यजस्तै छ । पुसै जाडोमा चिसो जस्तामुनि बसेर अध्ययन गर्ने बाललिकाहरूले बेग्लै कक्षाकोठा पाएका छैनन् ।

बहुकक्षाका विद्यार्थीहरूलाई राखेर शिक्षकहरू पढाउँछन् । जम्मा एउटा छाप्रो त्यो पनि बाँसको कतरेले बारेको कताबाट बेग्लाबेग्लै पढाउन सक्नु ? प्रअ घिमिरे भन्छन्, ‘शिशुदेखि ३ सम्म एउटा र कक्षा ४ र ५ एउटामा राखेर पढाउँछौं ।’ उनले थोरै विद्यार्थी भएका कारण पठनपाठन प्रभावित नहुने बताए । बहुकक्षा एकै थलोमा राखेर अध्ययन गर्दा बालबालिकाहरूलाई स्वाभाविकै रूपमा कठिनाइ हुने घिमिरे बताउँछन् । ‘हाम्रो बाध्यता छ, जसरी हुन्छ धानेका छौं,’ घिमिरेले भने ।

पहिलेको विद्यालय भवन २०७२ सालको भूकम्पमा भत्कियो । बचेको एउटा सानो कोठाको भग्नावशेषमा शिक्षकको कोठा छ । घामपानी बाहिर नजाने उक्त भग्नावशेषमा बसेर ३ शिक्षक त्यही छाप्रो नियाल्छन् । कहिले बनाउने योजना छ विद्यालय भवन ? घिमिरे भन्छन्, ‘खोइ टुंगो छैन ।’ रामेछाप नगरपालिकाबाट ८ लाख रुपैयाँ भवन निर्माणका लागिपरेको बताउँदै उनले भने, ‘भवन निर्माण स्थान खारेर राखेका छौं । रामेछापमा ४ सय ५८ विद्यालयमा भूकम्पबाट क्षति पुगेको थियो ।

अधिकांश विद्यालय पुनर्निर्माण भइसक्दा पनि नगरपालिका मुख्यालय छेउकै उक्त आधारभूत विद्यालय ओझेलमा परेको छ । जनजाति तामाङहरूको मात्र बसोबास रहेको उक्त टोलका बालबालिका विद्यालय भवन भएन भनेर अन्यत्र पनि गएका छैनन् । अविभावकहरूलाई भूकम्पबाट क्षति भएको आफ्नै घर पुनर्निर्माणमा जुट्नु परेकाले विगतमा जस्तो विद्यालयका लागि सामुदायिक काम गर्ने फुर्सद नभएको स्थानीय बताउँछन् ।

थोरै विद्यार्थी भएका विद्यालयहरू नजिकै पर्ने अन्य विद्यालयमा गाभ्ने योजना स्थानीय सरकारले गरे पनि रामेछाप नगरपालिकाले उक्त कार्य अझै गरेको छैन । मन्थली नगरपालिकाले गत वर्ष ८ विद्यालय खारेज गरी अन्यत्र गाभेको थियो । जनजातिको बसोबास रहेको उक्त स्थानका बालकालिका अन्य विद्यालयमा जान आधा घण्टाभन्दा बढी हिँड्नुपर्छ ।

प्रकाशित : चैत्र ९, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?