नगर वनमा धूँवाको मुस्लो

नारायणी किनारमा रहेको नगर वन क्षेत्रमा महानगरले वर्षौंदेखि फोहोर लगेर थुपार्ने गर्छ । त्यसमा मंगलबार रातिदेखि आगो लागेको छ ।
रमेशकुमार पौडेल

चितवन — नारायणगढ नारायणी नदी पुलबाट पश्चिम हेर्दा सानो तर मनमोहक हरियो टापु देखिन्छ । नगर वनले चिनिने यो ठाउँ दुई दिनयता धूँवाको मुस्लोले घेरिएको छ । महानगरमा उत्पन्न हुने फोहोर मैलाको व्यवस्थापन नहुँदा अवस्था यस्तो आएको हो ।

नगर वनमा धूँवाको मुस्लो

नारायणी किनारमा रहेको नगर वन क्षेत्रमा महानगरले वर्षौंदेखि फोहोर लगेर थुपार्ने गर्छ । त्यही ठाउँमा मंगलबार रातिदेखि आगो लागेको छ ।


‘यो नौलो कुरा नै हैन । गर्मी लागेपछि हरेक वर्ष यस्तो समस्या सुरु हुन्छ । फेरि एक पटक लागेको आगो झट्टै निभ्दैन पनि । भित्रभित्रै रहिरहन्छ । योपटक पनि समस्या दोहरिएको हो,’ फोहोर व्यवस्थापनको काम गर्दै आएको निजी कम्पनी ग्रिन नेपाल सिटी वेस्ट म्यानेजमेन्टका श्याम श्रेष्ठले भने । भरतपुरको फोहोर यो कम्पनीका साथै वेस्ट म्यानेजमेन्ट ग्रुपले संकलन गरेर नदी किनारमा लगेर थुपार्छ ।


यी दुई कम्पनीले भरतपुरको ६ नम्बरबाहेक एकदेखि १२ नम्बर वडाको फोहोर संकलन गर्छन् । महानगरपालिकाले ६ नम्बर र १३ देखि २९ नम्बर वडाको फोहोर संकलन गर्छ । यसरी संकलन भएको फोहोर नदी किनारमा पुगेपछि महानगरले पुर्ने, वरपर कीरा मार्ने विषादी छर्ने गर्नुपर्ने हुन्छ । महानगरको वातावरण शाखाका अधिकृत सुशीला रेग्मी दिनमा ५० देखि ५५ टन फोहोर संकलन हुने बताउँछिन् ।


‘ठ्याक्कै कति फोहोर उठ्छ, हामीले नयाँ तथ्य संकलन गर्दै छौं । दिनको ५०/५५ टन पहिलेदेखि नै संकलन हुने गरेको हो,’ रेग्मीले भनिन् । फोहोर उठाउँदा कुहिने नहुने खासै छुट्याउने चलन छैन । कुहिने फोहोर पनि लगेर फाल्दा आगलागीको समस्या आएको रेग्मीको भनाइ छ । बजारको फोहोर लगेर फाल्न थालेको वर्षौं भयो । फोहोर कुहिएर बनेको ग्यासले आगलागी गराएको उनले बताइन् ।


‘फोहोर कुहिँदै गएपछि मिथेन ग्यास बन्द छ । त्यसैमा कसैले चुरोट खाएर फालेपछि आगो सल्केको हो,’ उनले भनिन् । दमकल पठाउने, गिट्टी माटोले पुर्ने गरेर आगो नियन्त्रणमा लिने उनले बताइन् । आगलागी सुरु भएपछि शुक्रबार तोकेको ठाउँमा फोहोर पुर्‍याउनै गाह्रो भएको ग्रिन नेपाल सिटी वेस्ट म्यानेजमेन्टका श्याम श्रेष्ठले बताए । भरतपुरमा व्यवस्थित डम्पिङ साइट छैन । फोहोर कहिले जंगलमा त कहिले नदीमा लगिन्छ ।


‘पहिला भरतपुर आडको जलदेखि बरण्डाभार जंगलमा लगेर फालेको हो । तर वनका उपभोक्ताहरूले विरोध गरेपछि १२/१५ वर्षयता नारायणगढ बजारदेखि तल नदी किनारमा थुपार्ने र पुर्ने गर्न थाल्यौं । त्यसपछि खासै विरोधको सामाना गर्नु परेन,’ वातावरण अधिकृत रेग्मीले भनिन् ।


नदी किनारमा पुर्नुपर्ने जग्गा भएका व्यक्तिहरूले नै महानगरपालिकालाई फोहोर लगेर थुपार्न र पुर्न अनुमति दिएको उनले बताइन् । वर्षायाममा नदी उर्लंदा नदी किनारमै फोहोर फाल्ने गरिन्छ । नदी सुकेको बेलामा नगर वनको पश्चिमतर्फको तल्लो कुनामा लगेर फाल्ने रेग्मीले जानकारी दिइन् । फोहोर बोकेका दर्जनौं ट्र्याक्टरहरू दिनहुँ नगरवन छिर्ने गर्छन् ।


‘ट्र्याक्टर आएपछि त नाक थुनेर बस्ने हो । कहिलेकाहीं त फोहोरका पोका नै खसाल्दै दौडन्छन्,’ नगर वनमा रहेको बालकुमारी कलेजको नर्सिङ क्याम्पसको रेखदेख गर्दै आएकी सावित्री पोखरेलले भनिन् । नारायणी नदी धार्मिक हिसाबले पवित्र मात्रै छैन, जैविक महत्त्वको नदी पनि हो । यो नदी चितवन निकुञ्ज हुँदै बग्छ ।


तर बस्तीभन्दा भित्र लगेर फोहोर फालेका कारण यसले पानी र पर्यावरणमा पुर्‍याउने असरका बारेमा कसैले वास्ता गरेको छैन । बुधबारदेखि आगो लागेर धूँवाको मुस्लो आकाशभरि फैलँदासमेत भरतपुर महानगरपालिकाको वातावरण शाखामा शुक्रबारसम्म यसको जानकारी पुगेको थिएन ।


नदी किनारमै फोहोर

नदी किनारमा फोहोर लगेर फाल्न सुरु गरेपछि विरोध आउन बन्द भएसँगै महानगरले फोहोर व्यवस्थापनको उचित विधि अपनाउन सक्रियता देखाएन । महानगरलाई ल्यान्ड फिल साइट बनाउन सरकारले २०६८ सालको फागुनमै वनदेवी बराण्डाभार जंगलमै १५ बिघा जग्गा दिएको थियो । तर महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना बनाउन गएको भदौमा मात्रै कोरियाली कम्पनीसँग सम्झौता भएको छ ।


सम्झौतापछि १५ महिनाभित्र गुरुयोजना तयार गर्ने योजना छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालका अनुसार गुरुयोजनाअनुसार फोहोर व्यवस्थापनको वैज्ञानिक पूर्वाधारहरू बन्ने छन् । यसका लागि थप डेढ वर्षको अवधि लाग्ने अनुमान छ । त्यसैले नगरवासीले गर्ने फोहोर कम्तीमा तीन वर्ष नदी किनारमा नै मिल्कने अवस्था छ ।

प्रकाशित : चैत्र १०, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?