कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिखु पुल वर्षौंदेखि जगमा

टीकाप्रसाद भट्ट

रामेछाप — चार वर्षअघि लिखु खोलामा पुलको जग हालिएको थियो । ठेकेरदार कम्पनीले त्यसयता केही काम बढाएको छैन । सरकारी 
निकायले समयमै ताकेता नगर्दा रामेछाप र ओखलढुंगा जिल्ला जोड्ने सिरिसे पुलको काम ठप्प छ । 

पुल तयार गर्ने आश्वासन वर्षौंदेखि पाएका छन् स्थानीयले । ‘हिउँदमा नदीमा हेलिएर वारपार गर्न बाध्य छौं । वर्षामा नदी ठूलो भएका बेला यातायात चल्दैन । हामीलाई साह्रै गाह्रो परेको छ,’ स्थानीय अर्जुन राउतले भने । रामेछापतर्फ लिखु तामाकोसी गाउँपालिकाको सिरिसे र ओखलढुंगाको लिखु गाउँपालिकाको टारकेराबारी जोड्ने उक्त पुल नहुँदा वर्षायाममा ओखलढुंगातर्फको यातायात सेवा प्रभावित हुँदै आएको छ ।


जेनतेन लिखु किनारसम्म वर्षायाममा पुग्ने यात्रुहरू लिखु तरेर पैदल यात्रा गर्न बाध्य छन् । ओखलढुंगाको पश्चिमी क्षेत्रका साबिकका झन्डै १० गाविसका बासिन्दा उक्त नाका हुँदै काठमाडौं ओहोर–दोहोर गर्छन् ।


निर्माण व्यवसायीले कार्यतालिकाबमोजिम काम नगर्दा पुल अधुरो रहेको हो । पुलमा प्रयोग हुने स्टिलका सामग्री निर्माणस्थलमा झारेर ठेकेदारले बाँकी कार्य अघि बढाएका छैनन् । सडक विभागले पटकपटक उक्त पुल निर्माणका लागि निर्माण व्यवसायीलाई म्याद थपे पनि ठेकेदार कम्पनीले चासो दिएको छैन ।


निर्माण कार्यका लागि कन्काई ओमबुद्ध जेभिले जिम्मा पाएको थियो । सिरीसे पुलको २०६७/६८ मा तत्कालीन सडक डिभिजन दोलखाबाट ठेक्का लगाएको हो । डिभिजनबाट उक्त पुलको जिम्मेवारी खुर्कोट डिभिजनलाई गएको पनि ५ वर्ष बितेको छ । सरकारले उक्त डिभिजन समेत खारेजीको तयारी गर्दा झण्डै ६० मिटर लामो पुल सकिएको छैन ।


दुवै किनारको जग पूरा भएर पनि नागरिकले सास्ती खेप्नुपरेपछि ओखलढुंगाका पूर्वसभासद रामहरि खतिवडाले प्राविधिक र निर्माण व्यवसायीलाई दुवैलाई निर्माण स्थलमा लगेर सवै गतिरोध पन्छाई चाँडो काम गर्न आग्रह गरेका थिए । ‘निर्माण व्यवसायीले हरेक वर्ष यो पटक पूरा हुन्छ भन्ने गरेकाले अझै पुल केही वर्ष अधुरै हुने हो कि भन्ने आशंका छ,’ राउतले भने ।


खुर्कोट डिभिजनका इन्जिनियर रामबहादुर विश्वकर्माका अनुसार कार्यालयकै रुग्ण ठेक्कामा उक्त पुल पर्छ । खैरेनीघाट, सिरिसे र चौरीखोला पुलको निर्माणमा सम्लग्न ठेकेदारलाई तत्कालीन डिभिजन प्रमुख राकेश महर्जनले पटकपटक कागज गराई थप भएको समयसीमामा निर्माण सक्ने प्रतिबद्धता गराएका थिए । तर उक्त प्रतिबद्धतालाई समेत निर्माण व्यवसायीले नटेर्दा स्थानीयले पुलको सेवा लिन नसकेका हुन् ।


‘आउँदो असारमा सिरिसे पुलको निर्माण सक्ने गरी काम अघि बढाउँछु,’ निर्माण व्यवसायी कन्काई जेभीका राम मैनालीले भने । उनले पुलका लागि आवश्यक पर्ने स्टिल पार्ट्सको काम जलप नेपाललाई जिम्मा दिएकाले उक्त कम्पनीले नै जडानको काम पूरा गर्नुपर्ने जनाए ।


जलपका प्राविधिकहरू खैरेनीघाटको काम सकिएकाले अबको केही दिनमै सिरिसे पुग्ने मैनालीले दाबी गरे । स्टिल पार्ट्स जोडेपछि रड बिच्छ्याएर ढलान गर्ने काम बाँकी रहने र उक्त काम एक महिनामा सकिने मैनालीले बताए । ‘यो वर्ष हामी कुनै हालतमा काम सक्छौं,’ मैनालीले भने ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?