स्वास्थ्य पत्रकारिताको विकासले स्वस्थ्य समाज

धुलिखेल — मुलुकमा स्वास्थ्य पत्रकारिताको विकास भए मात्र स्वस्थ्य समाज निर्माण हुने औँल्याउदै स्वास्थ्य विटमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्घिमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

स्वास्थ्य पत्रकारिताको विकासले स्वस्थ्य समाज

विभिन्न सञ्चारमाध्यममा हेल्थ बिटमा कार्यरत पत्रकारहरुको साझा संस्था ‘सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपाल’ ले स्वास्थ्य पत्रकारहरुको क्षमता अभिवृद्घिका लागि धुलिखेलमा आयोजना गरेको तालिमका अवसरमा स्वास्थ्य पत्रकारको क्षमता बढाउन राज्य, सञ्चारगृह र स्वयं पत्रकारहरुले लगानी गर्नुपर्नेमा जोड दिएका हुन् ।


काठमाडौं विश्वविद्यालयका डीन एवं धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजूले स्वास्थ्य समाचार एकदमै संवेदनशिल हुने भएकाले स्वास्थ्य पत्रकार विषय वस्तुमा पोख्त हुनुपर्ने बताए । उनले मुलुकमा स्वास्थ्य पत्रकारिताको पढाइ हुनुपर्ने समेत बताए ।


सरकारले अस्पताल र अस्पतालका बेड थप्दैमा स्वस्थ समाज निर्माण गर्न नसकिने दाबी गर्दै स्वास्थ्य अधिकारकर्मी एवं प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र ( रेस्पेक ) का कार्यकारी निर्देशक शान्तलाल मुल्मीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्न जनचेतना जगाउन स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुपर्ने बताए ।


सोसाइटी अफ हेल्थकेयर जर्नलिस्ट नेपालका अध्यक्ष अतुल मिश्रले सत्य, तथ्य र सन्तुलित स्वास्थ्य पत्रकारिताले स्वस्थ्य समाज निर्माणमा अहं भूमिका खेल्ने भएकाले स्वास्थ्य पत्रकारहरुको क्षमता बढाउनुपर्ने र यसमा राज्य लगायतका सम्वद्घ सबै पक्षले चासो राख्नु पर्ने बताए ।


कार्यक्रममा स्वास्थ्य पत्रकारहरु दीपक दाहाल, पूर्णभक्त दुवाल, भगवती तिमिल्सिना, कमला गुरुङ, रिता तिमिल्सिना र हेल्थ केयर जर्नलिष्ट सोसाइटिका महासचिव पदमराज जोशी लगायतले स्वास्थ्यका समाचारले सञ्चार माध्यममा उचित स्थान पाउनुपर्नेमा जोड दिएका थिए । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रको सहकार्यमा सम्पन्न दुई दिने तालिममा २० जना स्वास्थ्य पत्रकारको सहभागिता थियो ।

प्रकाशित : चैत्र १६, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?