अवैध उत्खननले १५ सय घरका धारा बन्द

लीला श्रेष्ठ

भक्तपुर — अग्ला–अग्ला ढिस्को सिद्धिए । बिजुलीको पोल धराप ढिस्कोमा अडिएको छ । नांगो तार धराप पोलमा जेनतेन अडिएको छ । ढल्ने तरखरमा रहेको बिजुलीको पोल र नांगो तारले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीय बासिन्दा त्रासमा छन् ।

अवैध उत्खननले १५ सय घरका धारा बन्द

अवैधानिक रूपमा ताथलीको ढिस्कोमा लगाइएको डोजर/एक्साभेटरले बिजुलीको पोललाई मात्र असर नगरी करिब १५ सय घरधुरीले उपभोग गर्ने खानेपानीको स्रोत अवरुद्ध भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र खायमली र लक्ष्मीकुमार भइनात्वले इँटाभट्टा सञ्चालनको लागि गरेको माटो कटानले बिजुलीको पोल धरापमा परेको छ भने खानेपानीको पाइप काटिएको छ । वडाध्यक्ष खायमली इँटाभट्टा व्यवसायी समेत हुन् ।


अवैध माटो उत्खननले ७ घनमिटर क्षमताको खानेपानीको ट्यांकीसमेत धरापमा छ । स्थानीय जग्गाधनी, माटो व्यवसायी, इँटाभट्टा व्यवसायीलगायतले ढिस्को उत्खनन गरी इँटाभट्टालाई माटो बिक्री गरेपछि चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित फौढोका, सौडोल, गोठालेचौर, डाँडापाटी, धाराकुलो, वनमाला टोल, बाला टोल, राउत टोल हुँदै ब्रह्मायणीसम्मका स्थानीय उपभोक्ता २ महिनादेखि खानेपानीबाट वञ्चित हुनुपरेको ताथली बृहत् खानेपानी सरसफाइ उपभोक्ता समिति अध्यक्ष एवं वडासदस्य कृष्णराम बासुकला बताउँछन् ।


स्थानीय उपभोक्ताले २०४० देखि उपभोग गर्दै आएको पानी ट्यांकी भासिने जोखिममा छ । ताथली क्षेत्रमा करिब १ सय ५० देखि २ सय फिट अग्लो ढिस्कोको माटो काटेर सम्म बनाइएको छ । जथाभावी माटो खन्दा एक्साभेटरले खानेपानीको पाइप काटिएपछि माघ महिनायता साबिक ताथली गाविस ४ देखि ९ वडाका करिब १५ सय घरधुरीका बासिन्दा खानेपानी उपभोग गर्नबाट वञ्चित छन् । ‘अग्लो ढिस्कोमा अवस्थित पानी ट्यांकी वरिपरि डोजर/एक्साभेटरको प्रयोग गरी माटो उत्खनन भएको छ,’ उपभोक्ता समिति अध्यक्ष बासुकलाले भने, ‘ट्यांकरको पानी किनेर उपभोग गर्न बाध्य छौं, खानेपानीको चरम अभाव छ ।’


त्यस्तै, करिब १६ करोड रुपैयाँ लागतमा निर्माणाधीन अवस्थामा रहेको पाइप लाइन विस्तारलाई समेत माटो उत्खननले असर पुर्‍याएको छ । विन्ध्यवासिनी बृहत् (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाका अध्यक्ष नकुल राउतका अनुसार माटो उत्खनन गर्दा एक्साभेटरले खानेपानीका लागि भर्खर जडान गरिएका अधिकांश पाइप काटिएका छन् । ‘दुई वर्षदेखि विस्तार थालेको पाइप लाइनको ८० प्रतिशत काम सम्पन्न भएको छ, चालु आर्थिक वर्ष ०७५/७६ को असार मसान्तभित्र पाइप जोड्ने भाका छ,’ उनले भने, ‘माटो, इँटाभट्टा व्यवसायीको लापरबाहीले खानेपानीको पाइप काट्ने, पाइप निकाल्ने कार्य भएको छ ।’


स्थानीय जनप्रतिनिधिकै आडमा मनपरी माटो खानी सञ्चालित छ । खानीजन्य पदार्थको व्यवस्थापन गर्ने निकाय नै एकअर्कालाई दोष लगाउने बहानामा मिलेमतोमै अवैध खानी सञ्चालन गरिरहेका छन् । वडासदस्य कृष्णराम बासुकला आफैं माटो खानी सञ्चालक हुन् । चाँगुनारायण–९ गोठालेचौर, बाला टोल, सौडोल, धाराकुलो, डाँडापाटी, फौढोकालगायत स्थानबाट डाँडा भासिने गरी सार्वजनिक जग्गाबाट बालुवा, माटो उत्खनन भइरहेको छ ।


चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले भने राजनीतिक पहुँचको भरमा बेथिति बढेको गुनासो गरे । ‘जनप्रतिनिधि खानी क्षेत्रमा गएर झगडा गर्ने अवस्था छैन, नगरपालिकाले अनुगमनसमेत गरेको छैन,’ उनले भने, ‘वडा कार्यालयमा आउँदा घडेरी खार्ने भन्दै आउँछन्, उता खानी चलाउँछन् ।’ खानेपानी नै अवरुद्ध हुने गरी माटो उत्खनन भएको पाइएकाले क्षतिग्रस्त २ सय ५० मिटर पाइप फेर्ने र सडक ग्राभेल गर्न लगाउने कार्य वडा कार्यालयले गरेको उनले बताए ।


नगरपालिकाले भने गतसाता नगर क्षेत्रभित्र जथाभावी डोजर प्रयोग भएको, जग्गा सम्याउने गरी डोजर प्रयोग भइरहेको, ठूलो क्षेत्रफलमा समेत अनुमति नलिई एक्साभेटरलगायत मेसिन प्रयोग भएकाले स्वीकृति लिएर मात्र कार्य गराउन वडा कार्यालयहरूमा पत्राचार गरेको जनाएको छ । नगरपालिकाले कुनै कार्यविधि नै नबनाई इँटाभट्टालाई माटो ओसारपसारको अनुमति दिँदा माटो उत्खननसँगै बालुवा तस्करी मौलाएको छ ।


इँटाभट्टा सञ्चालक र नगरपालिका माटो उत्खननका विषयमा बाझिएका छन् । नगरप्रमुख सोमप्रसाद मिश्रले भने माटो, बालुवा उत्खनन कार्य अवैधानिक भएको र माटो ओसारपसारका लागि मात्र इँटाभट्टालाई अनुमति दिएको बताउँदै आएका छन् । उनले भने, माटो उत्खनन, ओसारपसार तथा इँटा उद्योग सञ्चालकहरू उत्खननकै लागि अनुमति पाएको बताउँछन् । स्थानीयको सर्जमिन, नगरपालिका, वडा कार्यालयको स्वीकृतिमा इँटाभट्टाका लागि माटो उत्खनन तथा ओसारपोसार गरेको इँटाभट्टा सञ्चालक एवं वडाध्यक्ष खायमलीले बताए ।

प्रकाशित : चैत्र १८, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?