१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अनुष्ठानबाट १ करोड ६२ लाख

हेटौंडा — सडक, बाटो, चौतारालगायत कुनै पनि सार्वजिनक स्थानमा बसेर कष्टकर जीवन बिताइरहेका जोकोहीलाई तत्कालै उद्धार र पालनपोषण गर्दै आएको मानव सेवा आश्रम हेटौंडाले ज्ञानविज्ञान अनुष्ठान आयोजना गरी १ करोड ६२ लाख रुपैयाँ बचाउन सफल भएको छ ।

हेटौंडा उपमहानगरपालिका(९ मा गत फागुन १२ गतेदेखि २० गतेसम्म आयोजना गरेको अनुष्ठानबाट २ करोड १० लाख रुपैयाँ संकलन भएको थियो । सबै खर्च कटाएर १ करोड ६२ लाख रुपैयाँ बचत भएको अनुष्ठान कार्यक्रमका संयोजक पुरणबहादुृर जोशीले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा संयोजक जोशीले भने, ‘खर्च एकदम कम गरेर रकम बचत गरेका छौं ।’


आश्रमको निर्माणाधीन भवन पूरा गर्न रकम संकलन गर्ने उद्देश्यले मानव प्रवर्द्धन ज्ञानविज्ञान अनुष्ठान आयोजना गरिएको थियो । ‘अब भवन निर्माण कार्य पूरा हुन्छ,’ मानव सेवा आश्रमका प्रमुख रामजी अधिकारीले भने, ‘भदौको पहिलो सातासम्म भवनको निर्माण कार्य पूरा गरी आश्रय लिएकाहरूलाई भदौ १३ गते नवनिर्मित भवनमा प्रवेश गराउने छौं ।’


सडक पेटीबाट उद्धार गरेर ल्याएकाहरूलाई हेटौंडा उपमानगरपालिका ४ स्थित गर्दोईमा राख्ने गरिएको छ । हेटौंडामा मात्र १ सय ४० जना आश्रममा आश्रय लिएर बसेका छन् ।


आश्रमकै कारण हेटौंडाको सडकमा मात्र होइन, थाहा नगरपालिका र मकवानपुरको अन्य ८ वटै स्थानीय तहमा परिवारवाट परित्यक्त वृद्धवृद्धा र बालबालिकाहरू सडक, बाटो वा चौतारामा कष्टकर जीवन बिताउनुपरेको छैन । त्यस्तो कष्टकर जीवन व्यतीत गरिरहेकाहरूलाई आश्रमले तत्कालै उद्धार गरेर ल्याएर पालनपोषणको साथै संरक्षण गर्दै आएको छ ।


स्थानीय तहका सडक, बाटो र चौतारा लगायत कुनै स्थानमा पनि वृद्धवृद्धा र बालबालिकाहरू कष्टकर जीवन व्यतीत गरिरहेको अवस्था नपाएकाले जिल्ला समन्वय समिति मकवानपुरको अगुवाइमा सिंगो मकवानपुरलाई गत फागुन ४ गते सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिसकेको छ ।


आश्रमले विसं.२०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त बनाएर विश्वमा पहिलो मानवताको देश बनाउने लक्ष्य लिएको छ । उक्त लक्ष्यअनुसार सबैभन्दा पहिला मकवानपुरलाई सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणा गरिएको हो ।


प्रकाशित : चैत्र २०, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?