१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ढल्नै लाग्यो साततले

दरबारसहितका सम्पदा बनाउने सम्झौता चीन सरकारसँग भएको हो । प्राधिकरणका अधिकारी भने चिनियाँ प्राथमिकता अहिले काठमाडौंको सम्पदामा भएको र चाँडै नुवाकोटमा पनि बन्ने दाबी गर्छन्
कृष्ण थापा

नुवाकोट — साततले दरबारको पाँचौँ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुनर्निर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । 

ढल्नै लाग्यो साततले

उनीहरूले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुनर्निर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्‍याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् । ‘पुनर्निर्माण गर्न अब अर्को पृथ्वीनारायण नजन्मेसम्म दरबार बन्लाजस्तो छैन,’ स्थानीय अनुप खडकाले भने, ‘यत्रो ऐतिहासिक सम्पदा खण्डहर बन्ने भो ।’ इतिहास मेटिने र नुवाकोटको पहिचान मासिने चिन्ता जिल्लाबासीमा छ ।


‘यस्ता ऐतिहासिक धरोहर भत्केर जिल्लाको अस्तित्व मासिन लाग्यो,’ अर्का स्थानीय अर्जुन घिमिरेले भने, ‘दैलामा भएको पुरातात्त्विक सम्पदा ढल्न लाग्दा छिटो बनाउन पर्‍यो भन्नुबाहेक हामीले भन्न कहाँ जाने ? नुवाकोट भनेर स्वदेशी र विदेशी पर्यटक हेर्न आउँछन् । के देखाउने ?’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले गत पुस पहिलो निरीक्षणपछि चीनले नयाँ वर्ष मनाएलगतै (मार्चमा) पुनर्निर्माण थाल्ने भनेका थिए । अप्रिल पहिलो साता भइसक्दा पनि साततलेसहित आधा दर्जन पुरातात्त्विक सम्पदा अलपत्र छन् ।


ती सम्पदाहरू पुनर्निर्माण गर्न नेपाल सरकारले चीन सरकारसँग सम्झौता गरेको प्राधिकारणले जनाएको छ । चीन सरकारले काठमाडौंमा निर्माणाधीन वसन्तपुर दरबारलगायत दरबार हाई स्कुल निर्माण सकेपछि नुवाकोटका सम्पदा पुनर्निर्माण गर्ने प्राधिकरणको भनाइ छ । ‘उनीहरूको ध्यान काठमाडौंका सम्पदा निर्माणमा छ,’ हालै जिल्ला आएका प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भने, ‘छिट्टै बन्नेछ । चीनले प्रतिबद्धता जनाएका छन् । बनाउँछन् । यदि चीन सरकारले बनाउन सकिएन भनेमा मात्र प्राधिकरणले बनाउँछ ।’


उनले हालै रानीपोखरीको पुनर्निर्माण थालिएको जानकारी दिए । स्थानीयबासीले धेरै चिन्ता नलिन उनले आग्रह गरे । उनले विदुर नगरपालिकासँग समन्वय र जानकारी लिएर पुनर्निर्माणको कार्य अघि बढाउने बताए ।


पुरातात्त्विक सम्पदा छिटो निर्माण नहुनुमा प्राधिकरणले निजी आवासलाई ध्यान दिन परेको उनले बताए । चीन सरकारले पुनर्निर्माण गर्ने सम्पदाहरूमा साततल्ले दरबार लगायत लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर छन् ।

प्रकाशित : चैत्र २०, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?