कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हात्तीका छावामा भाइरसको त्रास

प्रमिता ढकाल

भरतपुर — हात्तीका छावाहरूमा देखिने प्राणघातक रोग इन्डोथेलियोट्रोपिक हर्पिस भाइरसको संक्रमण भएका चितवनका ३ वटा छावाको सफल उपचार गरिएको छ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको एउटा, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत हात्ती प्रजनन केन्द्रको एउटा र निजी एउटा छावामा यो रोग देखा परेको थियो  ।

हात्तीका छावामा भाइरसको त्रास

तीनवटै छावामा समयमै रोगको लक्षण पहिचान तथा उपचार गरिएकाले बचाउन सम्भव भएको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डाक्टर अनिल सडौलाले बताए । सन् २०१५ को डिसेम्बरदेखि यता देशभर यस रोगको संक्रमण लागेका १२ वटा छावामध्ये ५ वटाको मात्रै सफल उपचार सम्भव भएको हो । जसमध्ये ३ वटा चितवनका हुन् भने एउटा बर्दिया राष्ट्रिय निकुञ्जको र अर्को शुक्लाफाँटको हो ।


चितवनका ३ वटा छावामा फरकफरक समयमा यो रोग देखा परेको थियो । तीनवटै छावाको उपचार गरेर बचाउन सफल भएको हो । विश्वमा नै २० प्रतिशत मात्र सफल उपचार हुने यस रोगको चितवनमा भने सफल उपचार दर ८० प्रतिशत छ । यो रोगको संक्रमण भएका छावाहरूको जिब्रोको टुप्पो कालो हुने, टाउको फुल्ने, नशा सुन्निने, ज्वरो आउने र र्‍याल काढ्ने लक्षण देखा पर्दछन् ।


भाइरसको संक्रमण भएको ४/५ दिनमा नै लक्षण देखा पर्न थाल्छ । लक्षण देखा परेको ६ देखि ८ घण्टाभित्र हात्तीका छावाको उपचार नगरे नशा फुटेर रक्तश्राव भई मृत्यु हुने डाक्टर सडौलाले बताए । ‘यो हात्तीहरूमा लाग्ने एउटा प्राणघातक रोग हो,’ उनले भने, ‘यद्यपि विश्वमा नै यो रोग के कारणले लाग्छ भन्ने पत्ता लागेको छैन ।’


रोगको कारक पत्ता नलाग्दा यसविरुद्धको खोपसमेत विकास भएको छैन । यस रोगको उपचारमा प्रयोग हुने औषधि फ्याम्सिक्लोभिर निकै महँगो हुन्छ । रोग लागेका छावाको समयमै लक्षण पहिचान गरी उपचार गर्नु नै बचाउन सकिने मुख्य आधार हो । चितवनमा भित्र्याइएको नयाँ उपचार पद्धतिले मात्र छावाहरूलाई बचाउन सफल भएको सडौलाको भनाइ छ ।


विदेशबाट मगाइने औषधिको भर पर्नु बाध्यता रहे पनि रोग लागेका छावालाई बचाउन माहुतेको निकै महत्त्वपूर्ण भूमिका हुन्छ । माहुतेले नजिकबाट छावाहरूको स्याहार गर्ने हुँदा आनीबानीमा परिवर्तन भएको सहजै थाहा पाउन सक्ने र उपचारको लागि पहल गर्न सक्ने डाक्टर सडौलाले बताए ।


यो रोग एसियाली हात्तीमा देखिँदै आएको उनले बताए । ५ देखि ६ वर्षमुनिका छावाहरू यस रोगको उच्च जोखिममा रहे पनि १० वर्षमुनिका छावालाई रोगको संक्रमणको प्रवल सम्भावना रहन्छ । छावाहरूलाई यस रोगबाट बचाउन माहुतेलाई व्यवहार तथा लक्षण पहिचानमा ध्यान दिन प्रशिक्षणसमेत दिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए । उमेरका हिसाबले चितवनमा १६ वटा छावा यस रोगको संक्रमणको उच्च जोखिममा छन् ।

(प्रशिक्षार्थी)

प्रकाशित : चैत्र २२, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?