नुवाकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान

कृष्ण थापा

नुवाकोट — नुवाकोट उद्योग वाणिज्य संघको १० औं अधिवेशनअन्तर्गत मतदान भइरहेको छ । मतदान बिहान ९ बजेदेखि जिल्ला सदरमुकाम विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा जारी छ ।

नुवाकोट उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान

प्रगतिशील र प्रजातान्त्रिक समूहबीच प्रतिस्पर्धा छ । अध्यक्ष पदमा प्रगतिशीलका उम्मेदवार रमेश श्रेष्ठ र प्रजातान्त्रिकका वर्तमान अध्यक्ष ताराबहादुर कार्की चुनावी मैदानमा छन् ।


निर्वाचनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम र द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, महिला सदस्य ३ जना, पूर्ण सदस्य ९ र वस्तुगततर्फ २ सदस्य गरी २२ जना छानिने छन् ।


उद्योग वाणिज्य संघका अनुसार १ हजार ७ सय १२ जना मतदाता छन् । उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपाका तर्फबाट प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडा, नेपाली कांग्रेसतर्फका बहादुरसिंह लामाले समेत मत हालेका छन् ।


शुक्रबारको उद्घाटन सत्रमा अधिवेशनको शुभकामना दिँदै संघीय सांसद नारायणप्रसाद खतिवडाले व्यवसायीले नुवाकोटमा औद्योगिकरण गर्दै स्थानीयवासीलाई रोजगारी दिनु पर्ने बताए । उनले कृषि र पर्यटनको विकास गर्दै स्थानीय स्रोत र साधनको समुचित प्रयोग व्यवसायीले गर्नुपर्ने बताए ।


त्यसैगरी, संघीय सांसद हितबहादुर तामाङले जिल्लालाई उद्योगहरुको हवको रुपमा विकास गर्नुपर्ने बताए । सर्वसहमतिमा व्यवसायीले आफ्नो नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए ।


प्रदेश सांसद बद्री मैनाली र हिरानाथ खतिवडाले उद्योगको विकासबिना स्थानीयवासीको आर्थिक उन्नति नहुने बताए । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आर्थिक समृद्धि र युवा जमातलाई वैदेशिक रोजगारीबाट पलायन हुनबाट जोगाउन देशमा रोजगारी सिर्जना गर्नुपर्ने बताइन् । उनले देशमा समृद्धि ल्याउन कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा औद्योगिकरण गर्नुपर्ने जोड दिइन् ।




प्रकाशित : चैत्र २३, २०७५ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?