१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भूकम्पपीडितले बनाए रंगीन बस्ती

नुवाकोट — म्यगङ गाउँपालिका ४ छेदलिङबस्तीमा रंगीन जस्तापाताले छाएका घर बनेका छन् । परापूर्वकालेदेखि बनेका घर र पालिङ (काठ) ले छाएका घर हराउँदै छन् । भूकम्पपीडितले आफ्नो सुरक्षित घर निर्माण थालेपछि अहिले बस्तीको रूपरंग फेरिएको छ ।

भूकम्पपीडितले बनाए रंगीन बस्ती

गाउँबस्तीका छाना अहिले नीला जस्तापाताले छाएका चिटिक्क देखिएका छन् । ‘पहिला पाङलिङले छाइन्थ्यो,’ स्थानीय ६० वर्षीय लेम्बर तामाङले भने, ‘अहिले जस्तापाताको छानाले बस्ती भरिए ।’ उनले पनि भूकम्पपछि पाङलिङको छाना छाडेर जस्तापाता रोजेका छन् । ‘पहिला जस्ताको चलन थिएन,’ उनले भने, ‘एक दिन लगाएर साल्मे डाँडामा बासै बसेर पाङलिङ (काठका फल्याक) पर्म गरेर ल्याइन्थ्यो । पाङलिङले छाउन नसक्नेले खरले छाउँथे ।’


भूकम्पले पुरानो घर भत्काएपछि बस्तीमा नयाँ घर बन्ने क्रम बढेको छ । ‘भूकम्पले गर्दा पनि गाउँमा नीलो जस्ता हाल्ने बढे,’ उनले भने, अहिले बेला बेग्लै भएको छ, अझै सक्नेले त इँटा, सिमेन्टको क्रंकिट घर बनाउन थालेका छन् । पाङलिङका छाना हराइसके ।’ उनको मात्र नभई ३५ वर्षीय छिमेक सुब्बा तामाङले पनि जस्ताले घर छाएका छन् । ‘बाजेले काठले छाएका घर थिए,’ उनले भने, ‘अहिले काठ काट्न, पर्म गरे पनि खाजा र खाना खुवाएर जंगलसम्म जाने मान्छे छैन ।’


उक्त बस्ती सदरमुकाम विदुरबाट २५ किमि दूरीमा रहेको छ । चिसो हावापानी भएको यहाँ तामाङ समुदायको बाहुल्य छ । २०/२५ वर्षको अन्तरालमा गाउँमा मोटरबाटो पुगेको हो । मोटरबाटो पुगेपछि त्रिशूली बजारबाट एक/दुई जना स्थानीयबासीले पाङलिङको सट्टा बलियो खाले नीलो जस्तापाताले घर छाउन थालेको लेम्बर बताउँछन् ।


‘पैसा हुनेले मोटर नआउँदै नाम्लो लगाएर बोकेर ल्याउथे,’ उनले भने । अहिले बाटो खुलेपछि यहाँ बस सेवा सञ्चालित छ । बस सेवा वर्षातमा गाउँसम्म पुग्दैन । किम्ताङ ४ का वडा सदस्यसमेत रहेका डङचेतका सन्तोष घले आफ्ना बुबासँग भारतमा समेत बसेका थिए । उनलाई भारत र काठमाडौं सहरभन्दा गाउँ नै रमाइलो लागेकाले फर्किएको बताए । ‘यहाँ स्वच्छ हावापानी छ । घर चिटिक्क परेका छन् । आफन्तले डोर्‍याएकाले यहाँका बस्ती रमाइलो लाग्छ,’ उनले भने । सहरमा धूलोधूवाँले बस्न नसकिएको उनले बताए ।

प्रकाशित : चैत्र २७, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?