प्रेस रजिस्ट्रारमा पत्रकार सापकोटा नियुक्त

कान्तिपुर संवाददाता

हटौडा — प्रदेश-३ को मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रेस रजिस्ट्रार नियुक्त गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी पत्रकार रेवती सापकोटालाई प्रेस रजिस्ट्रार पदमा नियुक्त गरेको हो ।

सिन्धुपाल्चोक चौतारावासी पत्रकार सापकोटा २० वर्षदेखि पत्रकारिता पेसामा आबद्ध रहेका छन्।

प्रदेश-३ को सञ्चार विधेयकमा प्रेस रजिस्ट्रारको व्यवस्था गरिएको छ। सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश तहमा प्रेस रजिस्ट्रारको व्यवस्था गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमरकटेलले बताए। नियुक्त भएका रजिस्ट्रारले राजपत्राङ्कति प्रथम श्रेणीको सेवा सुविधा पाउने छन्।

यस्तै बैठकले गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीपीडित परिवारको आवास निर्माणका लागि प्रदेश-२ सरकारलाई राहत रकम पठाउने निर्णय गरेको छ।

यस अघिको मन्त्रिपरिषद् बैठकले हावाहुरी पीडितलाई एक करोड दिने निर्णय थियो। बैठकले हिमाली तथा पहाडी जिल्लामा महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना योजना कार्यक्रम अनुदान सम्बन्धी कार्यविधि-२०७५ स्वीकृत गरेको छ।

प्रकाशित : चैत्र २७, २०७५ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्

खोला छोपेर बस्ती [फोटोफिचर]

शिल्पा कर्ण

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुसीमा साढे ५ सय मिटर जति खोला हराउँछ । अगाडि गएपछि फेरि भेटिन्छ । 'गायब हुने यो खोला' अर्थात् सामाखुसी खोलाको यही विशेषताले गर्दा यो वडाका धेरै भाग वर्षायाममा डुबानमा पर्छन् । नालाको पानीले सडक डुबाउँछ भने केहीको घरको भुईंतला पनि जलमग्न हुन पुग्छ ।

रेडन स्कुल र कलेजलाई पुलले छुट्टयाएको छ । निश्चय नै खोला पार गर्न भनि पुल बनाइएको हुन्छ । तर त्यहाँ दाँयाबाँया कतै खोला देखिन्न । केवल एकातिर बार भएको पक्की पुल छ । खोलाको पूर्वतिर केही मिटर पर गए फर्निचर पसल छ ।

त्यहिँबाट ढलान गरेर खोला छोपिएको छ । त्यसैले पश्चिमतर्फ जाँदा कतै पनि खोला भेटिन्न । बीचबीचमा पानी पास हुनेगरि कतै कतै निकास बनाइएको देख्न सकिन्छ । यो सबै निर्माण स्थानीय बासिन्दाले नै गरेका हुन् । पानीमाथिको यो ओभानो बस्तीमा अधिकांश सुकुम्बासी छन् ।

पश्चिम जाने पुष्पाञ्जली मार्ग र नवसंगम मार्गसम्मको सडकमा एकातिर कच्ची छ भने अर्कोतिर ढलान गरिएको सडक छ । ढलान गरिएको सडक मुनितिर खोला छ । सुकुम्बासी बस्तीमै ४ तलासम्मका घर छन् । अहिले नयाँ घर पनि बनिरहेका छन् । एकठाउँ गिट्टी, बालुवा र ईंटा थुपारिएको छ । न वडाले रोक्न सकेको छ, न त प्रशासनबाट कुनै किसिमको रोकटोक भएको छ ।

अर्को पुल अर्थात् साढे ५ सय मिटर पर झन्डै १० मिनेट हिँड्दै गएपछि मात्र खोलाको अर्को छेउ भेटिन्छ । यस बीचमा आधा दर्जन जति स-साना पुल पर्छन् । जुन खोलाको एक छेउबाट अर्को छेउ जोड्न विभिन्न समयमा निर्माण गरिएका हुन् । तर खोला भने भेटिन्न ।

त्यो बाटोको मुखैमा एकातिर कलेज अर्कोतिर व्यवसायीक भवन र एउटा स्कुल पनि छ । कलेजले सडकमा पार्किङ र गमलामा वृक्षारोपण गरेको छ । 'खोला छेउ दुईतिर ४/४ मिटर बाटो हुनुपर्ने ठाउँ हो त्यो । अहिले पार्किङ जस्तो बनेको छ,' वडाध्यक्ष ख्यामराज तिवारीले भने ।

ढलान गरिएको उक्त स्थान छेउ झन्डै ४ दर्जन घर बनिसकेका छन् । वडाले त्यो बस्ती सुकुम्बासी भएको बताएको छ । स्थानीय सरकारका प्रतिनिधि यतिका वर्ष जानकारी भएपनि चुप लागेर बसेका थिए, अहिले पनि चुप नै छन् । तर वडाध्यक्ष तिवारीले आफूहरूले नयाँ बन्न लागेको घर निर्माण रोक्न लागेको बताए ।

प्रकाशित : चैत्र २७, २०७५ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्