किताब सधैं ढिला

जनक शिक्षाले मागअनुसार पुस्तक पठाउन सकेन 
थोरै कमिसनले व्यवसायी निराश
कतिपय विद्यालयमा परीक्षासम्म पनि नयाँ पुस्तक पुग्दैनन्
टीकाप्रसाद भट्ट

रामेछाप — जनक शिक्षा सामग्री केन्द्रले विद्यालयलाई पुस्तक समयमा नपठाउँदा विद्यार्थीलाई अध्ययनमा गाह्रो परेको छ । विद्यालयमा पुगिसक्नुपर्ने नयाँ पाठ्यपुस्तक अझै जिल्लामा आइपुगेको छैन । जिल्ला सदमुकाममा आएका पुस्तक पनि बालबालिकाको हातमा पुस्तक पुग्न हप्तौं लाग्छ ।

रामेछापको मन्थलीका एक व्यवसायी जनक शिक्षा सामग्री केन्द्रबाट ल्याएको किताब शनिबार गोदाममा थन्क्याउँदै । तस्बिर ः टीकाप्रसाद/कान्तिपुर 

वैशाख २ गतेदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन्छ । नयाँ कक्षामा नयाँ किताव पढ्ने बालबालिकाको धोको यो वर्ष पनि पूरा नहुने भएको छ ।‘मागबमोजिमको किताब जनक शिक्षाले उपलब्ध गराउन सकेको छैन,’ मन्थलीका पुस्तक व्यवसायी जगन्नाथ दाहालले भने, ‘अपुरो किताब ल्याएका छौं, पूरै सेट नभई विद्यालयले बुझ्न नमान्ने भएकाले पठाउने कुरा भएन ।’

Citizen


दाहालका अनुसार सामुदायिक विद्यालयको पाठ्यपुस्तक जनक शिक्षा केन्द्रभन्दा बाहिर पाइँदैन । ‘चाहिने किताबका लागि बिल काटेर हप्तौं कुर्दा पनि किताब उपलब्ध नहुने पुरानो रोग यो वर्ष पनि दोहोरिएको छ,’ दाहालले भने । यो वर्ष कसैले २ र कसैले ४ वटै किताब अपुरो झारेका छन् । अपूरै भए पनि केही व्यवसायीले विद्यालयमा किताब पठाउन सुरु गरेका छन् ।

बेलामा आवश्यक परिमाणको किताब नदिने, व्यवसायीलाई न्यून कमिसन दिने र ढुवानीको प्रबन्ध नहुँदा जनक शिक्षाबाट प्रकाशन भएका पाठ्यपुस्तक बिक्री गर्ने व्यवसायीसमेत घटिरहेका छन् । केन्द्रले व्यवसायीलाई ढुवानीसहित पाठ्यपुस्तकमा ९ प्रतिशत कमिसन दिने गरेको छ । ‘यो ज्यादै न्यून हो । ब्याज काढेर पुस्तकका लागि महिनौंअघि पैसा जम्मा गर्नुपर्ने अवस्था छ, कमिसन भने न्यून हुँदा दर्जनौं व्यवसायीले किताब ल्याउने काम छोडेको दाहालको भनाइ छ । ‘साँच्चै भन्दा कमिसनको पैसाले ढुवानीका लागि पनि पुग्दैन,’ उनले भने ।

रामेछापका करिब ४ सय सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालकालिकाका लागि नयाँ पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा रकम निकासा पठाइसकेका छन् । खातामा निकासा आएर पनि कतिपय विद्यालयले अझैसम्म व्यवसायीलाई किताब अर्डर गरेका छैनन् ।

अर्का व्यवसायी महेश्वर कर्माचार्य भन्छन्, ‘बेलामा पुस्तक अर्डर नदिने, पेस्की नदिने, अनि किताब नलगेर बिल मात्र खोज्ने शिक्षकसमेत रहेकोले किताबको कारोबार बोझिलो भएको छ ।’ उनले केही विद्यालयका शिक्षकलाई किताबको बिल मात्र दिएको खुलासा गरे । सरकारले विद्यालयको खातामा पाठ्यपुस्तकको अनुदान हाल्ने र विद्यालयले पाठ्यपुस्तक खरिद गरी सोबापत्को बिल भर्पाइ पेस गर्नुपर्ने प्रावधान छ ।

कतिपय शिक्षकले पुरानो पाठ्यपुस्तकबाट पठनपाठन सञ्चालन गरी पाठ्यपुस्तकबापत्को रकम अपचलन गर्ने गरेका छन् । बिल मात्र लाने पुराना पुस्तक पढाउने शिक्षकहरू कारबाहीको दायरामा नआउने भएकाले पनि यस कार्य मौलाउँदो छ ।हरेक वर्ष नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउने सरकारी योजना भए पनि शैक्षिक सत्र सुरु भएको केही महिनासम्म नयाँ पुस्तक विद्यार्थीको हातमापुग्दैन । केही विषयको किताब परीक्षा आइसक्दा पनि विद्यार्थीले पाउँदैनन् ।

जनक शिक्षाले समयमा नछाप्ने, व्यवसायीले बुझेर पनि गोदाममा थन्क्याउने, समयमा ढुवानी नहुने अनि समयमा विद्यालयले रकम नदिने समस्याले गर्दा नयाँ किताब झोलामा राखेर विद्यालय जाने बालबालिकाको रहर पूरा हुन सकेको छैन । मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले प्रकाशनको समस्या बेलैमा सुधार गरेर हरेक बालबलिकालाई भर्नासँगै नयाँ पुस्तक उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले नगरपालिकामा पुस्तकका लागि निकासा भएको रकम तत्कालै सम्बन्धित विद्यालयको खातामा हालेको जानकारी दिए ।

नयाँ पाठ्यक्रमको छपाइ, ढुवानी र वितरणका लागि सरकारले अनुगमन प्रभावकारी बनाउन नसक्दा पहिलेजस्तै यो वर्ष पनि किताबको पैसा सदुपयोग हुनेमा शंका उब्जेको छ । पुरानै किताब घोकाएर नयाँको पैसो गोजीमा हाल्ने र नयाँ पुस्तक मगाएर पनि व्यवसायीलाई पैसा नदिई अपचलन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा व्यवसायीले जोड दिएका छन् ।

प्रकाशित : वैशाख १, २०७६ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पैदलै ७७ जिल्ला

कान्तिपुर संवाददाता

काभ्रे — भर्खर १९ पुगेका एक युवाले १४ महिनाबीचमा ७७ जिल्लाको पैदल यात्रा गरेका छन् । नमोबुद्ध नगरपालिका ५ का शरद कोइरालाले ०७४ भदौबाट थालेको यात्रा ०७५ कात्तिकमा धुलिखेल आएर पूरा गरेका थिए । उनी वैशाख महिनाभित्रै विश्व यात्रामा निस्कने तयारीमा छन् । 

‘डिस्कभरी च्यानलमा म्यान भर्सेज वाइल्ड हेरिरहन्थेँ, पुष्कर शाहको किताब पनि पढेँ, यिनै कुराले मलाई प्रेरणा दियो,’ कोइरालाले भने, ‘एसएलसीमा राम्रै रिजल्ट आएको थियो, १२ कक्षा पढदै गर्दा नेपाल यात्रामा निस्किएँ ।’

परिवारको अनुमतिबिना यात्रामा निस्किएका कोइरालाले घर छोडदा खल्तीमा ७ सय रुपैयाँ मात्र थियो । रोइकराइ गरेपछि दिदीले झोला किनिदिइन् । हिँडेको पहिलो रात पाँचखालस्थित पाटीमा सुत्नुपर्‍यो । ‘घरको अनुमतिबिना हिँडेको थिएँ, पहिलो रातमै पाटीमा सुत्नुपर्‍यो,’ कोइरालाले भने, ‘पुलिस देखेर डर लाग्थ्यो तर उद्देश्य सही भएको कारण निरन्तरता दिएँ ।’

कसैले पुलिस र स्थानीय निकायसँग समन्वय गर्न भनेपछि उनी ताप्लेजुङ पुग्दा जिल्ला प्रहरीमा बास मागे । प्रहरीले गरेको स्वागत, सम्मान र खानपानको व्यवस्थाले उनको मनोबल उचो भयो । त्यसपछिका दिनमा भने उनले प्रायः प्रहरीकोमा बास माग्न थाले । सोलुखुम्बु पुग्दा गोजीमा भएको ७ सय पनि सकियो । सेतेबाट लुक्ला पुग्न २ घण्टा बाँकी थियो ।

भोक लागेर झोला हेर्दा केही पनि रहेनछ । खोज्दै जाँदा चाउचाउको मसला भेटे । त्यो भेटा उनलाई स्वर्ग नै पाएजस्तो भयो । त्यही खाएर अघि बढेको उनले सुनाए । ‘त्यति बेला बाबुआमा सम्झेँ, परिवारको माया याद आयो,’ उनले भने । सुदूरपश्चिमका जिल्ला पुग्दा भने उनलाई नयाँ अनुभव भयो । त्यहाँको सुन्दरताकै कारण ‘सुन्दर सुदूरपश्चिम’ भनिएको होला भन्ने लाग्यो ।

प्रकाशित : वैशाख १, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT