कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृगलाई भुस्याहा कुकुरबाट जोखिम

हेटौडा — हेटौंडा उपमहानगरपालिका–१० स्थित वनविज्ञान अध्ययन संस्थानको जंगलमा रहेका चित्तल र मृगहरूको संरक्षण गर्न सरोकारवाला निकायहरूले भुस्याहा कुकुरहरूको व्यवस्थापन गर्न लागेका छन् । 

हेटौंडा बजारको मध्यभागको जंगलमा लामो समयदेखि वासस्थान बनाउँदै आएका चित्तल र मृगहरूलाई भुस्याहा कुकुरले मार्न थालेपछि डिभिजन वन कार्यालय, वनविज्ञान अध्ययन संस्थान, उपमहानगरपालिकालगायतका निकायहरूले भुस्याहा कुकुरहरूको व्यवस्थापन गर्न लागेको हो ।


भुस्याहा कुकुरको आक्रमणवाट यो वर्षको ९ महिनामा २ वटा रतुवा मृगसहित २२ वटा चित्तल मरिसकेका छन् । हेटौंडा उपमहानगरपालिका र भेटनरी कार्यालयबीच समन्वय गरेर भुस्याहा कुकुरहरूको व्यवस्थापन गर्न तत्काल योजना बनाएर कार्यान्वयनमा ल्याइने तयारी छ ।


राजमार्ग फराकिलो पार्न वनविज्ञान अध्ययन संस्थानमा लगाएको पर्खाल भत्काएकाले यो समस्या देखिएको हो । मृग र चितुवाहरू आहारा र पानीको खोजीमा बाहिर निस्कँदा भुस्याहा कुकुरहरूले आक्रमण गरेर मार्ने गरेकाले सम्बन्धित निकायले उक्त क्षेत्रका तारबार लगाउने सहमति भएको छ ।


सम्बद्ध कार्यालयहरूका प्रतिनिधि सम्बद्ध बैठकले वन विज्ञान अध्ययन संस्थानको जंगलभित्र नै मृग र चित्तलका लागि आहारा र पानीको व्यवस्था गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राधिका शर्माले बताइन् । आहाराको खोजीमा संस्थानभित्र रहेका मृग र चित्तल बाहिर निस्कँदा सवारी साधनले ठक्कर दिएर मार्ने पनि गरेको छ ।


उक्त क्षेत्रमा चालकहरूलाई सवारी साधन होसियारीपूर्वक चलाउन प्रहरीमार्फत चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । विशेषगरी भुस्याहा कुकुरको आक्रमणबाट संस्थानको जंगलभित्र भएका मृग र चितल मासिने क्रममा छन् । हेटौंडा उपमहानगरपालिका—१० स्थित वनविज्ञान अध्ययन संस्थानको जंगलमा चितल र मृगहरू अत्यन्त थोरै मात्र छन् ।


हेटौंडा उपमहानगरपालिका—११ थानभर्‍याङस्थित आइतबार बिहान मृतावस्थामा एक चित्तल फेला परेको थियो । वनविज्ञान अध्ययन संस्थानको जंगलबाट बाहिर निस्केको उक्त चितललाई चारवटा कुकुरले लखेटेर मारेको डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछानेले बताए । ‘अध्ययन संस्थानको जंगलबाट यताउता चर्न निस्केको अवस्थामा स्थानीय भुस्याहा कुकुरहरूले लखेटेर चितल मारेको हो,’ उनले ।


कुकुरले लखेटेर साउन महिनादेखि चैतको २९ गतेसम्म २० चितल र २ वटा रतुवा मृग मारिसकेको छ । मारिएका चितलमध्ये ७ वटा भाले र १३ वटा पोथी छन् । डिभिजन वन कार्यालयका अनुसार साउनमा ३ वटा, भदौमा ७, मंसिरमा २ र पुसमा २ वटा, माघमा ४, फागुनमा ३ र चैतमा १ गरी २२ वटा चितल र मृग कुकुरले लखेटेर मारिसकेको छ । ‘५ वटा घाइते अवस्थामा फेला परेका थिए भने १७ वटा मृतावस्थामा फेला परेका थिए,’ सहायक वन अधिकृत लामिछानेले भने, घाइतेहरू पनि उपचार गर्ने क्रममा नै मरे ।’


१ सय ५८ बिघामा फैलिएको वन विज्ञान अध्ययन संस्थानमा विगतमा सयभन्दा बढी चित्तल र २० भन्दा बढी मृगको बासस्थान रहेको थियो । ‘अहिले १२,१४ वटाको एउटा झुन्डबाहेक चित्तल छैनन्, ४,५ वटा मात्र मृग छन्,’ संस्थानका क्याम्पस प्रमुख कृष्णप्रसाद दाहालले भने, ‘संस्थानका कम्पाउन्डहरू भत्काइएकाले चित्तलहरू मासिंदै गएका हुन् ।’

प्रकाशित : वैशाख २, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?